स्नातकोत्तर तहका आवासीय चिकित्सकको निर्वाह भत्ता ४८ हजार पुगेन

स्नातकोत्तर तहका आवासीय चिकित्सकको निर्वाह भत्ता ४८ हजार पुगेन

काठमाडौँ : निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तीमा ४८ हजार निर्वाह भत्ता दिने अडानबाट शिक्षा र स्वास्थ्यमन्त्री ब्याक भएका छन्। यस अगाडि दुवैले सार्वजनिक कार्यक्रमहरूमै स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तीमा ४८ हजार निर्वाह भत्ता दिनुपर्ने पक्षमा अभिव्यक्ति दिँदै आएका छन्।

सोमबार शिक्षामन्त्री विद्या भट्टराई र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सार्वजनिक गरेको निर्देशन पत्रमा निजी मेडिकल कलेजहरूले पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार का दरले निर्वाह भत्ता दिने उल्लेख छ।

दोस्रो निर्णयमा निजी मेडिकल कलेजहरूले शैक्षिक सत्र २०८१/०८२ देखि नै स्नातकोत्तर तहमा अध्ययन गर्न आवासीय चिकित्सकहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छात्रवृत्ति निर्देशिका अनुसार निर्वाह भत्ता प्रदान गर्ने र निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययन पश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन आवश्यक कानुनी प्रबन्ध गर्ने उल्लेख छ।

तेस्रो बुँदामा स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवम् प्रचलित श्रमसम्बन्धी कानुन बमोजिम मर्यादित सेवा सुविधा उपलब्ध गराउने उल्लेख छ।

सार्वजनिक भएको निर्णय

सम्वत् २०८१ साल मंसिर ९ गते आइतबारका दिन सम्माननीय प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका श्रद्धेय अध्यक्ष श्री के पी शर्मा ओलीज्यूको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौ बैठकमा निर्णय भए बमोजिम चिकित्सा शिक्षा स्नातकोत्तर तह शैक्षिक वर्ष २०८१/०८२ (Batch 2025) तर्फ निजी लगानीका मेडिकल कलेजले प्रदान गर्ने निर्वाह भत्ता सम्बन्धी समस्या समाधान गर्न सम्माननीय प्रधानमन्त्रीज्यू सँग परामर्श गरी सह-अध्यक्ष द्वय माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री र माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूलाई जिम्मेवारी प्रदान गरे बमोजिम माननीय मन्त्रीज्यूहरू समेतको सहभागीतामा २०८१/०९/०२ गतेको बैठकको निर्णयानुसार गठित कार्यदलको राय सुझाव र विभिन्न सरोकारवालासँग पटक पटक भएको छलफलका आधारमा देहायबमोजिम कार्यान्वयन गर्न गराउन सम्बद्ध निकायलाई लेखी पठाउने निर्णय गरियो ।

१. सःशुल्क तर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु.२५०००/-, दोस्रो वर्ष रु. ३००००/- र तेस्रो वर्ष रु. ३५०००/- का दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने ।

२. निजी मेडिकल कलेजहरूले शैक्षिक सत्र २०८१/०८२ देखि नै स्नातकोत्तर तहमा अध्ययन गर्न आवसीय चिकित्सकहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छात्रवृत्ति निर्देशिका अनुसार निर्वाह भत्ता प्रदान गर्ने र निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययन पश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले आवश्यक कानुनी प्रवन्ध गर्ने ।

३. स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवम् प्रचलित श्रमसम्बन्धी कानुन बमोजिम मर्यादित सेवा सुविधा उपलब्ध गराउने ।

माननीय विद्या भट्टराई

मन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

माननीय प्रदीप पौडेल मन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मितिः २०८१/१०/१४ गते 

माघ १४, २०८१ सोमबार २२:३०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।