प्रधानमन्त्री ओलीको गुनासो : खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन्
भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई रुघाखोकी लाग्दा पनि अस्पतालको आइसियुमा रहेको बेलाको तस्बिर सार्वजनिक गरेर भ्रम फैलाउने काम भएको गुनासो गरेका छन्।
सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले भने ‘मलाई रुघाखोकी लागेको हो। एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्युँ गरेको देख्यो भने आइसियु कक्षमा बसेको फोटो आइहाल्छ। खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन्।’
केही दिन अगाडिबाट सन्चो नभएर प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित नवनिर्मित प्रशासकीय भवनको उद्घाटनमा सहभागी भएका प्रधानमन्त्री ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै देश विकासको गति बढाउने दाबी समेत गरे।
उनले नेपाल विकासको क्रममा अगाडि बढेको दाबी गर्दै राम्रो प्रणाली नभई विकास नहुने समेत बताए। देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा विकासको अगुवाइ गरिरहेको उनको तर्क थियो।
‘सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको विकल्प छैन,’ उनले भने ‘नेपाली काँग्रेस र एमालेले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेका छन्। यसमा ढुक्क भए हुन्छ।’
पूर्व सहमतिअनुसार अहिले काँग्रेसबाट आफूले पूरा साथ पाएको र भोलि काँग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूरा साथ दिने बताए।
माघ १४, २०८१ सोमबार १८:४८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।