नेप्से १०.४१ अंक घट्दा कारोबार रकम नौ अर्ब नाघ्यो
काठमाडौँ : साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेर बजार बन्द भए पनि कारोबार रकम भने बढेर ९ अर्ब नाघ्यो।
आइतबार बजार घट्दा नेप्से २६४३ अंकमा झरेको छ। बिहीबार ७ अर्ब ८५ करोडको कारोबार भएर बजार बन्द भएकोमा साताको पहिलो दिन आइतबार बजार बढेर ९ अर्ब १२ करोडको कारोबार भयो।
आइतबार १ सय १६ कम्पनीको मूल्य बढेको थियो भने १ सय २१ कम्पनीको मूल्य घटेको थियो। ६ वटा कम्पनीको मूल्य स्थिर रह्यो।
बैङ्किङ ०.८९, होटल तथा पर्यटन ०.२७, लगानी ०.५०, जीवन बीमा ०.६१, उत्पादन १.६६, निर्जीवन बीमा ०.६७ तथा व्यापार समूहको मुल्य ०.७५ प्रतिशतले घट्यो। आइतबार सेन्सेटिभ इन्डेक्स ३.२० अंक घट्दा फ्लोट इन्डेक्स ०.७४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८८ अंक घट्यो।
आइतबार सबैभन्दा धेरै फाइनान्स सेक्टरको मूल्य घट्यो। यो सेक्टरको सेयर मूल्य ४.७४ प्रतिशत घट्यो। विकास बैंक ०.५९, हाइड्रोपावर ०.५४, माइक्रोफाइनान्स ०.७५ र अन्यको मूल्य ०.०३ प्रतिशतले बढेका थिए।
आइतबार कारोबारमा आएकाहरूमध्ये उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य १० प्रतिशतले बढेको थियो। कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, आरम्भ चौतारी लघुवित्तको ९.६८, सिक्लेस हाइड्रोपावरको ८.६ प्रतिशत बढ्यो।
बोटलर्स नेपाल बालाजु, दोल्ती पावर, जानाकी फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत घट्यो। नेपाल हाइड्रो डेभलपरको ८.६०, नेपाल फाइनान्सको ८.२१, समृद्धि फाइनान्सको ७.९३ प्रतिशत मूल्य घटेर बजार बन्द भएको थियो।
कारोबार रकमका आधारमा सप्तकोसी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रह्यो। बैंकको ३९ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ३८ करोडको शेयर खरिदबिक्री भयो भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको करिब ३६ करोडको शेयर किनबेच भयो।
माघ १३, २०८१ आइतबार १५:४७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।