‘एक्टर : टेक वन’ को टिम अदालतमा नजाँदा रोकियो रिलिज, पहिला आफैँले रोके, अहिले अदालतले रोकिदियो

‘एक्टर : टेक वन’ को टिम अदालतमा नजाँदा रोकियो रिलिज, पहिला आफैँले रोके, अहिले अदालतले रोकिदियो

काठमाडौँ : कात्तिक १५ को प्रदर्शन मिति तोकेर पनि निर्माण टिमले माघ १६ सारेको फिल्म एक्टर : टेक वानको रिजिल अदालतले रोकिदियो

फिल्म एक्टरको निर्माण टिमले एकै खालको नाम दर्ता गराउँदा आफूलाई प्रभाव परेको भन्दै दायर गरेको निवेदनमा मङ्गलवार सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतले तत्काल फिल्म रिजिल नगर्न अल्पकालीन आदेश जारी गर्यो।

अदालतले छलफलका लागि दुवै पक्षलाई माघ २२ मा अदालतमा बोलाएकाले माघ १६ मा फिल्म रिलिज गर्न निर्माण टिमले गरेको दौडधुप खेर गयो।

जिल्ला अदालत काठमाडौँका प्रवक्ता दीपक कुमार श्रेष्ठले उकेरासँगको कुराकानीमा तत्कालका लागि फिल्म प्रदर्शनमा रोक लगाइएको बताए। उनले यहीँ माघ २२ गते दुवै पक्षलाई छलफलमा बोलाइएको जानकारी दिए।

मङ्गलवार भएको सुनुवाइपछि न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले एक्टर : टेक वानको कम्पनीले निवेदन र छलफलको मिति पाएको नदेखिएको भन्दै चलचित्र विकास बोर्डबाट कम्पनीको ठेगाना लिएर निवेदनको जानकारी दिई माघ २२ मा दुवै पक्षलाई छलफलमा बोलाउँदै फिल्म प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको हो।

गत माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट् थापाले शुक्रवार आफ्नो फिल्मको नाम र कथावस्तु चोरी गरेर ‘एक्टर : टेक वन’ निर्माण गरेको भन्दै फिल्मको प्रदर्शन रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौँमा रिट दायर गरेका थिए।

निर्माता थापाको लगानीमा बनेको फिल्म ‘एक्टर’ गत माघ ४ गतेबाट प्रदर्शनमा आएको थियो। फिल्म हलमा लागेको २ दिनमा नै उत्रिएको थियो। यस फिल्मलाई मदन घिमिरेले निर्देशन गरेका छन्।

यता भोली अर्थात् माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वान’को मङ्गलवार भक्तपुरमा भव्य प्रिमियर गरिएको  थियो। यो फिल्मको प्रचार र रिलिजका लागि अमेरिकाबाट अभिनेता राज वल्लभ कोइराला नेपाल आइसकेका छन्। फिल्मको थिम पोस्टर र ट्रेलर समेत विवादमा तानिएको थियो।

फिल्ममा राजबल्लभका अलावा प्रदीप खड्का,आना शर्मा,दिव्या रायमाझीको समेत अभिनय रहेको छ।

सम्बन्धित समाचार

माघ १५, २०८१ मंगलबार १८:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।