बेटिङ एप्लिकेसनबाट अनलाइन जुवा खेलाएको आरोपमा दुई जना पक्राउ
काठमाडौँ : बेटिङ एप्लिकेसन ‘मान्ट्रा १०८’ मार्फत दुई करोड बराबरको सट्टेबाजी गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले काठमाडौँ बाफलका राजप्रकाश श्रेष्ठ र सोह्रखुट्टे बस्ने हरिचन्द्र भुजेललाई पक्राउ गरेको हो।
यी दुबैमाथि प्रहरीले बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमअन्तर्गत ‘मान्ट्रा १०८’ नामक वेबसाइटमार्फत जुवा (सट्टेबाजी) गर्ने/गराउने काम गरेको आरोप लगाएको छ। उनीहरुले अनलाइन जुवा खेलाउन रकम सङ्कलन गर्ने, क्रिप्टो मुद्रा व्यापार गर्नेलगायतका कार्य गरेको प्रहरीको दाबी छ।
प्रहरीको दाबी अनुसार उनीहरूले बैक खाता तथा वेनेन्स आइडी प्रयोग गरेर हालसम्म दुई करोड ४१ हजार बराबरको कारोबार गरेको देखिन्छ।
विश्वका केही देशमा खेलमा आधारित अनलाइन जुवा खुल्ला भए पनि नेपालको कानुन अनुसार यो गैर कानुनी हो। अनलाइन एप्लिकेसनमार्त यस्तो जुवा खेल्ने र खेलाउनेलाई प्रहरीले पक्राउ गर्ने गरेको छ।
नेपालमा अनलाइन जुवाको प्रवर्धन गर्न छद्म नाममा खेल प्रतियोगिताहरूमा भइरहेको प्रचारप्रति भने प्रहरी निष्क्रिय देखिन्छ।
नेपाल प्रिमियर लिग र त्यसपछि भएका क्रिकेट प्रतियोगिताहरूमा कानुन विपरीत आयोजकहरूले वुल्भत्रिपलसेभेन, बाजी, डाफान्युज लगायतको नाममा जुवा खेलाउने कम्पनीको प्रचार गर्दा समेत सरोकारवाला सरकारी निकाय प्रहरी, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र सञ्चारमन्त्रालय मौन देखिन्छ।
माघ १४, २०८१ सोमबार २२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।