उत्तराखण्डमा आजदेखि नयाँ नियम लागू, लिभइनमा बस्नेले प्रशासनलाई अनिवार्य जानकारी गराउनुपर्ने
एजेन्सी : भारतको उत्तराखण्ड राज्यमा लिभइन रिलेसनमा बस्नेहरूले प्रशासनलाई अनिवार्य जानकारी गराउनुपर्ने नियम लागू भएको छ।
आजबाट प्रदेशमा समान नागरिक संहिता लागू भएसँगै यस्तो जानकारी गराउनुपर्ने भएको हो। यो संहितासँगै अब लिभइन रिलेसनबाट जन्मेका बच्चाहरूलाई वैध मानिने भएको छ।
२०२२ को विधानसभा निर्वााचनमा समान नागरिक संहिता लागू गर्ने वाचालाई त्यहाँका मुख्यमन्त्री पुष्करसिंह धामीले पूरा गरेका हुन्। उनले संहिता कार्यान्वयनका सबै प्रक्रिया पूरा भइसकेको समेत जानकारी दिएका छन्।
ऐनलाई प्रभावकारी बनाउन नियमहरूको स्वीकृति र अधिकारीहरूलाई तालिम दिइएको उनले एक बयानमा बताएका छन्।
उत्तराखण्डमा आजदेखि लागू भएको समान नागरिक संहितामा विवाह, सम्बन्ध विच्छेद, लिभइन रिलेसनसिप लगायतका अन्य विभिन्न प्रावधानहरू समावेश छन्।
संहिता लागू भएसँगै विवाह गर्दा पुरुषको उमेर २१ वर्ष र महिलाको १८ वर्ष पूरा भएको हुनुपर्ने, विभिन्न धर्मका मानिसहरूले आफ्नो धार्मिक विधि अनुसार विवाह गर्न सक्ने, विवाह दर्ता अनिवार्य, दर्ता नगरेको विवाह अवैध हुने व्यवस्था छन्।,
त्यसैगरी, पति÷पत्नी मध्ये कुनै एकले स्वेच्छाले तेस्रो व्यक्तिसँग शारीरिक सम्बन्ध राखेमा, निर्दयी व्यवहार गरेमा, विवाहपछि कम्तिमा दुई वर्ष अलग बसेमा, धर्म परिवर्तन गरेमा, मानसिक रोग लागेमा, यौन रोगबाट ग्रसित भएमा र सात वर्षदेखि दुवै पक्षको पत्तो नलागेमा सम्बन्ध विच्छेद गर्न सकिनेछ।
माघ १४, २०८१ सोमबार १३:१०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।