पेलेरै केबलकार बनाउन खोज्दा जटिल बन्यो पाथीभरा मुक्कुमलुङ मुद्दा, गृहमन्त्री सहजिकरणमा

पेलेरै केबलकार बनाउन खोज्दा जटिल बन्यो पाथीभरा मुक्कुमलुङ मुद्दा, गृहमन्त्री सहजिकरणमा

काठमाडौँ : पाथीभरा मुक्कुमलुङ केबलकार निर्माणको विपक्षमा रहेका स्थानीय र संस्थाहरूसँग सहमतिको साटो पेलेर निर्माण अगाडि बढाउन गोली चलाउनेसम्मको चरणमा राज्य संयन्त्र पुगेपछि यो मुद्दा स्थानीयबाट केन्द्रमा आइपुगेको छ।

धार्मिक महत्वको सो क्षेत्रमा केबलकार निर्माण नगर्न प्रारम्भदेखि नै स्थानीय र केही धार्मिक संस्थाहरूले ध्यानाकर्षण गराउँदै अटेर गरेपछि विरोध प्रदर्शनमा उत्रिएका थिए।

तर स्थानीय तहदेखि स्थानीय प्रशासनसम्म विपक्षमा रहेकाहरूको माग सम्बोधन गरेर सहमतिको वातावरण बनाउनुको साटो पेलेरै अगाडि बढ्ने रणनीतिमा सक्रिय भएपछि समस्या सुल्झनुको साटो बल्झँदै गयो।

माघ १२ मा फुङलिङ नगरपालिका वडा नं १२ बलुडाँडामा सुरक्षा निकाय र नो केबलकार समूहबीच झडप हुँदा गोली चल्यो। पाँच जना आन्दोलनकारी र १३ जना प्रहरी घाइते भए।

विरोध प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा तीन जना गम्भीर घाइते भएपछि यो विवाद अब स्थानीय मुद्दा मात्र रहेन, केन्द्रसम्म आइपुग्यो।

मंगलबार गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा र सङ्खुवासभाका सांसदहरूलाई मन्त्रालयमा बोलाएरै केबलकार निर्माणमा देखिएको समस्या र स्थानीयको मागबारे छलफल गरे। छलफलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी समेत सहभागी थिए।

मंगलबार भएको छलफलमा झडपमा गोली लागेर घाइते भएकाहरूको उपचार सरकारले गर्ने र समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने विषयमा छलफल भएको छलफलमा सहभागी एक सांसदले जानकारी दिए। यसबारे गृहमन्त्रीले पर्यटनमन्त्री बद्री पाण्डेसँग बुधबार छलफल गर्ने तयारी समेत गरेका छन्।

केबलकार निर्माणको विवाद चर्किएपछि गृहमन्त्री रमेश लेखकले मंगलबार ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा र सङ्खुवासभा जिल्लाका सांसदहरूसँग छलफल गरे।उता स्थानीयहरू ताप्लेजुङ बन्द गराएर विरोध प्रदर्शनमा उत्रिएका छन्। स्थानीय तहका अधिकारीहरू प्रारम्भदेखि नै केबलकार निर्माणको पक्षमा रहँदा आन्दोलनरत पक्षले पत्याएको छैन। तर सहजीकरणको प्रयास भने जारी राखेको देखिन्छ।

फुङलिङ नगरपालिकाले मंगलबार नै ताप्लेजुङ बन्द र हडतालका कार्यक्रम फिर्ता लिएर पाथीभरा मुक्कुमलुङ केबलकार निर्माणमा सहजीकरण गर्न आग्रह गरे।

नगरप्रमुख अमिर मादेनले विज्ञप्तिमा मंगलबार बसेको कार्यपालिकाको बैठकले बन्द र हडतालले समस्याको समाधान नगर्ने भएकोले अविलम्ब बन्दका कार्यक्रम फिर्ता गरी वार्ता र संवादमा आउन आव्हान गरेका छन्। उनले विज्ञप्तिमा केबलकार निर्माण कार्य अगाडी बढाउन अनुरोध समेत गरेका छन्।

पेलेरै केबलकार बनाउन खोज्दा जटिल बनेको मुद्दा

२०७५ जेठ ८ मा फुङलिङ कार्यपालिकाको निर्णयबाट केबलकार बनाउने योजना पारित गरेसँगै विरोध सुरु भएको थियो। स्थानीय याक्थुङ लिम्बुहरूले पाथीभरा क्षेत्रलाई मुक्कुमलुङका रूपमा सम्बोधन गर्छन्। उनीहरूले सो क्षेत्रलाई पवित्र भूमि मान्दै आएका छन्।

केबलकार निर्माणको प्रारम्भिक चरणदेखि नै लिम्बूहरूको आफ्नो पवित्र धार्मिक स्थलमा अतिक्रमण भएको भन्दै विरोध गर्दै आएका छन्।

२०७७ देखि नै विरोध सुरु भएको थियो। डिपिआर निर्माणको चरणदेखि नै स्थानीयले विरोध गरे पनि सरकारी पक्षले सुनुवाइ गरेन। अनि स्थानीयहरूले मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन्।

केवलकारको शिलान्यासकोक्रममा भएको झडप।२०७७ फागुन ३ मा यसबारे सर्वोच्च अदालतमा मुद्दा समेत दायर भइसकेको छ। २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगेर विरोधकैबीच केबलकारको निर्माणको शिलान्यास गराउने प्रयास विरोधमा उत्रिएको समुदायका कारण सफल हुन सकेन।

पाथीभरामा केबलकार बनाउने परियोजना यति समूहका सञ्चालक आङछिरिङ शेर्पाले अगाडि बढाएका थिए। उनले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई हेलिकप्टरमा राखेर पाथीभरा लैजाँदा हेलिकप्टर दुर्घटनामा भयो र शेर्पासँगै अधिकारीको पनि निधन भयो।

ढकालको प्रवेश, सशस्त्रको दुरुपयोग

यो परियोजनामा अर्का व्यवसायी चन्द्र ढकालको प्रवेश भएको देखिन्छ। सो क्षेत्रमा राज्यले सशस्त्र प्रहरीको क्याम्प नै राखेको छ।

विपक्षमा रहेकाहरूसँग संवादको साटो स्थानीय प्रशासन र केबलकार निर्माण कम्पनी पेलेरै जाने नीति लिँदा समस्या थप बल्झँदै गयो। २०८१ कात्तिक २३ मा पेलेरै शिलान्यास गर्नेक्रममा झडपमा ६ जना घाइते भए। माघ १३ मा केबलकार निर्माणको विपक्षमा रहेकाहरू विरोध प्रदर्शनमा उत्रँदा सुरक्षाकर्मीले गोली चलाउँदा यो समस्या थप जटिल बन्दै गयो।

समस्या समाधान गर्न केन्द्रमा गृहमन्त्री लेखक आफैँ सक्रिय भएका छन्। उता आन्दोलनरत पक्षधरहरू भने बन्द र हडतालसँगै केबलकार निर्माणमा संलग्न व्यापारिक समूह केन्द्रित बहिष्कार अभियानमा समेत सक्रिय देखिएका छन्।

माघ १५, २०८१ मंगलबार २०:११:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।