पाथीभरामा केबलकारको विरोध गर्ने पहिचान पक्षधरमाथि प्रहरीले गोली चलायो, पाँच जना घाइते
काठमाडौं : ताप्लेजुङको पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन्। आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ।
प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका यमबहादुर लिम्बू र धर्मान पालुङ्वाको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो।
हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केबलकार निर्माण योजना अघि बढाएको हो। गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरू भएको हो।
पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन्। शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोको दाबी छ।
अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ।
माघ १३, २०८१ आइतबार ०७:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।