आशिकाविरुद्ध भक्तपुरमा आपराधिक उपद्रवको मुद्दा, शुक्रवारसम्म हिरासतमा
भक्तपुर : भक्तपुर जिल्ला अदालतमा आशिका तामाङविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दायर भएको छ। मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा उनी विरुद्ध आपराधिक उपद्रव गरेको कसुरमा सजायको मागदाबी गर्दै अभियोग पत्र दर्ता गरेको हो।
उनीमाथि सूर्यविनायक नगरपालिकाले साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग २० रुपैयाँ कर सङ्कलन गरिरहेको बेलामा आशिका गएर कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ। उनले सो भिडियो आफ्नो सामाजिक सञ्जालबाट समेत सार्वजनिक गरेकी थिइन्।
सूर्यविनायक नगरपालिकाले घटनाको अनुसन्धानका लागि प्रहरीमा पत्र पठाएपछि प्रहरी वृत्त जगातीले आशिकाविरुद्ध अनुसन्धान गरेको थियो।
उनी माघ २ मा काठमाडौँमा अभद्र व्यवहारको कसुरमा पक्राउ परेर ११ दिन प्रहरी हिरासतमा बसेर सोमबार १० हजार धरौटीमा रिहा भएकी थिइन्। उनी काठमाडौँमा रिहा भए लगत्तै प्रहरीले नियन्त्रणमा लिएर भक्तपुर पठाएको थियो। सोमबार उनलाई हत्कडी लगाएर हिँडाएको तस्बिर सार्वजनिक भएपछि सरकारी व्यवहारको आलोचना भएको थियो।
सामाजिक अभियन्ता भन्दै आशिका उदन्द्द व्यवहार गर्दै आएकी थिइन्। सरकारी तथा निजी कार्यालयमा प्रवेश गर्दै अनुगमन गरेको भन्दै उनी अभद्र व्यवहार गर्दै ती भिडियोहरु सामाजिक सञ्जालमा राख्ने गरेकी थिइन्। उनको कामको धेरैले आलोचना गर्दै आएका छन्। तर सामान्य अपराधमा पक्राउ गरेर जघन्य अपराधमा संलग्न आरोपीझैँ व्यवहार गरेको भन्दै सरकारी निकायको व्यवहारको समेत आलोचना भइरहेको छ।
उनी विरुद्ध मंगलबार बयान र थुनछेक सुरु नभएकाले अब शुक्रवार मात्र बयान र थुनछेक सुरु हुनेछ।
माघ १५, २०८१ मंगलबार १८:४५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।