प्रतिबन्धपछि अमेरिकासामु झुक्यो कोलम्बिया, ट्रम्पका सबै शर्त स्वीकार्न तयार
एजेन्सी : आप्रवासीको मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि कोलम्बिया अमेरिकी शर्त स्वीकार्न तयार भएको छ।
ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो।
ह्वाइट हाउसले एक विज्ञप्तिमा भन्यो, ‘कोलम्बिया राष्ट्रपति डोनाल्ड ट्रम्पका सबै शर्तहरू स्वीकार गर्न सहमत भएको छ, जसमा कोलम्बियाका अवैध आप्रवासीहरूलाई अमेरिकी सेनाको विमानबाट फिर्ता व्यवस्था पनि समावेश छ।’
ह्वाइट हाउसले भनेको छ, ‘यो सम्झौता अन्तर्गत, कोलम्बियामा शुल्क र प्रतिबन्ध लगाउने आदेशलाई रिजर्भमा राखिनेछ। यदि कोलम्बियाले सम्झौताको सम्मान गरेमा हस्ताक्षर गरिने छैन।’
यसअघि कोलम्बियाले निर्वासित आप्रवासीहरूले भरिएको अमेरिकी सैन्य विमानलाई अवतरण गर्न अनुमति दिएको थिएन।
कोलम्बियाको कदमपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसलमा एक पोस्टमा भनेका थिए, ‘अमेरिकाले कोलम्बियाका अधिकारीहरुको यात्रामा प्रतिबन्ध लगाउनेछ र उनीहरुको भिसा तत्काल रद्द गरिनेछ। यी प्रतिबन्धहरू कोलम्बियाका साथै यसका सहयोगी र समर्थकहरूमा लागू हुनेछन्।’
ट्रम्पले यसअघि नै मेक्सिको र क्यानडाको साथमा कोलम्बियामा पनि २५ प्रतिशत कर लगाउने बताएका थिए। एक साताभित्र यो कर बढेर ५० प्रतिशत पुग्नसक्ने चेतावनी समेत उनले दिएका थिए।
त्यसपछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले २५ प्रतिशत ट्यारिफ लगाए आफूहरूले पनि अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने प्रतिक्रिया दिएका थिए।
यसअघि आइतबार कोलम्बियाका राष्ट्रपति पेट्रोले भनेका थिए, ‘उनले नागरिक विमानबाट आफ्ना नागरिकको ढुवानी स्वीकार गर्नेछन्। उनीहरूलाई अपराधी जस्तै व्यवहार गर्नु हुँदैन। आप्रवासीहरूलाई सम्मान र मर्यादाका साथ फिर्ता पठाउनुपर्छ।’
माघ १४, २०८१ सोमबार १२:५५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।