विश्वको सबैभन्दा ठूलो दाता मुलुक अमेरिकाले नै विदेशमा दिइने सबै सहायता रोकेपछि...

विश्वको सबैभन्दा ठूलो दाता मुलुक अमेरिकाले नै विदेशमा दिइने सबै सहायता रोकेपछि...

एजेन्सी : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विभिन्न मुलुकलाई उपलब्ध गराउँदै आएको सहयोग रोक्ने निर्णय गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले अरू देशमा दिइँदै आएको सहायता रोकेको बीबीसीले जनाएको छ। 

बीबीसी अनुसार ट्रम्पले यो व्यवस्थासहितको आदेश सोमबार जारी गरेका थिए। अमेरिकी अधिकारी र दूतावासहरूलाई पठाइएको मेमो (पत्र)अनुसार अमेरिकाको विदेश विभागले यसअघि विदेशमा गरिरहेको सहयोग रोकेको छ।

‘लिक’ भएको यो सूचनामा परराष्ट्र नीतिको समीक्षा अवधिसम्म ९० दिनका निम्ति विदेशमा दिइने सबै प्रकारका सहायतामा प्रतिबन्ध लगाइएको छ।

अमेरिका विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता मुलुक हो। सन् २०२३ को सरकारी तथ्यांकअनुसार अमेरिकाले विदेशी सहायतामा ६८ अर्ब डलर खर्च गर्छ।

अमेरिकी विदेश मन्त्रालयको यो सूचना विकास कार्यदेखि सैन्य क्षेत्रसम्म सबै ठाउँमा लागु हुनेछ। उक्त मेमोमा अपवादका रूपमा आपत्कालीन खाद्य सहायता, इजरायल र इजिप्टलाई दिइने सैन्य सहायता यसमा पर्दैन।

मेमोमा के छ?
उक्त मेमोमा कर्मचारीलाई निर्देशन दिँदै भनिएको छ, 'प्रत्येक प्रस्तावित नयाँ सहायता वा हाल कायम रहेका सहायताको थप विस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ सहायता वा विद्यमान सहायताहरूको विस्तारका लागि कुनै पनि नयाँ कोष बाध्य हुने छैनन्।'

त्यसमा अमेरिकी अधिकारीहरूलाई सहायाताबारे 'समीक्षापछि विदेशमन्त्रीले निर्धारण गरेको समयसम्मका लागि सम्बन्धित सहायता अघि बढाउने सबै कार्यहरू तत्काल रोक्न' पनि निर्देशन दिइएको छ।

उक्त पत्रमा सबै वैदेशिक सहायताबारे व्यापक रूपमा ८५ दिनभित्र समीक्षा गरेर त्यसले राष्ट्रपति ट्रम्पका विदेश नीतिसम्बन्धी लक्ष्य पूर्ति गर्ने सुनिश्चित गर्न निर्देशन दिइएको छ। 

माघ १२, २०८१ शनिबार १६:१६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।