माघ १७ देखि २१ सम्म आठौँ चेम्बर एक्स्पो हुने
काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको आयोजनामा माघ १७ देखि २१ सम्म आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना हुने भएको छ।
काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एन्ड एआई प्रोजेक्टसहित आठौँ नेपाल चेम्बर एक्स्पो हुने नेपाल चेम्बर अफ कमर्सले जानकारी दिएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले व्यापार मेला गर्न लागेको हो।
चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भई रहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभूषण चाकुबजीले जानकारी दिए।
एक्स्पोमा कृषिजन्य बस्तुहरू, हस्तकला, लत्ता कपडाका सामानहरू, अटोमोबाइल, इलेकट्रोनिक्स, घरेलु उपकरण, रसद, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसाधन, खाना र दुग्ध उत्पादनहरू आदी सामग्रीहरूको प्रदर्शन हुने आयोजकले सोमबार जानकारी दियो।
चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरूमा उत्पादित बस्तुहरूको प्रदर्शनी र व्यवसायीहरू सहभागी हुने चेम्बरले जानकारी दियो।
माघ १४, २०८१ सोमबार १८:५९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।