श्रीमानको किरिया गर्न पनि परिवारसँग लडाइँ लडेकी तुलसी म्याडम !

श्रीमानको किरिया गर्न पनि परिवारसँग लडाइँ लडेकी तुलसी म्याडम !

सुर्खेत : वीरेन्द्रनगर-१ की २८ वर्षीया तुलसी गिरीले २०७९ सालको नयाँ वर्ष खुसीले नै मनाइन् श्रीमान् र छोराको साथमा। वर्षको पहिलो दिन अरुभन्दा सुखद् नै भए पनि दोस्रो दिन भने उनीमाथि बज्रपात पर्यो। श्रीमान् दिनेश पुरीको निधन भयो, कारण थियो- मुखको क्यान्सर।

श्रीमानको निधनपछि विधवा भएकी उनलाई काजकिरिया गर्न समेत रोक लगाउन खोजियो। परिवारले उनलाई किरिया गर्नै दिन खोजेनन्। आफ्नै श्रीमान्को किरिया गर्न पनि परिवारसँग ठूलै लडाइँ लड्नुपर्यो उनले। अन्तत: परिवारले उनलाई किरिया गर्न दियो।

श्रीमान्को किरिया सकिएको केही दिनमै परिवारले श्रीमान्को मृत्यु दर्ता बनाएर उनको नाममा भएको सम्पत्ति हत्याउने प्रयास गरे। आफ्नो सन्तानले पाउनुपर्ने हकका लागि समाज र माइतीसँग हारगुहार गरिन् तुलसीले। समाज त साथ दिएन, माइती समेत मौन बसे।

छोराका हकका लागि भन्दै उनले ०७९ साउन १५ गते जिल्ला अदालत सुर्खेतमा जेठाजु र ससुराविरुद्ध अंश र खाना खर्चको मुद्दा दायर गरिन्। साढे दुई वर्षसम्म चलेको मुद्दामा ०८१ पुस १८ गते अदालतले उनकै पक्षमा फैसला गरिदियो।

‘१९ वर्षको उमेरमा विवाह गरेँ। छोरा साढे चार वर्षको हुँदा श्रीमान्लाई गुमाएँ। घरपरिवारको अपहेलना सहन नसकेपछि माइतीको सरणमा पुगेँ,’ तुलसीले भनिन्, ‘तर, माइतीले जे गर्छौ गर भनेपछि मेरो लागि न त समाउने हाँगो भयो, न त टेक्ने लौरो। एक्लै भए पनि छोराको लागि कानूनी लडाइँ लडेँ।’

परिवारविरुद्ध अदालतमा मुद्दा हालेपछि घरमा प्रवेशै पाइनन्। माइतीकै शरण्मा पुगिन्। मानसिक रुपमा विक्षिप्त बनेकी उनले मनोसामाजिक परामर्श लिइन्, त्यसैले उनलाई थप बलियो र आत्मविश्वासी बनायो।

अहिले पति तुलसी माइतीमै बस्छिन्। विगत दुई वर्षदेखि सहकर्मी समाज नामक गैरसरकारी संस्थामा सामाजिक परिचालकको रूपमा उनीजस्तै हिंसा पीडित महिलाको अधिकारका क्षेत्रमा काम गरिरहेकी छन्।

‘जब जिन्दगीमा निरासाले मात्रै काम गर्दैन रहेछ भन्ने बुझेँ, त्यसपछि मनलाई बलियो बनाएर अघि बढेँ। त्यसैको परिणाम हो अहिले समाजको नेतृत्व गरेर हिँडिरहेकी छु,’ विगतलाई सम्झँदै तुलसीले भनिन्, ‘अहिले गाउँ-गाउँ गएर नागरिकका समस्या बुझ्ने त्यसको समस्या समाधान गर्ने जागिर पाएकी छु। जसका कारण मलाई पहिले विधवा भनेर हेप्ने समाज अहिले तुलसी म्याडम भनेर सम्मान गर्छ।’

उनी अहिले नागरिकलाई परेका समस्या समाधानका लागि वडा र नगरपालिकासँग समन्वय गरेर समाधान गर्छिन्। उनकै अगुवाइमा वीरेन्द्रनगर-१ मा सरसफाइ, नशामुक्त अभियान, खानेपानी नि:शुल्क औषधि जस्ता सामाजिक कार्यक्रमहरू सञ्चालन भएका छन्।

कक्षा १२ पढ्दै गरेकी गिरीको पढाइ विवाहपछि छुटेको थियो। तर, सामाजिक क्षेत्रमा काम गर्दै गर्दा आफ्नो पढाइलाई समेत निरन्तरता दिएकी छन्। अहिले उनी मध्यपश्चिम विश्वविद्यालयमा समाजशास्त्र संकायको स्नातक तहको पाँचौं सेमेष्टरमा अध्ययनरत छिन्।

सँगै छोरालाई पनि राम्रो निजी विद्यालयमा पढाइरहेकी छिन्। उनका छोरा कक्षा १ मा पढ्दैछन्। उनको लक्ष्य अब समाजसास्त्रमा मास्टर्स डिग्री गरेर समाजकै हितका लागि काम रहेको छ।

माघ १५, २०८१ मंगलबार १३:३०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।