आप्रवासीले भरिएको विमान फिर्ता पठाएपछि कोलम्बियाका अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्ध

आप्रवासीले भरिएको विमान फिर्ता पठाएपछि कोलम्बियाका अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी : आप्रवासीले भरिएको अमेरिकी विमान फिर्ता पठाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाका अधिकारीहरूमाथि यात्रा प्रतिबन्ध लगाएका छन्।

कोलम्बिया सरकारले निर्वासित आप्रवासीहरूले भरिएका अमेरिकी विमानहरूलाई कोलम्बियामा अवतरणको अनुमति नदिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले कोलम्बियाका अधिकारीहरूमाथि यात्रा प्रतिबन्ध लगाउँदै भिसा रद्द गरेका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसलमा एक पोस्टमा भनेका छन्, ‘अमेरिकाले कोलम्बियाका अधिकारीहरुको यात्रामा प्रतिबन्ध लगाउनेछ र उनीहरुको भिसा तत्काल रद्द गरिनेछ। यी प्रतिबन्धहरू कोलम्बियाका साथै यसका सहयोगी र समर्थकहरूमा लागू हुनेछन्।’

कोलम्बियाले भने आप्रवासीहरूलाई ल्याइएका विमानहरू सैन्य विमान भएको बताउँदै ती विमान अवतरण गर्न नदिने अडान लिएको छ।

ट्रम्पले यसअघि नै मेक्सिको र क्यानडाको साथमा कोलम्बियामा पनि २५ प्रतिशत कर लगाउने बताएका थिए। एक साताभित्र यो कर बढेर ५० प्रतिशत पुग्नसक्ने चेतावनी समेत उनले दिएका थिए।

त्यसपछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले २५ प्रतिशत ट्यारिफ लगाए आफूहरूले पनि अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने प्रतिक्रिया दिएका थिए।

यसअघि आइतबार कोलम्बियाका राष्ट्रपति पेट्रोले भनेका थिए, ‘उनले नागरिक विमानबाट आफ्ना नागरिकको ढुवानी स्वीकार गर्नेछन्। उनीहरूलाई अपराधी जस्तै व्यवहार गर्नु हुँदैन। आप्रवासीहरूलाई सम्मान र मर्यादाका साथ फिर्ता पठाउनुपर्छ।’

माघ १४, २०८१ सोमबार ०९:२४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।