विगतमा हामीमा धुलो लागेकै हो, अब सच्चिनु पर्छ : प्रचण्ड

विगतमा हामीमा धुलो लागेकै हो, अब सच्चिनु पर्छ : प्रचण्ड

दाङ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेता तथा कार्यकर्ताहरूलाई जनतासँगै खट्न निर्देशन दिएका छन्।  

माओवादी केन्द्र घोराहीको नगर अधिवेशन उद्घाटन तथा जिल्लास्तरीय पार्टी प्रशिक्षणलाई आज घोराहीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले विगतमा सत्तामा जाँदा सहिद, बेपत्ता तथा घाइते परिवारसँग सम्बन्ध टुटेको, जनतासँग पनि सम्बन्ध पनि टुटेको उल्लेख गर्दै विगतको गल्ती सच्याउन निर्देशन दिए। 

'विगतमा हामीमा धुलो लागेकै हो। अब हामी सच्चिनु पर्छ, सच्चिएर जनताको सेवामा लाग्नुपर्छ, उनले भने। 

अहिले आफूले देशव्यापी रुपमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरिरहेको तथा जनताको घरदैलोमा पुग्ने गरेको भन्दै सबै नेता तथा कार्यकर्ताहरू यसरी नै जनताको घर-घरमा जान निर्देशन दिए। 

उनले प्राप्त उपलब्धिहरूलाई रक्षा गर्नु अहिलेको आवश्यकता भएको भन्दै उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेको बताए। यसको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन हुन सक्ने भन्दै त्यसका लागि तयार हुनुपर्ने उनको भनाई छ।   

माघ १२, २०८१ शनिबार २१:३०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।