आशिकामाथि राज्यले गरेको अभद्र व्यवहार कसले हेर्ने?

आशिकामाथि राज्यले गरेको अभद्र व्यवहार कसले हेर्ने?

अधिकतम १० हजार जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुनसक्ने अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी आशिका तामाङ १३ दिन प्रहरी हिरासतमा बसेर सोमबार रिहा भइन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरिएकी उनीसँग प्रशासनले १० हजार धरौटी माग्यो। उनले धरौटी बुझाएर रिहा भइन्।

तर, प्रहरी हिरासतको निरन्तरता टुटेन। बागमती सफाइको बारेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनी माघ २ मा पक्राउ परेकी थिइन्। प्रहरी वृत्त गौशालाले उनलाई अनुसन्धानका लागि भनेर ११ दिन हिरासतमा राख्यो। उनी विरुद्ध प्रहरी वृत्त जगातीमा पनि अभद्र व्यवहारकै जाहेरी दर्ता रहेको र त्यसको आधारमा पक्राउ पुर्जी समेत जारी भएको भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंको परिसरबाटै नियन्त्रणमा लिएको थियो उनलाई।

सोमबारै हातमा हतकडी अनि मुखमा मास्क लगाएको आशिकाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भयो। सामान्य सार्वजनिक अपराधमा पक्राउ परेको व्यक्तिलाई अनुसन्धानको बहानामा ११ दिन हिरासतमा राख्ने अनि प्रशासनमा लैजाँदा पनि जघन्य अपराधको अभियुक्त झैँ व्यवहार गर्दै हतकडी लगाउने राज्यको व्यवहारको ‘एक नागरिकलाई दुख दिने नियतले दुर्व्यवहार गरेको’ प्रस्टै देखियो।

आफूलाई अभियन्ता भन्दै आशिकाले जे जस्ता गतिविधि गरिरहेकी छिन् शैलीगत रूपमा त्यो स्वीकार्य छैन। कहीँकतै, कुनै विषयमा आफ्ना धारणा राख्दा उनले जुन शैली देखाउने गरेकी छिन् त्यो व्यवहार अराजक र अभद्र देखिन्छ नै।

राज्यका निकायहरूले गर्ने काममा नागरिकले अनुगमन गर्न सक्छ। तर त्यसको सीमा हुन्छ। कहिँकतै कानुन विपरीत काम भएको छ भने नागरिक आफैँले कारबाही स्वरूप लाठी हान्ने, रसिद खोसेर च्यात्ने अनि जलाउने जस्ता गतिविधि गर्न कानुनले छुट दिँदैन।

नागरिकले कहीँकतै बदमासी भएको सूचना वा प्रमाण पाएको अवस्थामा सम्बन्धित सरकारी निकायलाई जानकारी दिन सक्छ। तर आशिकाको व्यवहार आफैँ कारबाही गर्ने शैलीको थियो।

कहिँकतै कुनै सरकारी कार्यालयमा रहेको विवरण आम नागरिकले माग गर्न सक्छ। तर त्यसको पनि विधि छ। सूचनाको हक सम्बन्धी विशेष कानुन छ जसले कुन सरकारी निकायमा कुन-कुन सूचना आम नागरिकले माग्न सक्छन् र कुन विधिबाट उनीहरूले दिनुपर्छ भन्ने प्रस्ट प्रावधान लेखिएको छ।

पशुपति क्षेत्र विकास कोषमा सूचना वा जानकारी लिन जाँदा आशिका र उनको समूहमा रहेकाहरूले जस्तो व्यवहार प्रदर्शन गरे त्यो सहज देखिएन। उनले हद नाघेर व्यवहार गरेको सार्वजनिक भिडियोबाटै प्रस्ट हुन्छ।

उनले यस अगाडि यस्तै हद नाघेर व्यवहार गरेका भिडियोहरू सामाजिक सञ्जालमा लोकप्रिय भएसँगै उनी हौसिँदै अराजक, अभद्र व्यवहार बढाएको उनले नै सार्वजनिक गरेका भिडियोहरूबाट देखिन्छ नै। सामाजिक सञ्जालको खोक्रो वाहवाहीमा उनी मक्ख पर्दै अराजक व्यवहार बढाउँदै लगिन्, आफ्नै व्यवहारले कानुनी कारबाहीको दायरामा तानिइन् पनि।

राज्यले कुनै विन्दुमा पुगेर आशिकाको अराजक र अभद्र शैलीमा ब्रेक लगाउने प्रयास गर्नु पर्ने नै थियो। जाहेरी पर्यो। पक्राउ पनि गर्यो। तर कसैले अभद्र अनि अराजक शैली अपनायो भन्दैमा राज्यलाई पनि अभद्र वा अराजक हुने छुट छैन। तर अभद्र र अराजक शैली देखाए बापत आशिकालाई ‘तह लगाउन’ राज्यको निकायले पनि अभद्र र अराजक शैली नै अपनाएको देखायो घटनाक्रमले।

नागरिकले कुनै कानुन उलङ्घन गरेको अवस्थामा अभियोगको प्रकार अनुसार व्यवहार गर्नु राज्यका निकायको दायित्व हो। कुनै नागरिक अराजक वा अभद्र भयो भन्दैमा राज्य पनि अराजक र अभद्र हुने छुट कानुनले दिएको छैन। ‘फलामले फलाम काट्छ’ भनेझैँ राज्यका निकायमा ‘अभद्र व्यवहारलाई अभद्र व्यवहारले नै रोक्छ’ भन्ने सूत्र अपनाउने छुट हुन्न।

तर प्राय अभद्र रूपमा प्रस्तुत हुने आशिकालाई तह लगाउने वा सबक सिकाउने नियतले राज्यको कानुन कार्यान्वयन गर्ने निकाय प्रहरी पनि अराजक र अभद्र रूपमा प्रस्तुत भएको अनुसन्धानका लागि लगाएको समय अनि उनलाई गम्भीर अपराधको अभियुक्त झैँ हतकडी लगाउँदै कार्यालय घुमाएको दृश्यले देखायो।

नागरिकलाई दु:ख दिने राज्यको नियत

अभद्र व्यवहारको कसुरमा लाग्ने कानुन भनेको मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ हो। यो दफाले अभद्र व्यवहारका रूपमा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गरेमा त्यसलाई अभद्र व्यवहारको रूपमा परिभाषित गरेको छ।

अनि यस्तो गरेको ठहरिएमा अभद्र व्यवहार गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ।

यो प्रावधान भनेको सिधै हाजिर जमानी वा धरौटीमा रिहा हुनसक्ने कानुनी प्रावधान हो।

अनि अभद्र व्यवहारबारेको अनुसन्धान प्रक्रियामा प्रमाण पीडितको जाहेरी, अभद्र व्यवहार गरेको हो या हैन भन्ने देख्ने वा अन्य कुनै प्रमाण नै हो। आशिकाको हकमा त उनले सार्वजनिक गर्ने भिडियो नै सबैभन्दा ठुलो प्रमाण हो अभद्र व्यवहारमा।

जाहेरी,जाहेरीको आधारमा घटनास्थल मुचुल्का, प्रतिवादी अर्थात् आरोपीको बयान र घटना देख्ने वा घटनाबारे जानकार बुझिलिने व्यक्तिको बयानपछि यसको अनुसन्धान सकिन्छ। त्यसपछिको प्रक्रिया भनेको अभियोग पत्रको तयारी, दर्ता र प्रशासन कार्यालय वा अदालतमा अभियोग दर्ता नै हो। अभियोग पत्र दर्ताको आधारमा थुनछेक बहसबाट पुर्पक्ष वा तारेख वा धरौटीमा रिहाको आदेश आउने हो।

यसको आधारमा अभद्र व्यवहारको अनुसन्धानमा ११ दिन लाग्ने त्यति जटिल देखिन्न। यस अगाडिका अनुसन्धान प्रक्रिया हेर्ने हो भने प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेलमाथि लागेको ३८ लाख ठगीको आरोपको अनुसन्धान मोरंग प्रहरीले १२ दिनमा सकेर अदालतमा पेस गरेको थियो। र उनी पाँच लाख धरौटीमा मुक्त भए।

यसैको आधारमा पनि अभद्र व्यवहारको कसुरमा ११ दिन आशिकालाई हिरासतमा राख्ने प्रहरीको नियत ‘चाँडो बुझायो भने धरौटी निस्किहाल्छ, चेताउनै पर्छ’ भनेर हिरासत अवधि बढाउने बाहेक अन्य देखिएन।

यसले अभद्र व्यवहारको अनुसन्धानमा राज्यको कानुन कार्यान्वयन गर्ने निकायले नै बदलाको भाव लिएर आरोपीमाथि अभद्र व्यवहार गरेको देखिन्छ। आशिकाले अभद्र व्यवहार गर्दा अनुसन्धान गर्ने त प्रहरी भयो। अब आशिकामाथि प्रहरीरुपी राज्यले गरेको अभद्र व्यवहार चैँ कसले हेर्ने?

माघ १४, २०८१ सोमबार २१:४८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।