उकेरा टप फाइभ : डा. विजयको उपचार अनुभवदेखि कर्णालीको स्थानीय सेवा ऐन विवादसम्म
काठमाडौं : एपीएफले महिला प्रधानमन्त्री कपको उपाधि जितेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्यमा एपीएफले १२.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।
प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी आदानप्रदान कार्यक्रम अन्तर्गत चार जना इजरायली महिला बन्धकलाई रिहा गरेको छ। बन्धकहरूलाई सुपुर्दगी गरिएको गाजाको एक चोकमा रेडक्रसका चारवटा गाडीमा इजरायलतर्फबाट करिब २०० प्यालेष्टिनीलाई ल्याई उनीहरू र चार इजरायली बन्धक महिलाको आदानप्रदान गरे। इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतनका लागि सरकारी सहायता रोक्न कार्यकारी आदेश जारी गरेका छन्। गर्भपतनका लागि सरकारी सहायतासम्बन्धी प्रावधानहरूलाई हाइड संशोधन भनिन्छ। यो पहिलो पटक सन् १९८० मा लागू भएको थियो। तर, त्यसयता यसमा धेरै सुधारहरू भएका छन्। पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कानुन खारेज गर्ने प्रयास गरे पनि उनी असफल भएका थिए।
अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार
अनमोल केसीलाई लिएर निर्माता रोहित अधिकारीले फिल्म ‘फर्की फर्की’ बनाए। करोडौंको लगानी गरि बनाएको लभस्टोरी फिल्मले लगानी समेत उठाउन सकेन। फिल्ममा मुख्य कलाकारको रूपमा अनमोल केसी थिए भने उनको जोडी जसिता गुरुङ थिइन्। सो फिल्म सुपर फ्लप भएपछि निर्माता अधिकारीले तीन कलाकार केदार घिमिरे (माग्ने बुढा), प्रकाश सपूत र धिरज मगरलाई राखेर फिल्म ‘माइतीघर’ घोषणा गरे। उपसनासिंह ठकुरी र दिकिला शेर्पा समेत अनुबन्ध भएको फिल्म आगामी वर्ष दशैंको फूलपातीमा रिलिज हुने गरी मितिसमेत तोके उनले।
धेरै कलाकार लिएर बनाइएको ‘छ माया छपक्कै’ हिट र अनमोललाई मात्र लिएर बनाएको फिल्म ‘फर्की फर्की’ फ्लप भएपछि उनी अहिले एउटा मात्रै कलाकारलाई भरोसा नगरी समूहमै कलाकार लिएर फिल्म बनाउनतर्फ लागेका छन्।
पूरा समाचार: ‘स्टार’का फिल्म फ्लप भएपछि कलाकारको समूह बटुल्दै निर्माता
डा. विजय उपाध्याय जनरल सर्जन हुन्। काठमाडौं उपत्यका बाहिर बसेर काम गरिरहेका उनले त्यहाँका बिरामीको समस्या तथा पीर मर्का नजिकबाट देखेका छन्। उनै डा. विजयले उकेरासँग चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव सुनाए :
पूरा समाचार: डा. विजयको उपचार अनुभव : पैसा नहुँदा आन्द्रा कुहिएर मृत्युको मुखमा पुगेका एक पुरुषलाई बचाउँदाको खुसी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा राजीवकुमार झाको काज फिर्ता गरायो। मधेस प्रदेशको स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा झाको निर्णय विवादमा परेपछि केन्द्रको स्वास्थ्य सचिवको निर्णयमा केन्द्रमा रहेका झालाई कोशी अस्पतालमा पठाइयो।
उनी काजमा कोशीबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा गएका थिए। केन्द्रले अगाडि बढाएको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेपछि प्रदेश स्वास्थ्य मन्त्रालयले खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दियो। माघ ७ मा निर्देशन गएको देखिन्छ। त्यसको चार दिनपछि संघीय स्वास्थ्य मन्त्रालयले केन्द्रका निर्देशक डा. झाको काज फिर्ता गरेर कोशी अस्पताल पठाएको हो।
पूरा समाचार: मधेस प्रदेशको स्वास्थ्य उपकरण खरिदमा संघीय सचिवको एक्सन, स्वास्थ्य सेवा विभागमा भएको मिलेमतोमा मौन
२०८१ असोज २९ गते कर्णाली प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ल्यायो। प्रदेशभित्रका स्थानीय तहबाट हुने सेवा प्रवाहका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्दै सेवालाई सक्षम, सुदृढ, उत्तरदायी, व्यावसायिक, निष्पक्ष र प्रभावकारी बनाउने भन्दै ल्याइएको उक्त ऐनप्रति अहिले कर्मचारीले असन्तुष्टि मात्रै जनाइरहेका छैनन्, संशोधनको माग समेत गरेका छन्।
असोज २९ गते जारी ऐनअनुसार प्रदेश मन्त्रिपरिषद्ले पुस १९ गते नियमावली स्वीकृत गरी कार्यान्वयनका लागि स्थानीय तहलाई निर्देशन दिएको थियो। तर, कर्मचारी नै असन्तुष्ट हुँदा ऐन कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ।
पूरा समाचार: कार्यान्वयन नहुँदै कर्णालीको स्थानीय सेवा ऐन विवादमा, संशोधन नगरे आन्दोलनमा उत्रिने कर्मचारीको चेतावनी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विभिन्न मुलुकलाई उपलब्ध गराउँदै आएको सहयोग रोक्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले अरू देशमा दिइँदै आएको सहायता रोकेको बीबीसीले जनाएको छ।
बीबीसी अनुसार ट्रम्पले यो व्यवस्थासहितको आदेश सोमबार जारी गरेका थिए। अमेरिकी अधिकारी र दूतावासहरूलाई पठाइएको मेमो (पत्र)अनुसार अमेरिकाको विदेश विभागले यसअघि विदेशमा गरिरहेको सहयोग रोकेको छ।
पूरा समाचार: विश्वको सबैभन्दा ठूलो दाता मुलुक अमेरिकाले नै विदेशमा दिइने सबै सहायता रोकेपछि...
माघ १२, २०८१ शनिबार २१:४७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।