मिसिङ-केटी हराएको सूचना : केटी हैन, कथा पो हरायो

मिसिङ-केटी हराएको सूचना : केटी हैन, कथा पो हरायो

लगभग तीन दशक अगाडिको टेलिफिल्म ‘उजेली’को ब्रान्ड बोकेर ‘केटी हराएको सूचना’मार्फत नेपाली फिल्म निर्देशनमा फर्किएका दीपेन्द्र गौचनले फरक शैलीको कथ्य शैली अपनाउने प्रयास गरे यो फिल्ममा। एकै जनरामा नअड्किई उनले एकै फिल्ममा रोमान्टिक, सस्पेन्स अनि थ्रिलर तीनै जनराका थिमहरू मिसाएर फिल्म निर्माण गरे।

‘उजेली’ हेरेका  उमेर समूहका दर्शकमाझ निर्देशक ध्यान तान्न सफल भए। ‘उजेली’बारे थाहै नभएका दर्शकलाई उनले ट्रेलरमार्फत इन्गेज गराए। तर उजेलीको ब्रान्ड अनि ट्रेलरले निर्माण गरेको कुतुहलता हलमा पुग्दा कायम राख्न राख्न सकेनन् निर्देशकले।

काठमाडौँबाट हराएर मधेस पुगेकी एक पात्रमार्फत उनले मधेस र पहाडबीच कायम विभेदको कथालाई पर्दामा देखाउने प्रयास गरे। तर कथा भन्दाभन्दै निर्देशक कता अलमलिए कता। फिल्ममा केटी भन्दा बढी कथा पो हरायो। लामो समयको ग्यापपछि नेपाली कला क्षेत्रमा भएको कमब्याक उत्साहजनक बन्न सकेन दीपेन्द्रको।

निर्देशकले माओवादीले सिरहाको लहानमा मधेसमुलका विद्यार्थी नेताको हत्याबाट सुरु भएको सम्प्रदायकी दंगाको प्रभावमा परेका पहाडवासी अनि उनीहरूको पक्षमा उभिएका मधेसवासीले भोग्नुपरेको दुखको फ्रेममा प्रेम र सस्पेन्सको कथा मिसाएका छन् फिल्ममा।

मधेस र पहाडीयाबीचको विभेदको कथा भन्न निर्देशकले पहाडी मूलकी जेसी (सृष्टि श्रेष्ठ) र मधेसमुलका रामवरण (नाजिर हुसेन) पात्र निर्माण गरेका छन्। नाजिरका साथीहरूसँग पहाडे युवतीसँग प्रेमिल तस्बिर खिच्ने चुनौती पाउँछ। डेटिङ एप मार्फत यी दुवैको भेट हुन्छ। नाजिर साथीहरूसँग राखेको बाजी जित्न सृष्टिसँग प्रेमिल तस्बिर खिच्न कफीमा निन्द्रा लाग्ने औषधी मिसाइदिन्छन्।

तर ट्याब्लेटको मात्रा धेरै हुँदा उनी लामो समय बेहोस हुन्छिन्। त्यो आपतबाट जोगिन नाजिर सृष्टिलाई लिएर जनकपुर पुग्छन्। यता सृष्टि हराइन् भन्दै उनको परिवार खोज्न थाल्छ। त्यसपछि निर्माण हुन ट्विस्ट र टर्न नै फिल्मको मूल कथा हो यसको।

पहाडी र मधेशबीच अहिले पनि एक खालको विभेदको रेखा कायमै छ। मधेसको भन्नासाथ नेपालीभन्दा पनि भारतीय नागरिक ठान्ने क्रम मधेस आन्दोलनपछि बढेको सामाजिक चेतले कम गराए पनि निमिट्यान्न भइसकेको छैन। त्यो हालै सम्पन्न नेपाल प्रिमियर लिगमा पनि देखियो नै। निर्देशक गौचनले २ घण्टा ४० मिनेट मार्फत यो भ्रम चिर्ने प्रयास गरेका छन्।

निर्देशकले फिल्ममा मधेसमा रहेको नेपालीपन र नेपाली मनलाई देखाउने प्रयास गरेका छन्। प्रेममा मिसाएको सस्पेन्सको प्लटहरूले अब के हुन्छ भनेर दर्शकमा केही हदसम्म कुतुहलता निर्माण गर्न निर्देशक सफल देखिए।

प्राय नेपाली फिल्महरूमा पहाड अनि हिमालका लोकेसनले स्थान पाउँदै आएका छन्। मधेसको लोकेसन समेटिए पनि त्यो मनै लोभ्याउने हदको देखिएको थिएन। यो फिल्मले मधेसको सुन्दरता मज्जाले देखाएको छ। अहो! मधेसमा पनि यति सुन्दर लोकेसन छ र भन्ने तहको मिहेनत देखिन्छ।

फिल्म सुरु भएको आधा घण्टा दर्शकहरू मज्जाले इन्गेज हुन्छन्। तर त्यसपछि कथाको लय बरालिन थाल्छ। सृष्टिलाई मधेस पूर्याएर बन्धक बनाएपछिका दृश्यहरूमा कथाले लिक छाड्न थाल्छ। परिस्थितिवश फसेका नाजिरले आफू उम्कन गरेका प्रयासका दृश्यहरू रोचक हैन बोझिलो बन्न थाल्छन्। यो विन्दुमा पुगेर निर्देशक कथा अगाडि बढाउन अलमलिन थाल्छन्। अनि दृश्यहरू अनावश्यक रूपमा तन्काउनतिर लाग्छन्। यो समस्या ब्रेक हुन्न, अन्तिम दृश्यसम्म फिल्मको कथा लिक बाहिरै दौडिन्छ।

परालको कुन्यूमा सुतेका नाजिर र सृष्टिको गन्थनै १० मिनेट लामो छ। त्यसले न फिल्मलाई बलियो बनाएको छ न त दर्शकलाई नै इन्गेज गराएको छ। यसमा मजाले कैँची चलाउन सक्ने ठाउँ टन्नै देखियो।

यता सृष्टि हराएको भन्दै उनको परिवार र दाइ खोज्नतिर लागेको प्रसङ्ग छुस्स एक भिडियोकलमै अटाएका छन्। यसले कुन प्लटलाई कति समय दिने भन्नेमा निर्देशकको आइडिया नै हराएको देखियो।

हराएकी सृष्टिलाई खोज्न उनको परिवारले के-के प्रयास गरे, फिल्ममा देखिन्न। न त प्रहरी निरीक्षक रहेका उनका दाइले हराएकी बहिनी खोज्न गरेको प्रयासले नै फिल्ममा पर्याप्त स्थान पाएको छ। निर्देशक यो प्लटलाई अलपत्र छाडेर दुई मुख्य पात्रलाई घरी जनकपुरको रेलतिर घुमाउनतिर केन्द्रित हुन्छन् त घरी बजारमा। रेलमा नाजिर र प्रहरी पात्रबीच पेस्तोल ताकाताक गरेको दृश्य ट्रेलरसम्म काम लागेको देखियो। त्यसले फिल्मको कथालाई बलियो बनाउन सकेको छैन।

कलाकारको छनोटमा भने निर्देशकले मिहिनेत गरेको देखिन्छ। नाजिरले आफ्नो क्यारेक्टरमा न्याय गरेका छन्। सृष्टिले क्यारेक्टर सुहाउँदो अभिनय गरेकी छिन्। संवादमा भने अझै उनले मिहेनत गर्नुपर्ने देखिन्छ। जनकपुर घरमा पुगेपछि नाजिरको साथी बनेर अभिनय गरेका विलासको अभिनय अब्बल छ।

फिल्मको छायाङ्कन राम्रो देखिन्छ। फिल्मका गीतहरू भने ठिकठिकै। ब्याकग्राउण्ड म्युजिक मध्यम। मेकअप, लाईटिङमा समस्या देखिँदैन।

पहाड र मधेस भनेको फरक भूगोल भए पनि मन फरक छैन भन्ने सन्देश दिन निर्देशक सफल भए पनि कथा अनुसार पटकथा कसिलो बनाउन सकेनन् निर्देशकले। दुई मिनेटको भिडियोमा दर्शक अड्काउन हम्मे भइसकेको अवस्थामा एउटै सिक्वेन्सको, विना अर्थको सिन देखाएको देखायै गर्दा दर्शक हलमा कसरी टिक्न सक्नु!

काठमाडौँबाट मधेस पुगेकी युवतीको अनुभव अनि यता छोरी/बहिनी हराई भनेर खोज्नतिर लागेको परिवारको कथा संयुक्त रूपमा भन्ने प्रयास गरेको देखिन्छ। मधेस पुगी पहाडी मूलकी युवतीको अनुभव र भावलाई केही हदसम्म समेट्न सके पनि निर्देशकले हराएको छोरी अनि बहिनी खोज्न केटीको परिवारले गरेको प्रयास देखाउन अल्छी गरे।

पात्रको चरित्र स्थापित गर्न निर्देशक हतारिएको देखियो। क्लाइमेक्स सहमत हुनसक्ने देखिँदैन। अनि फिल्ममा केटी हैन कथा नै हरायो। 

माघ १३, २०८१ आइतबार १९:३३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।