'युवाहरूमा आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकि भन्ने चिन्ता लागेको छ, विदेश पठाउन हतार नगरौं'

'युवाहरूमा आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकि भन्ने चिन्ता लागेको छ, विदेश पठाउन हतार नगरौं'
फाइल

तेह्रथुम : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसर भन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन्।

तेह्रथुमको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृत्तिका कारण विदेश जाने प्रवृत्ति बढ्दै गएको बताए।

उनले भने, ‘मलाई कता-कता आजभोलि देशभक्तिको भावना कमी हुँदै गएको होकि, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकि? भन्ने चिन्ता लागेको छ। म आम समुदायलाई अपिल गर्न चाहन्छु, हामी हाम्रा छोराछोरीहरूलाई देशको माया, माटोको माया अनि हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफैं धनी बन्ने बाटो तर्फ प्रेरित गरौं। विदेश पठाउन हतार नगरौं।’

उनले देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहिनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता साहसको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन् भन्ने स्थापित गरेका कारण नेपालीहरूले सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताए।

उनले भने, ‘हाम्रो देश साधन स्रोतविहीन देश होइन, हाम्रो देश साधन स्रोतले सम्पन्न देश हो। हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहिनेत र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसको दृष्टिकोणले अब्बल छ।’ 

अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिमसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहेको जानकारी दिए।  

माघ १४, २०८१ सोमबार १५:०५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।