१८ महिना जेल बसेका लोकगायक प्रकाशको अनुभव : दोहोरी आज मात्र हैन, हिजो पनि छाडा नै थिए
चर्चित लोकदोहोरी गायक हुन् प्रकाश कटुवाल। रामेछापका उनी राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष समेत हुन्। दर्जनौँ चर्चित गीत गाएका उनी रोधी घरका सञ्चालक समेत हुन्। बिचमा उनी एक होटल व्यवसायीलाई आक्रमण गरेको अभियोगमा पक्राउ परेर १८ महिना जेलमा समेत परे। नेपाली गीत संगीत, रोधी र दोहोरी घरहरूको अवस्था, कलाकारहरूप्रति समाजले हेर्ने दृष्टिकोण साथै सरकारको व्यवहारबारे गरेको कुराकानी :
संगीत क्षेत्रमा लागेको व्यक्ती, व्यापारतिर नि लाग्नु भएछ। गीत-संगीतबाट जीवन धान्न सकिएन?
अँ। जीवन धान्नै कठिन भएपछि व्यापारतिर हात हालेको हुँ। काठमाडौँको ठमेलमा रोधीघर सञ्चालनमा ल्याएको छु। अहिले संगीत भन्दा पनि बढी बिजनेसतिर व्यस्त छु।
गीत-संगीत क्षेत्र फस्टाएकै देखिन्छ। व्यापारतिर लाग्नुको कारण ?
दसौँ हजारमा एक दुई सयलाई बाँच्न सजिलो होला तर सबैलाई संगीत व्यवसाय सोचेजस्तो छैन। हुन त म सङ्गीतबाटै यहाँसम्म आएको हुँ। सङ्गीतमा लागेको करिब २२ वर्ष भयो। तर सङ्गीतमै जीवन बिताउने मनस्थिति चाहिँ गुमिसकेको छ।
अहिले अडियो क्यासेटको जमानाबाट सिआरबिटी, पिआरबिटी हुँदाहुँदै युट्युबसम्म आइपुगेका छौँ। तर अहिले लगानी गरेर सङ्गीतमा फलदायी जीवन जिउन सक्ने र सङ्गीतबाट आफ्नो लगानी फिर्ता लिने कुनै मापदण्ड छैन।
सयौँ गीतमा एउटा गीतले रकम उठाउला, ती मध्ये ९९ सय गीत फ्लप हुने अवस्था छ। अहिले सङ्गीतमा गर्ने लगानी बालुवामा पानी हालेजस्तो भएपछि धेरैले यो क्षेत्र छाडेका छन्। त्यसैले मैँले पनि सङ्गीतमा लगानी गर्न छोडेँ।
सङ्गीतमा आउनेहरू सबैले लगानी गरेर मात्र आउँछन् र!
सुरु सुरुमा त लगानी नै गरेर आएको देखिन्छ। कसैले राम्रो गीत गाउँछ भने पनि सित्तैमा गीत रेकर्ड हुन्न। एउटा अडियो रेकर्ड गर्न मात्र पनि ५० हजार रुपैयाँ खर्च हुन्छ। भिडियो बनाउनुपर्यो भने तीनदेखि सात लाखसम्म खर्च हुन्छ। त्यही भएर सुरु सुरुमा आफैँले लगानी गर्ने गरेको देख्छु।
तपाईँ पनि आफैँ लगानी गरेर आएको हो?
गाउने रस सानैदेखि थियो। २२ वर्ष अगाडि काठमाडौँ प्रवेश गर्दा कलाकारहरूसँग सङ्गत हुँदै गयो। भेटघाटले गीत गाउने स्टुडियो चिन्दै गएँ। सङ्गीतबाटै केही गर्न सकिन्छ कि भन्ने लागेपछि २०६० सालमा रोधी साँझबाट गीत गाउन सुरु गरेँ।
त्यो बेलामा नयाँ कलाकारको स्वर कम्पनीले लिँदैनथ्यो। राजु परियार भर्खर बजारमा आउनु भएको थियो। उहाँको आवाज हालेर गीत रेकर्ड गराइयो। पहिलो गीत ‘मिलनको पल पल’ मा म र विनोद ढकालले लगानी गरेर रेकर्ड गरियो। त्यसको ७० हजार अडियो बेचियो।
त्यसपछि २०६३ देखि म निरन्तर गीत गाउँदै आएँ। ‘चोरी खान पल्केको ढाँडे बिरालो’, ‘फूल फुल्यो केशरी’, ‘छेकेन जामाले’, ‘यो रक्सीको गन्ध’, ‘रातो सारी सप्पकै’ गीत असाध्यै चले पनि।
अहिले रोधीघर चलाउन थाल्नुभएछ। कस्ता कलाकारहरूले अवसर पाउँछन् रोधीमा?
८० प्रतिशत दोहोरी गाउने कलाकारहरूले अवसर पाउँछन्। अन्य विधाका त २० प्रतिशत पनि छैनन् होला। रोधी साँझ भने पनि पप, आधुनिक अनि हिन्दी गीत पनि बज्छन्।
रोधी साँझ भनेपछि यसको छवि राम्रो छैन। किन होला ?
पहिला रोधी साँझलाई नराम्रो नै भनिथ्यो। तर अहिले दोहोरी धेरैले बुझेका छन्। दोहोरी भित्रै गएर देखेका छन्। त्यस्ता मान्छेहरूले दोहोरी साँझलाई सकारात्मक रूपमै बुझेका छन्। रोधी साँझमा त्यस्तो अनावश्यक दुःख दिने, छोरी चेलीलाई हातपात गर्ने, छुने, समाउने चाहिँ हुँदैन।
रोधी साँझ चलाउन कतिको सहज छ ?
सिस्टममा ल्याउन सकेनौँ भने, म्यानेजमेन्ट राम्रो गर्न सकिएन भने व्यवसाय पनि चल्दैन। रोधी व्यवसाय कमजोर भएको, घाटा खाएको, दुःख पाएको अहिलेसम्म छैन। व्यवसायमा लगानी अनुसारको प्रतिफल पाएको छु।
गीत-संगीत क्षेत्रका चुनौती के हुन् अब?
सङ्गीतमा कसरी चल्ने भन्ने चुनौती हुन्छ। चलिसकेपछि कसरी टिक्ने भन्ने समस्या हुन्छ। सङ्गीतमा यात्रा गर्दैगर्दा १८ महिना जेल बसेको छु। पोखरा कार्यक्रममा जाँदा बिचमा एउटा घटना घटेर १८ महिना जेल बसेको छु। त्यो मेरो जीवनको एकदमै अविस्मरणीय क्षण पनि हो। तर पछि आफ्नो संगीत व्यवसायमा फर्किन सकेँ।
नेपालमा चलेका कलाकारहरू बिदेसिएको पाइन्छ। कारण के होला?
बिस्तारै आवश्यक्ताहरु बढ्दै जान्छन् अनि पूरा गर्न नसकेपछि विदेश जाने गर्छन्। नेपालमा भनेजस्तो रोजगार छैन। जुनसुकै जागिर खाए पनि बढीमा २५ देखि ३० हजारको तलब छ। त्यसले आफ्नो जिन्दगी राम्रोसँग चल्न सक्छ होला तर परिवार पाल्न सकिँदैन। आफ्नो परिवार खुसी राख्न पनि देश छाड्नुपर्ने बाध्यता छ।
दोहोरीमा अहिले छाडा प्रवृत्ति बढ्यो भन्ने गुनासो पनि छ नि ?
छाडा प्रवृत्ति ५० वर्ष अगाडि पनि थियो । पहिला अलि फरक ढंगको थियो, अहिले अलि फरक ढंगको छ। समय त्यसै नै परिवर्तन भइहाल्छ।
हिजो बाबाले लगाउने दौरा सुरुवालको जमाना गइसक्यो। महँगा महँगा कोट पाइन्ट र नयाँ फेसनका कपडाहरू आइसकेका छन्। समयसँगै गीत सङ्गीतको मापदण्ड र बजार पनि परिवर्तन भएको छ।
हिजो डाँडामा बसेर चार जनाले रुमाल हल्लाए पनि भिडियो बन्थ्यो, अहिले चार सय जना राखेर नाच्नुपर्ने अवस्था छ। त्यो के का लागि भन्दा बजारमा प्रतिस्पर्धा गर्नुपर्यो, चल्नपर्यो।
मेला महोत्सवमा कतिको व्यस्त हुनुहुन्छ ?
पहिला-पहिला धेरै नै हिँडेको हुँ। ५०-६० वटा जिल्लामा पुगेर महोत्सवमा खुबै नचाइयो। तर मलाई विदेशका कार्यक्रमहरू राम्रो लाग्छ। विदेशमा गएर कार्यक्रम पनि गरेको छु। अमेरिकाबाहेक अन्य देशहरूमा सङ्गीतका कार्यक्रम हुने धेरै जसो ठाउँमा पुगेको छु।
नेपालको महोत्सवहरू अहिले ठेक्का जस्तो हुने भएको हुनाले मन पर्दैन। अहिलेका महोत्सवहरू सबै ठेकेदारहरूले गर्ने, उसलाई मन परेको कलाकार ल्याउने, खाए पनि नखाए पनि घिच भनेकोजस्तो गर्ने गरेको पाइन्छ। विकृतिजन्य ठाउँमा गएर गीत गाइहालौँ, नाची हालौँ भनेर आत्मैबाट जोस छैन। तर विदेशमा त्यस्तो छैन, सम्मान छ। सत्कार गर्नुहुन्छ।
आकाङ्क्षा धामी/ नेपाल न्यूज बैंक
माघ १५, २०८१ मंगलबार १७:३१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।