‘पूर्णबहादुर सारङ्गी’को सक्सेस पार्टीमा दुई फिल्म घोषणा, कलाकार र प्राविधिकले बोनस पाउँदा देखिएनन् प्रकाश सपूत

काठमाडौं : ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनमा आएको ८८औं दिनमा आइतबार सक्सेस पार्टी आयोजना गरेको निर्माण टोलीले दुई फिल्म घोषणा गरेको छ।
निर्माण टिमले आइतबार काठमाडौंको एक रेस्टुरेस्टमा आयोजित पार्टीमा ‘पूर्णबहादुरको सारङ्गी २’ र ‘रोल नम्बर वान’ घोषणा गरेको हो।
‘पूर्णबहादुरको सारङ्गी २’को निर्देशकबारे निर्माण पक्ष मौन रहँदा ‘रोल नम्बर वान’ भने जोन योञ्जनले निर्माण गर्ने पक्का भएको छ।
कार्यक्रममा फिल्मका मुख्य कलाकार विजय बराल, अभिनेत्री अञ्जना बराइली,विनोद न्यौपाने लगायतका कलाकारहरूको भने उपस्थित हुँदा प्रकास सपूत भने देखिएनन्।
यसअघि निर्मातासँग फिल्म रिलिजको सन्दर्भमा भएको विवादलाई कारण देखाउँदै उनी फिल्मको प्रचारमा समेत देखिएका थिएनन्। यद्यपि फिल्मले राम्रो हाइप पाएपछि भने मन माझेरै उनी हल–हलमा पुगेका थिए।
पहिलो दिन १७ लाखको व्यापार गरेको फिल्मले ८४औं दिनसम्म प्रदर्शन हुँदा नेपालबाट ४८ करोड सात लाख र विदेशबाट २५ करोड गरी कुल ७५ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको निर्माता पौडेलले जानकारी दिए।
नेपाली फिल्मकै सर्वाधिक कमाई गरेको खुशीयालीमा निर्माण पक्षले कलाकार तथा प्राविधिकहरूलाई बोनस समेत दियो।
मुख्य कलाकार सपूत मात्र होइन, दुई निर्माता प्याट्रिक सुवेदी र रमेश ढकाल पनि फिल्मको पार्टीमा पुगेनन्। निर्माताद्वय नै कार्यक्रममा उपस्थित नहुँदा अर्का निर्माता विनोद पौडेलसँग मनमुटाव भएको धेरैले अड्कल काटे।
पार्टीमा निर्माताद्वय र कलाकार सपूत मात्र नभएर निर्देशक रामबाबु गुरुङ र फिल्मका उपत्यका वितरक प्रचण्डमान श्रेष्ठ समेत देखिएनन्।
माघ १४, २०८१ सोमबार १२:४५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।