यता न उता भएका वामदेवको गुनासो 'एमालेले मलाई साह्रै हल्का रूपमा लियो, माओवादीमा जाने सम्भावना पनि छ'
काठमाडौं : राष्ट्रिय एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले एमालेले आफूलाई साह्रै हल्का रूपमा लिएको बताएका छन्।
पछिल्लो समय एकीकृत समाजवादीमा जान अध्यक्ष माधव नेपालसँग पटक-पटक छलफल गरेका गौतमले एक्कासि उक्त वार्ता टुङ्ग्याइदिए। त्यसपछि एमालेमा जान हतारिएका उनलाई भित्र्याउन एमाले पनि तयार नहुँदा नेता गौतम अलमलमा देखिएका हुन्।
एमाले सचिवालय बैठकले उनलाई दिन पद नै नभएको भन्दै तत्काल पार्टीमा भित्र्याउन नसक्ने निष्कर्ष निकालेपछि उनी यता न उताको भएका छन्।
पछिल्लोपटक विभिन्न मिडियाहरूमा उनले एमालेले आफ्नो महत्व नबुझेको भन्दै गुनासो गरेका छन्।
'एमालेले मलाई साह्रै हल्कारूपमा लियो। मेरो महत्त्व बुझेन। अब अगाडि कसरी जाने भन्नेमा विचार गर्नुपर्छ, उनले भनेका छन्।
एमालेले वास्ता नगरेपछि आफूले पनि थप चासो नदिएको भन्दै उनले थपे, 'किनभने छर्लंगै भइसकेपछि थप कोट्याउन किन जाने र? उहाँहरूले सम्मान गर्नुहुन्न, आवश्यकता महसुस गर्नुहुन्न भन्ने कुरा प्रष्टै भयो।'
माओवादीमा जाने सम्भावना छ? भन्ने प्रश्नमा उनले भनेका छन्, 'किन नहुनू! माओवादी भन्ने नाम मात्रै हट्यो भने समस्या छैन। नेकपा कालमा हामीले जे गरेका थियौँ, त्यही शैली अपनाइए सम्भावना छ।'
माघ १२, २०८१ शनिबार १९:२५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।