कांग्रेसको नेपाल स्टार्टअप र एसएमई सम्मेलनको तयारी सकियो, ६ हजा बढी सहभागी हुने
ललितपुर : नेपाली कांग्रेस पार्टी उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले यही माघ १६ देखि आयोजना गर्न लागेको ‘नेपाल स्टार्टअप र एसएमई सम्मेलन २०२५’ को तयारी अन्तिम चरणमा पुगेको छ।
शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय ललितपुरस्थित सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने र देशको आर्थिक रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले सानेपामा ‘नेपाल स्टार्टअप र एसएमई सम्मेलन २०२५’ आयोजना गर्न लागेको जानकारी दिइयो।
दुई दिने सम्मेलनको औपचारिक उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन्।
कांग्रेस केन्द्रीय सदस्य एवं विभागकी प्रमुख उर्मिला थपलियाले उद्यमशीलता क्षेत्रमा नयाँ उर्जा भर्ने र देशको आर्थिक रुपान्तरणमा योगदान दिनका लागि एउटै छानामुनि कार्यक्रम गर्न लागेको जानकारी दिइन्।
उनले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भन्ने गुनासोलाई सम्बोधन गर्न सम्मेलन प्रभावकारी हुने दावी गरिन्।
उनले भनिन्, ‘डिजिटल अर्थतन्त्रको विकास, महिला एवं युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न साथै पार्टीलाई युवामैत्री र उद्यमशीलतामा अग्रसर बनाउन सम्मेलन उपयोगी हुनेछ।’
पार्टी प्रचार विभागका गोपाल झाले सम्मेलनले गाउँ गाउँका उद्यमीहरुलाई पार्टीसँग जोड्न मद्दत पुग्ने बताए।
सम्मेलनमा उत्पादित वस्तुहरूको प्रदर्शनी एवं विभिन्न विषयबस्तुमाथि प्यानल डिस्कस हुने विभागमा सचिव खगेन्द्र आचार्यले जानकारी दिए।
सम्मेलनमा ८० भन्दा बढी स्टार्टअप र एसएमइहरूको प्रदर्शनीः नवप्रवर्तन र सेवाहरूको अवलोकन गर्दै सहभागीहरूले नयाँ व्यवसायीक सम्भावनाहरू पत्ता लगाउने अपेक्षा गरिएको छ।
सम्मेलनमा ६ हजार भन्दा बढी सहभागीहरूः युवा उद्यमीहरू, नीति निर्माता, उद्योगपति, लगानीकर्ता, र प्राविधिक विशेषज्ञहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताइएको छ।
थिमेटिक प्यानल छलफलहरूमा नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता, र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष छलफल हुने जानकारी गराइयो।
सम्मेलनमा पूर्वगर्भनर चिरन्जिवी नेपाल, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योगी विधुषी राणा, शोभा ज्ञवाली, निर्वाण चौधरी, प्राध्यापक डाक्टर भीम श्रेष्ठ, प्राडा महानन्द चालिसे, उद्योगी अम्बिका पौडेल, एनआरएनए अभियन्ता रविना थापालगायतका डेढ दर्जनबढी विशिष्ट व्यक्तिहरूले सम्मेलनको प्यानल डिस्कसनमा सहभागिता जनाउनेछन्।
माघ १२, २०८१ शनिबार १६:०६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।