Exclusive : एनपिएलमा क्यान पदाधिकारी र टिसिएमको शङ्कास्पद आर्थिक सम्बन्ध, नेपालमा कम्पनी तर कारोबार दुबईमा

Exclusive : एनपिएलमा क्यान पदाधिकारी र टिसिएमको शङ्कास्पद आर्थिक सम्बन्ध, नेपालमा कम्पनी तर कारोबार दुबईमा

काठमाडौँ : नेपाल  क्रिकेट संघ (क्यान) को आयोजनामा भएको नेपाल प्रिमियर लिगको इभेन्ट रणनीति र मार्केटिङ कन्सल्ट्यान्ट नियुक्त ट्वान्टी फस्ट सेन्चुरी मिडिया (टिसीएम) स्पोर्ट्ससँगको आर्थिक कारोबार शङ्कास्पद देखिएको छ।

खेल सम्बन्धी गतिविधि व्यवस्थापनमा केन्द्रित टिसिएम भारतीय कम्पनी हो। यो कम्पनी ट्याक्स छलीको शङ्कास्पद गतिविधिमा संलग्न रहेको पानामा पेपर्सले सन् २०१६ मा सार्वजनिक गरेको थियो।

यही कम्पनीलाई क्यानका सचिव पारस खड्काको नेतृत्वमा रहेको एनपिएल आयोजक समितिले इभेन्ट रणनीति र मार्केटिङ कन्सल्ट्यान्टका रूपमा नेपाल भित्र्याएको थियो।

उकेराको खोजमा प्राप्त प्रमाणले क्यानको एनपिएल आयोजक समितिले टिसिएमसँग गैर कानुनी रूपमा सहकार्य गरेको र आर्थिक कारोबार समेत निकै शङ्कास्पद रहेको देखियो।

विदेशी संस्था वा व्यक्तिसँग सहकार्य गर्न सरकारले निर्णय गर्नुपर्ने कानुनी प्रावधान रहे पनि एनपिएलमा टिसिएम इभेन्ट रणनीति र मार्केटिङ कन्सल्ट्यान्टमा नियुक्त हुँदा सम्बन्धित मन्त्रालयले निर्णय गरेको देखिएन। टिसिएम सत् प्रतिशत विदेशी लगानी भएको कम्पनीको रूपमा नेपालमा समेत दर्ता छ। यसको दुवै सञ्चालक विदेशी छन्।

उकेराले प्राप्त गरेको प्रमाणले क्यानको एनपिएल आयोजक समितिले टिसिएमको भारतमा रहेको केन्द्रीय कार्यालय वा  नेपालको कम्पनीसँग नभई सिधै दुबईमा रहेको कार्यालयसँग सहकार्य गरेको खुलायो।

त्यसमा टिसिएमसँगको सम्बन्धबारे क्यानका पदाधिकारीहरूको एक आपसमा बाझिने भनाइले समेत एनपिएल आयोजक समिति र टिसिएमबीचको आर्थिक सम्बन्ध थप शङ्कास्पद देखाउँछ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले उकेरासँग शुल्क तिर्ने गरी टिसिएमसँग सहकार्य गरेको बताउँछन्। क्यानका कोषाध्यक्ष पदम खड्काले भने क्यानले टिसिएमलाई चिन्दै नचिन्ने र एनपिएलबारे अर्को कम्पनी ब्रान्ड डिजिटल लजिकसँग मात्र कारोबार हुने दाबी गरे।

क्यानका सचिव पारस खड्का यसबारे कुरा गर्न उकेराको सम्पर्कमै आएनन्। क्यानका प्रवक्ता छुम्बी लामा यो गोप्य कुरा भएको र गोप्य कुरा सचिव (पारस खड्का)लाई मात्र जानकारी हुने भनेर तर्किए।

OOO

नेपाल क्रिकेट संघ (क्यान) ले २०८१ असोज ८ मा नेपाल प्रिमियर लिगबारे प्रकाशित गरेको विज्ञप्तिमा ब्रान्ड डिजिटल लजिक टेन्डर प्रक्रियाबाट कर्मसियल एजेन्सी पाट्नरमा छनौट भएको उल्लेख छ।

विज्ञप्ति अनुसार टेन्डर प्रक्रियामा ब्रान्ड लजिकले गरेको ५ करोड ९२ लाखको प्रस्ताव पास भएको खुल्छ। यो स्वदेशी कम्पनी हो।

त्यही विज्ञप्तिमा अर्को कम्पनी ट्वान्टी फस्ट सेन्चुरी मिडिया (टिसीएम) स्पोर्ट्स अफिसियल इभेन्ट स्ट्राटिजी एन्ड मार्केटिङ कन्सल्ट्यान्टमा नियुक्त भएको उल्लेख छ।

आधिकारिक विज्ञप्ति अगाडि नै क्यानले २०८१ असोज १४ (२०२४ सेप्टेम्बर ३०)मा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत टिसिएम र एनपिएलको सहकार्यबारे सूचना राखेको थियो। यो भारतीय कम्पनी हो।

सूचनामा ‘क्रिकेट संघ नेपाल गर्व सहित ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया (टिसिएम) स्पोर्ट्स आउँदो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि आधिकारिक इभेन्ट रणनीति र मार्केटिङ कन्सल्ट्यान्ट नियुक्त भएको’ उल्लेख छ।

‘यो रणनीतिक साझेदारीको उद्देश्य लीगको समग्र कार्यान्वयनलाई विकास गर्नु हो, जसमा इभेन्ट व्यवस्थापन, उत्पादन, प्रसारण र प्रचार रणनीतिहरूमा केन्द्रित रहेर नेपाल प्रिमियर लीगको सफल सञ्चालन र मापदण्ड उकास्न क्यानसँग सहकार्य गर्नेछ’ फेसबुकमा राखिएको सूचनामा लेखिएको थियो।

क्यानले यसबारे विज्ञप्ति समेत जारी गरेको थियो। तर अहिले क्यानको वेभसाइटमा सो विज्ञप्ति भेटिन्न। फेसबुकमा राखिएको सूचना भने हटेको छैन।

उकेरासँग सुरक्षित रहेको क्यानको विज्ञप्तिको भाषाले ब्रान्ड लजिक खुल्ला प्रतिस्पर्धाबाट छानिएको प्रस्ट बुझिन्छ भने टिसिएमलाई क्यानले नियुक्त गरेको देखिन्छ। अर्थात् टिसिएमलाई इभेन्ट स्ट्राटिजी एन्ड मार्केटिङ कन्सल्ट्यान्ट छनौट गर्दा खुल्ला प्रतिस्पर्धाको विधि अपनाएको देखिँदैन।

क्यानको आधिकारिक वेभसाइट क्रिकेटनेपाल डट ओआरजी डटएनपी नेपाल प्रिमियर लिग सम्बन्धी दुई वटा टेन्डर आव्हान गरेको देखिन्छ।

सबैभन्दा पहिला २०८१ भदौ २५ ( २०२४ सेप्टेम्बर १०) मा कन्सल्टिङ सर्भिसका लागि टेन्डर आव्हान गरेको देखिन्छ। त्यसमा तीन कम्पनीले संयुक्त रूपमा मिलेर टेन्डर प्रतिस्पर्धामा सहभागी हुन पाउने, सबै काम सव-कन्ट्रयाक्टरलाई दिन प्रतिबन्ध लगायतका सर्त राखिएको छ।

टेन्डर डकुमेन्ट सम्पर्क व्यक्तिमा पारस खड्काको नाम र नम्बर राखिएको छ। त्यसमा टेन्डर बुझाउने मिति २०८१ भदौ ३१ (२०२४ सेप्टेम्बर १६)१२ बजेभित्र राखिएको छ भने टेन्डर सोही दिन १ बजे क्यानको मूलपानीमा रहेको कार्यालयमा खुल्ने उल्लेख छ।

टिसिएम त्यही प्रक्रिया अनुसार एनपिएलमा छनौट भएको हो भन्ने थप कुनै डकुमेन्ट फेला पर्दैन। टेन्डर खुल्ने मितिको करिब १५ दिनपछि २०८१ असोज १४ मा टिसिएम नियुक्त भएको सार्वजनिक गरियो, न कि छनौट भएको। त्यो पनि कुन प्रक्रियाबाट छानियो भन्ने क्यानले खुलाएन, अझैँ खुलाएको छैन।

अहिले पनि क्यानको साइटमा टेन्डरसँग सम्बन्धित डकुमेन्टको लिङ्क राखिएको छ तर वेभब्याक लिङ्कमा छ डकुमेन्ट। क्यानले पहिला राखेको लिङ्कमा डकुमेन्ट देखिँदैन।

सार्वजनिक खरिद ऐन अनुसार परामर्श सम्बन्धी सेवा खरिद गर्दा प्रतिस्पर्धात्मक प्रस्ताव माग गरेर वा सोझै वार्ताबाट लिन सकिने कानुनी प्रावधान छ।

सबै देशका परामर्शदाताहरू योग्य हुने गरी क्यानले सार्वजनिक गरेको टेन्डर प्रस्तावले क्यान परामर्श सेवा प्रतिस्पर्धाबाट खरिद गर्ने गरी अगाडि बढेको देखिन्छ।

यो टेन्डर आव्हान भएपछि यो रद्द भएको कहिँकतै सूचना नभेटिएकाले एनपिएलका लागि परामर्शदाता नियुक्त गर्न क्यानले खुल्ला प्रतिस्पर्धाको विधि नै अपनाएको देखिन्छ। तर जसरी टिसिएम छनौट भएको घोषणा गरियो त्यसले यो खुल्ला प्रतिस्पर्धाबाट छानिएको देखिँदैन।

एनपिएलमा टिसिएम प्रत्यक्ष रूपमा जोडिएको थियो भन्नेमा कुनै शङ्का रहेन। एनपिएलको मैदानभरि राखिएको त्यसको विज्ञापन, टिसिएमले आफ्नो सामाजिक सञ्जालहरूमा एनपिएलसँगको सहकार्यबारे राखेको सामग्री र लिग सकिएपछि क्यानले जारी गरेको विज्ञप्तिमा टिसिएमलाई दिएको धन्यवादले एनपिएलमा टिसिएमको सम्बन्ध पुष्टि गर्छ।

तर एनपिएलमा क्यान र टिसिएमको सम्बन्ध कस्तो खालको हो? यसबारे क्यानका जिम्मेवार अधिकारीहरूबाट आएको जवाफले भने निकै शङ्कास्पद सम्बन्ध देखाउँछ।

पहिला त उनीहरू टिसिएमसँगको सहकार्यबारे खुल्नै चाहँदैनन्। कागजपत्र देखाउन तयार छैनन्। कोही सम्पर्कमै आउन चाहेनन्, सम्पर्कमा आएकाहरूले उकेरालाई जो जानकारी दिए त्यो शङ्का समाधान गर्ने नभई थप शङ्का बढाउन पर्याप्त थियो।

एनपिएलमा टिसिएमसँगको क्यानको आर्थिक सम्बन्धबारे क्यानका प्रवक्ता छुम्बी लामासँग जिज्ञासा राख्दा उनले उकेरासँग यो गोप्य विषय भएको र क्यानको गोप्य विषय सचिव (पारस खड्का) लाई मात्र जानकारी हुने दाबी गरे।

क्यानका कोषाध्यक्षले त क्यान र टिसिएमबीच आर्थिक पक्षमा कुनै सम्बन्ध नै नभएको र एनपिएलको सवालमा क्यानले टिसिएमलाई चिन्दै नचिन्ने दाबीसम्म गरे।

यसबारे बुझ्न क्यान सचिव पारस खड्कासँग बारम्बार सम्पर्क गर्न प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन्। अनि उकेराले क्यानका अध्यक्ष चतुर बहादुर चन्दसँग सम्पर्क गर्यो।

आइतबार उकेराको सम्पर्कमा आएका चन्दले ब्रान्ड लजिकसँग विज्ञापनको सम्बन्ध रहेको र टिसिएमलाई म्यानेजमेन्ट गरे बापतको फि तिर्नुपर्ने बताए। उनले बाँकी कुरा एनपिएल आयोजक टिमसँग बुझ्न भने।

उकेराले पुन एनपिएल आयोजक समितिका प्रमुख पारस खड्कासँग सम्पर्क गर्ने प्रयास गर्यो। फोन उठेन। उकेराकर्मीले कुरा गर्न चाहेको विषय खुलाएर एसएमएस गर्यो। तर उनी सम्पर्कै आएनन्।

आखिर क्यानका पदाधिकारीहरू टिसिएमसँगको सम्बन्धबारे किन विरोधभाषपूर्ण दाबी गरिरहेका छन्? यसबारे उकेराले खोजी गर्दा केही गम्भीर तथ्यहरू फेला पार्यो।

ती तथ्यले एनपिएलको आवरणमा नेपाल भित्रिएको टिसिएम र क्यान अन्तर्गतको एनपिएल आयोजक समितिका पदाधिकारीको आर्थिक सम्बन्ध निकै शङ्कास्पद देखायो।

कसरी छानियो टिसिएम ?

आफूसँग जनशक्ति नभए वा दातृ निकायसँगको सम्झौता अनुसार परामर्शदाता लिनु परेमा परामर्शदाता सेवा लिन सकिने कानुनी व्यवस्था छ। त्यही कानुनी प्रावधान अनुसार क्यानले टेन्डरसम्बन्धी सूचना जारी गरेको देखिन्छ।

तर परामर्श सेवा लिन क्यानले न कानुनी प्रक्रिया पुरा गरेको देखिन्छ न सार्वजनिक खरिद नियमावलीमा उल्लेख भएको परामर्श सेवा सम्बन्धी टेन्डर प्रक्रिया नै पुरा गरेको देखिन्छ।

परामर्श सम्बन्धी सेवा लिनुपर्ने अवस्थामा तीनदेखि ६ परामर्शदाताको संक्षिप्त सूची सार्वजनिक गर्ने र उनीहरूलाई न्यूनतम १५ देखि ३० दिनको समय दिएर टेन्डर आव्हान गर्नुपर्ने कानुनी प्रावधान छ।

क्यानले संक्षिप्त सूची सार्वजनिक गरेको छैन। यसले उसले के आधारमा एनपिएलमा टिसिएमलाई परामर्शदाता नियुक्त गर्यो प्रस्ट हुन्न।

ब्राण्ड लजिक र टिसिएम एनपिएलमा छानिएकोबारे सञ्चारकर्मीलाई पठाएको इमेल।नियमावली अनुसार २० लाखसम्म राष्ट्रिय र त्यो भन्दा बढी शुल्कको अन्तर्राष्ट्रिय परामर्शदाता चयन गर्न सूचना प्रकाशित गरेर आशय पत्र माग गर्नुपर्ने देखिन्छ। २० लाख तलको हकमा १५ दिनको समय र त्यो भन्दा बढीको हकमा न्यूनतम ३० दिनको समय दिनुपर्ने उल्लेख छ।

क्यानले अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेको देखिन्छ। कानुन अनुसार यसका लागि कमसेकम ३० दिनको अवधि दिनुपर्नेमा जम्मा सात दिनको समय दिएको देखिन्छ।

टिसिएमको छनौटमा अर्को गम्भीर पक्ष क्यानले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को अनिवार्य प्रावधान पालना नगरी टिसिएमसँग आर्थिक कारोबार गरेको देखिन्छ।

सो ऐन अनुसार राष्ट्रिय खेल सङ्घले विदेशी सरकार, अन्तर्राष्ट्रिय सङ्घ-संस्था, विदेशी संस्था वा व्यक्तिसँग सम्झौता गर्दा राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल सरकारको स्वीकृति लिनुपर्ने प्रावधान छ।

यो प्रावधान अनुसार क्यानले एनपिएलमा टिसिएमलाई कन्सल्टेन्टमा नियुक्त गर्न राष्ट्रिय खेलकुद परिषद्मा पत्र पठाउनुपर्ने र राखेपले युवा तथा खेलकुद मन्त्रालयमा पठाएर मन्त्रालयको स्वीकृतिपछि पक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ।

तर उकेराको खोजमा यो प्रक्रिया पुरा भएको देखिएन। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आइतबार एनपिएलमा विदेशी परामर्शदाता नियुक्त गर्नेबारे क्यानबाट राखेपहुँदै मन्त्रालयमा पत्र आएको जानकारीमा नभएको बताए।

राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले आइतबारै यसबारे आफूलाई कुनै जानकारी नभएको जवाफ दिए। प्रक्रिया अगाडि बढाउने राखेप र निर्णय गर्ने मन्त्रालय दुवैको नेतृत्वले जानकारी नभएको जवाफ दिएकाले विदेशी संस्था टिसिएमसँग क्यानले गरेको सम्झौताबारे सरकारले निर्णय गरेको देखिएन।

क्यान र टिसिएमको शङ्कास्पद आर्थिक सम्बन्ध

क्यानको आधिकारिक वेभसाइटमा एनपिएलमा कन्सल्ट्यान्ट नियुक्तीबारे बोलपत्र आव्हान भएको देखिन्छ। त्यसपछि एकै पटक सञ्चारकर्मीलाई पठाएको विज्ञप्ति र क्यानको फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा राखिएको टिसिएम इभेन्ट स्ट्राटिजी एन्ड मार्केटिङ कन्सल्ट्यान्टमा छानिएको जानकारीबाहेक टेन्डरका अन्य कुनै प्रक्रिया खुलाउने कागजपत्र कतै फेला पर्दैनन्।

क्यानका कोषाध्यक्ष पदम खड्का एनपिएल आयोजक समितिका सदस्य समेत हुन्। उनले उकेरासँग टिसिएम र क्यानबीच कुनै आर्थिक सम्बन्ध नै नभएको दाबी गरिरहे।

‘हामीले कारोबार गर्ने भनेको ब्रान्ड लजिकसँग हो। टिसिएमसँग होइन’ उनको दाबी छ।

क्यान कोषाध्यक्ष खड्काले टिसिएमसँ कुनै आर्थिक सम्बन्ध नै नभएको दाबी गरे पनि उकेराले पाएको प्रमाणले भने टिसिएम र क्यानबीच सिधै आर्थिक सम्बन्ध देखाउँछ। त्यो पनि टिसिएमको भारत वा नेपालमा रहेको कम्पनीसँग नभई दुबइको कम्पनीसँग।

क्यानको नाममा टिसिएम दुबइको बिल

टिसिएम स्पोट्स म्यानेजमेन्टले क्यानलाई ९२ हजार ५ सय अमेरिकी डलर ( करिब एक करोड २७ लाख रुपैयाँ) को बिल पठाएको प्रमाण उकेरासँग सुरक्षित छ।

टिसिएम भारतीय कम्पनी हो। तर उकेराले फेला पारेको बिल टिसिएमको दुबईमा रहेको कम्पनीबाट आएको हो।

गत कात्तिक २९ गते (२०२४ नोभेम्बर १४) टिसिएमले क्यानको नाममा पठाएको ९२ हजार पाँच सय अमेरिकी डलरको बिलको प्रयोजन एनपिएल २०२४ को ब्रोडकास्ट प्रडक्सन कस्टको ५०%उल्लेख छ।

यसले एनपिएलको ब्रोडकास्ट प्रडक्सनमा क्यानले टिसिएमलाई एक लाख ८५ हजार अमेरिकी डलर ( दुई करोड ५४ लाख रुपैयाँ) तिर्नुपर्नेगरि सहमति गरेको देखिन्छ। टिसिएमले एनपिएलसँगको आफ्नो आबद्धता खुलाउँदा स्टार स्पोर्टसमा एनपिएलको प्रसारणको जिम्मेवारी समेत खुलाएको छ।

टिसिएम दुबइले क्यानको नाममा जारी गरेको बिल। उमेश लाखमनीले आफ्नो लिङदिनमा लेखे अनुसार स्टार स्पोर्ट्स समेत उसैले व्यवस्थापन गरेको देखिन्छ। सो सहमति कति रुपैयाँमा भएको हो त्यो न क्यानले खुलाएको छ न त टिसिएमले नै। यसले स्टार स्पोर्ट्सलाई तिर्नुपर्ने रकम अलग्गै भएको देखाउँछ।

टिसिएम र क्यानको शङ्कास्पद आर्थिक सम्बन्धबारे केही स्रोतहरूले पहिलो किस्ता बापतको ९२ हजार पाँच सय अमेरिकी डलर भुक्तानी भइसकेको दाबी समेत गरे।

टेन्डरसँगै प्रकाशित कागजपत्र अनुसार पनि पहिल्यै पेस्की दिनुपर्ने उल्लेख छ। रकम मागेको प्रमाण उकेराले प्राप्त गरे पनि रकम गएको पुष्टि हुने प्रमाण र विवरण फेला परेन।

नेपालको कानुन अनुसार विदेशी कम्पनीलाई नेपाल राष्ट्र बैङ्कको अनुमतिमा मात्र भुक्तानी गर्न सकिन्छ। राष्ट्र बैंकमा क्यानले टिसिएमलाई भुक्तानी गरेको विवरण छैन।

टिसिएमलाई पैसा गएको राष्ट्र बैंकमा रेकर्ड छैन

कुनै विदेशी कम्पनीसँग कारोबार गर्दा डलरमा गर्नुपर्ने हुन्छ। जसको भुक्तानीका लागि नेपाल राष्ट्र बैङ्कको स्वीकृति अनिवार्य हुन्छ।

विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ को ५ को उपदफा (२) बमोजिम ‘कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बैङ्कबाट इजाजत पत्र नलिई नेपाली मुद्रा वा इजाजत पत्र प्राप्त व्यक्तिबाट प्राप्त गरेको बाहेक अरू विनिमय नेपालको कुनै इलाकाबाट बाहिर लिएर जान वा पठाउन हुँदैन।

क्यानले टिसिएमलाई दुबई वा अन्यत्र कुनै देशमा पैसा पठाउन राष्ट्र बैङ्कसँग अनुमति लिएको खुलेन।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमुख रेवती प्रसाद नेपालले क्यानले टिसिएमलाई भुक्तानीका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिएको बताए।

विदेशी संस्था अनि ब्यक्तीसँग सहकार्य गर्दा अपनाउनुपर्ने कानुनी प्रावधान।‘रेफ्रि, कमेन्टेटरको लागि क्यानबाट पत्र आएको थियो। टिसिएम भन्ने कम्पनीलाई पैसा पठाउनेबारे क्यानबाट कुनै पत्र आएको छैन’ उनी भन्छन्, ‘विदेशी खेलाडीको लागि क्लबहरूको पत्र आएको थियो। त्यो हामीले स्वीकृत दिएका हौँ। तर टिसिएमलाई क्यानले भुक्तानी गरेकोबारे हामीलाई अहिलेसम्म कुनै पत्र आएको छैन।’

टिसिएमले क्यानको नाममा बिल पठाएकोमा कुनै शङ्का रहेन। तर राष्ट्र बैङ्कको भनाई अनुसार यदि सो बिल अनुसार भुक्तानी भएको भए अवैध बाटोबाट मात्र भुक्तानी भएको देखियो। यसबारे उकेराको खोजी जारी छ।

नेपालमा कम्पनी दर्तातर दुबइबाट कारोबार

कम्पनी रजिस्टारको कार्यालयमा असार १६ मा टिसीएम स्पोटर्स मार्केटिङ प्रालि नाममा कम्पनी दर्ता भएको देखिन्छ। पूर्ण विदेशी लगानीमा भित्रिएको यो कम्पनीको अध्यक्ष छन् भारतीय नागरिक सत्य साई प्रकाश सुङकु र सञ्चालक उमेश लाखमनी छन्। लाखमनी एनपिएलको समयमा नेपाल समेत आएका थिए।

यी दुवै दुबईमा सक्रिय देखिन्छन्। लिंकदिनमा रहेको यी दुवैको प्रोफाइल अनुसार सुङकुको सम्बन्ध खेल व्यवस्थापनमा देखिन्न। उनी चार्टर्ड अकाउन्टेन्ट हुन्। अर्का लाखमनी पत्रकारिताबाट ड्रिम इलाभेलहुँदै टिसिएमसँग जोडिएको देखिन्छ।

प्रारम्भमा सो कम्पनी नेपालमा दर्ता गर्न एसबिआइ बैंकका कर्मचारीले अख्तियारी पाएको देखियो। बैंकका ग्याल्जेन शेर्पाले कम्पनीको प्रतिनिधिको रूपमा काम गरे। उनले एसबिआइ मर्चेन्ट बैंकबाट राजीनामा दिएपछि नेपाल प्रतिनिधि बदलिए।

नेपालमा दर्ता भएको टिसिएमको कम्पनीको दुबइमा बसेको बैठकको निर्णय।सत् प्रतिशत विदेशी लगानीको रूपमा सो कम्पनी उद्योग विभागमा समेत दर्ता भएको देखियो। उद्योग विभागमा दर्ता भएको कम्पनीमा म्यानेजिङ्ग डाइरेक्टर लोकेश शर्मा छन्।

लोकेश पूर्व भारतीय खेल पत्रकार अनि टिसिएमको संस्थापक हुन्। उनी भारतमा दर्ता रहेको टिसिएमको मूल कम्पनीको म्यानेजिङ डिरेक्टर छन्। उद्योग विभागमा शर्माको राहदानीको नक्कलप्रति राखेर कम्पनी दर्ता भएको देखिन्छ। कम्पनीका नेपाल प्रतिनिधिमा भने नेपाली नै देखिन्छन्।

पानामा पेपर्समा जोडिएको विवादित टिसिएम

पारसका अनुसार इन्डोनेसियाको बालीमा भएको आइसिसीको मिटिङमा सहभागी हुने क्रममा उनको लोकेश शर्मासँग भेट भएको थियो। उनलाई क्यानका अध्यक्ष चतुर बहादुर चन्दले लोकेससँग परिचय गराएका थिए।

‘भेटमा स्पोन्सरहरुसँग जोडिन सहयोग मागेका थियौ। एनपिएल गर्दैछौ भनेर सल्लाह पनि भयो,’ एक महिना अगाडि देशसञ्चारको चौतारी कार्यक्रममा उनले भनेका छन्‘ब्याक ग्राउन्ड परीक्षण गर्दा बलियो देखियो। ३८ वर्षदेखि काम गरेको कम्पनी देखिएपछि सहकार्य भयो।’

उनले एनपिएलकै लागि टिसिएम एफडिआइका रूपमा नेपालमा समेत दर्ता भएको बताए। उनले भनेको सत्य नै देखियो। तर नेपालमा दर्ता भएको कम्पनीभन्दा दुबइको कम्पनीसँग क्यानको कारोबार देखियो।

टिसिएमका प्रतिनिधीसँगको सम्बन्धबारे क्यान अध्यक्ष चन्दले पनि उकेरालाई केही विवरण खुलाए। तर उनको दाबी अनुसार टिसिएमका प्रतिनिधीसँग इन्डोनेसियामा नभई श्रीलङ्कामा भेट भएको हो।

‘मैले पारस खड्कालाई श्रीलङ्कामा टिसिएमको प्रतिनिधीलाई चिनाएको हो। उहाँहरूले एसिया कप, क्रिकेट विश्वकप, आइपिएल गर्नुहुन्छ, हामीले पनि उहाँहरूलाई जोड्न सक्यौ भने राम्रो हुन्छ भनेर चिनाएको हो’ चन्दले आइतबार उकेरासँग भने।

टिसिएमका संस्थापक लोकेशबारे पानामा पेपर्सले सार्वजनिक गरेको विवरण। स्रोत : टाइम्सअफ इन्डिया।पारसले स्पोर्ट्स इभेन्टमा धेरै बलियो कम्पनी भनेर टिसिएमको प्रशंसा गर्दा ट्याक्स छलीमा प्रयोग हुने ब्रिटिस भर्जिन आइल्याण्ड्समा टिसिएमका प्रमुख लोकेश शर्माले दुई कम्पनीहरू दर्ता गराएको र तेस्रो कम्पनी त टीसीएमको सहायक कम्पनी रहेकोबारे केही बताएनन्।

पानामा पेपर्सले टिसिएमको सत् प्रतिशत लगानी रहेको सहायक कम्पनी, पेप्परमिन्ट म्यानेजमेन्ट कर्प लिमिटेड ब्रिटिस भर्जिन आइल्याण्ड्समा दर्ता भएको खुलाएको थियो।

मोसाक फोन्सेका कागजातहरूअनुसार, शर्माले एकल शेयरधारकको रूपमा दुई कम्पनीहरू सञ्चालन गरेका छन्। जुलाई २०११ मा मार्गारिटा सर्भिसेज लिमिटेड र अप्रिल २०१५ मा मार्दी ग्रास होल्डिङ्स लिमिटेड समेत दर्ता गरेको खुलेको थियो।

पानामा पेपर्सको विवरणले विवादमा आएपछि शर्माले भारतीय कानून र नियमहरूको पालना गरेको दाबी गरेका थिए। क्यानले यही विवादित कम्पनीलाई नेपाल भित्र्याउन पृष्ठभूमि तयार गरेको पारसकै सार्वजनिक भनाइबाट पुष्टि हुन्छ।

सँगै, नेपालमा दर्ता भइसकेको कम्पनीसँग सहकार्य नगरी दुबइको कम्पनीसँग देखिएको आर्थिक कारोबारको विवरणले एनपिएलको आर्थिक पक्ष नै शङ्कास्पद देखियो।

माघ १३, २०८१ आइतबार २१:३५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।