रिलायन्स फाइनान्सले दिगो ग्रुपको विद्युतीय गाडी फाइनान्स गर्ने
काठमाडौं : दिगो ग्रुप र रिलायन्स फाइनान्स लिमिटेड नेपालमा विद्युतिय सवारीसाधन (ईभी) खरिदकर्ताहरूलाई वित्तीय सेवा प्रदान गर्न साझेदारी गरेका छन्।
माघ १० गते आधिकारिक रूपमा सुरु भएको यो विद्युतीय व्यावसायिक सवारीसाधनलाई अझ सुलभ बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको कम्पनीले जनाएको छ।
सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सले सवारीसाधनको लागतको ७० प्रतिशतसम्म ऋण प्रदान गर्नेछ। यी ऋणहरू आकर्षक ब्याजदर, लचिलो भुक्तानी सर्तहरू र आवेदन प्रक्रियाभरि व्यक्तिगत परामर्शको साथ आउने जनाइएकाे छ।
यस साझेदारीअन्तर्गत ११-सीटर, १४-सीटर, १६-सीटर, र १९-सीटर विद्युतिय सवारी साधनहरूसहित दिगोका सबै व्यावसायिक गाडीहरूको लागि वित्तीय विकल्पहरू उपलब्ध हुनेछन्।
दिगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत, सौरभ श्रेष्ठ र रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछि सम्झौताले औपचारिक रूप लिएको छ।
यो साझेदारीले दिगो सवारी साधन अपनाउन सरल बनाउन साथै दिगोका ग्राहकहरु तथा व्यवसायीहरूलाई गाडी खरिद गर्न थप सहज बनाउने छ।
कम्पनीका अनुसार रिलायन्स फाइनान्सको उपस्थितिसँगै ग्राहकहरूले अब नेपालभरका आफ्ना कुनै पनि शाखामा दिगोको गाडीहरू फाइनान्सको लागि आवेदन दिन सक्छन्।
माघ १५, २०८१ मंगलबार ०८:५०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।