सुप्रिम सहकारी ठगी अभियोगमा रविविरुद्ध एक करोड धरौटी माग
बुटवल : सुप्रिम सहकारीमा रहेको बचतकर्ताहरूको रकम अपचलन गरेको अभियोगमा रुपन्देही जिल्ला अदालतले रवि लामिछानेसँग १ करोड रुपैंया धरौटी माग गरेको छ। थुनछेक बहस सकिएपछि आइतबार जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सुप्रिम सहकारीमा रहेको बचतकर्ताको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग पत्र दर्ता भएको थियो। पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएकोमा रविको नाममा एक करोड धरौटी मागिएको हो।
धरौरी लिएर तारेखमा राख्न आएको आदेशमा 'मिसिल सम्बन्धी तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने' उल्लेख छ।
यस अगाडि रविको नाममा पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलनमा ६५ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा ६० लाख रकम धरौटी माग भएको थियो। दुवै अदालतमा रविले धरौटी बुझाएर मुक्त भएका थिए। दुबै अदालतको आदेशमा पनि तत्काल प्राप्त प्रमाणबाट कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको' भन्दै धरौटी रकम लिएर तारेखमा राख्न भनिएको थियो।
बुटवलपछि अब चितवन र पर्सामा रविविरुद्ध सहकारी ठगीको मुद्दा अनुसन्धानमा रहेको छ।
माघ १३, २०८१ आइतबार १९:४३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।