अख्तियार आयुक्त डा. सुमित्रा अमात्यले सार्वजनिक जग्गा मिचेको उच्चको ठहर, ललितपुर महानगरको निर्णय कानूनसम्मत भएको ठहर
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त सुमित्रा अमात्यले गुठीको जग्गामा पर्खाल लगाएको उच्च अदालतले ठहर गरेको छ। ललितपुर महानगरले गुठीको जग्गा मिचेर पर्खाल लगाएको भन्दै भत्काएको थियो।
उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन प्रसाद आर्चायका अनुसार उच्च अदालत पाटनमा परेको रिटमा न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र कैलाश सुवेदीको संयुक्त इजलासले महानगरको पक्षमा फैसला गरेको हो।
अमात्य समुदायको कुल पूजा रहेको उक्त गुठीको जग्गा सुमित्रा दम्पतीले हड्पेको भन्दै महानगरले अतिक्रमित भूभागको भौतिक संरचना भत्काएको थियो। पछि अमात्यले बलमिच्याईँ गर्दै पुन पर्खाल लगाएकी थिइन्।
सार्वजनिक सम्पत्तिको जग्गा मिचेको भन्दै स्थानीयले ललितपुर महानगरमा २०८० माघ ५ मा उजुरी गरेका थिए। महानगरले दुबैपक्षसँग छलफल समेत गरेको थियो। महानगरले अमात्य दम्पतीले गुठीको जग्गा मिचेको निष्कर्ष निकाल्दै महानगर टोलीले गत असार १९ मा ललितपुर १० चाकुपाटमा रहेको अमात्यको घरको पर्खाल भत्काएको थियो।
पर्खाल भत्काएको भोलीपल्ट अमात्य दम्पतीले मेयर चिरिबाबु महर्जन, नगर प्रहरी प्रमुख सिताराम हाछेथु विरुद्ध मुद्दा दायर गरेका थिए। मुद्दा दायरपछि अमात्य दम्पतीको घर कम्पाउन्ड नभत्काउन अन्तरिम आदेश दिएकोमा गत बुधवार अमात्य दम्पतीको रिट खारेज गरेर महानगरकै निर्णयलाई अदालतले सदर गरेको हो। अदालतको फैसला आएसँगै अब महानगरलाई मिचिएको भूभाग खालि गर्ने कानुनी बाटो खुलेको छ।
सम्बन्धित समाचार
माघ १३, २०८१ आइतबार १५:३४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।