‘स्टार’का फिल्म फ्लप भएपछि कलाकारको समूह बटुल्दै निर्माता
काठमाडौं : अनमोल केसीलाई लिएर निर्माता रोहित अधिकारीले फिल्म ‘फर्की फर्की’ बनाए। करोडौंको लगानी गरि बनाएको लभस्टोरी फिल्मले लगानी समेत उठाउन सकेन। फिल्ममा मुख्य कलाकारको रूपमा अनमोल केसी थिए भने उनको जोडी जसिता गुरुङ थिइन्।
सो फिल्म सुपर फ्लप भएपछि निर्माता अधिकारीले तीन कलाकार केदार घिमिरे (माग्ने बुढा), प्रकाश सपूत र धिरज मगरलाई राखेर फिल्म ‘माइतीघर’ घोषणा गरे। उपसनासिंह ठकुरी र दिकिला शेर्पा समेत अनुबन्ध भएको फिल्म आगामी वर्ष दशैंको फूलपातीमा रिलिज हुने गरी मितिसमेत तोके उनले।
सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले दशैंको फूलपातीकै दिन फिल्म प्रदर्शन गर्ने अड्डी कसेका छन्। उनले एक शो मात्र पाए पनि सोही दिन फिल्म लगाउने भनेर राखेको फेसबुक पोस्ट अहिले फिल्म वृत्तमा बहसको विषय बनेको छ।
धेरै कलाकार लिएर बनाइएको ‘छ माया छपक्कै’ हिट र अनमोललाई मात्र लिएर बनाएको फिल्म ‘फर्की फर्की’ फ्लप भएपछि उनी अहिले एउटा मात्रै कलाकारलाई भरोसा नगरी समूहमै कलाकार लिएर फिल्म बनाउनतर्फ लागेका छन्।
उनी मात्र होइन, अर्का निर्देशक दिनेश राउतले पनि आधा दर्जन चलेका कलाकार राखेर फिल्म ‘महाभोज’को निर्माण थालेका छन्। आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, प्रशान्त ताम्राकारदेखि पछिल्लो समयकी चलेकी नायिका अञ्जना बराइलीका साथै सहायक कलाकारहरु पनि तगडा नै छन्।
यसअघि पनि निर्देशक राउतले चर्चित कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह र अन्जना बराइलीलाई लिएर फिल्म ‘पुजार सार्की’ निर्माण गरेका थिए। गत जेठमा प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा पनि राम्रै कमाइ गर्यो।
यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टरः टेक वान’ पनि चर्चित कलाकारले भरिएको छ। फिल्ममा प्रदीप खड्का, राजवल्लभ कोइराला, निश्चल बस्नेत, आना शर्मादेखि दिदिप रायमाझीको छोरी दिव्या पनि छिन्। पछिल्लो समय ब्याक टु ब्याक फिल्म प्रदर्शन हुँदा दिव्याको व्यस्तता बढेको देखिन्छ।
यता फिल्म ‘ऐचोपैचो’बाट निर्माण तथा निर्देशकमा हात हालेकी कृषा चौलागाईले एक्सन जनराको फिल्म ‘पिताम्बर’ निर्माण गरेकी छन्, जसमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्लका साथमा अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्टसम्मले अभिनय गरेका छन्।
उनीहरुको साथमा कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारहरूको समेत फिल्ममा अभिनय छ। जम्बो र स्टार कलाकारको टोलीले फिल्मको छायांकन ७० दिनमा सकेको थियो।
१० वर्षदेखि नेपालमा स्टार छैनन्
पछिल्लो समय रिलिज भएका फिल्महरूमध्ये पूर्णबहादुरको सारङ्गी मात्र त्यस्तो चलचित्र हो, जो चर्चित भनिएका कलाकार बेगर नै मज्जाले व्यापार गर्यो। यो अपवाद थियो। त्यसबाहेक एक वा दुई जना चर्चित कलाकार भएको फिल्म चलेको छैन।
पुस २८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कार्साङ’लाई हेर्ने हो भने त्यहाँ चलेका दुई कलाकार छन्। दयाहाङ राई डिमाण्डेट अभिनेता हुन् भने जितु नेपाल पनि कम चर्चित होइनन्। कार्साङले हलमा केही दर्शकलाई होल्ड गरे पनि आशातित व्यापार गर्न सकेन।
यद्यपि उनीहरूले एकल अभिनय गरेको फिल्मको तुलनामा भने ‘कार्साङ’को व्यापारलाई सन्तोषजनक नै मान्न सकिन्छ। गत दशैंमा प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’ विवादका कारण चले पनि त्यसअघिका जितुले सिंगल अभिनय गरेको फिल्म ‘ह्यारी कि प्यारी’ सुपर फ्लप भयो। यद्यपि उनैले समूहका कलाकारहरुसँग अभिनय गरेको ‘छक्का पञ्जा’का सिरिज र ‘रामकहानी’ भने राम्रैसँग चल्यो।
शुक्रबारबाट हलमा लागेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’लाई दर्शक पाउनै सकस परेको छ। हिजोबाट हलमा लागेको यो फिल्मलाई काठमाडौंका केही हलबाहेक फिल्ममा दर्शक लैजान अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई मुस्किल परिरहेको छ। उनीहरू एक साताअघिबाट फिल्म प्रचारमा लागेका थिए। तर, सोचे जस्तो परिणाम हिजो र आज देखिएको छैन।
एउटा मात्र कलाकारलाई केन्द्रमा राखेर बनाएको अपवाद बाहेकका फिल्म चल्न छोडेपछि आजकल निर्माता र निर्देशकहरू आजकल कलाकारको समूह नै लिएर फिल्म बनाउन थालेका छन्।
नेपाली फिल्म क्षेत्रमा स्टार कलाकार नभएका कारण एक जना चर्चित कलाकारको अनुहार पोस्टरमा राख्दा फिल्म नचलेको तर्क गर्छिन् निर्मात्री तथा नायिका रेखा थापा। कलाकारको टाउको पोस्टरमा राख्दा सिनेमाघर भरिएको देखेकी उनलाई लाग्छ पछिल्लो १० वर्षदेखि नेपाल फिल्म क्षेत्रमा स्टार हिरो वा हिरोइन् नै छैनन्।
‘फिल्म क्षेत्रमा स्टार हुन्थे त पोस्टरमा उनको टाउको राखेकै भरमा सिनेमा हल हाउसफुल हुन्थे,’ उनी भन्छिन्, ‘दश वर्षदेखि नेपाली फिल्म इन्ड्रष्ट्रीमा स्टार हिरो हिरोइन् छैनन्। राम्रा कलाकारको जम्बो टोलीलाई लिएर फिल्म बनाउने लहर देखिन्छ। यद्यपि कन्टेन्ट बलियो हुनैपर्छ।’
उनी अगाडि थप्छिन्, ‘समूह कलाकारलाई लिएर बनेका फिल्म भन्दा स्टार भनिएका हिरोहरूको बक्स अफिस रेकर्ड एकदमै कम छ। त्यसमा केही अपवाद रहे होलान्। त्यसैले पनि निर्माताहरु कलाकारको जम्बो टोली लिएर फिल्म निर्माणमा लागेका हुन्।’
गतवर्ष फागुनमा ‘उपहार’ प्रदर्शनमा ल्याएकी रेखाको उक्त फिल्म व्यावसायिक रुपमा असफल बन्यो। फिल्ममा थापाका अलावा पूजा शर्मा, मुकुन भुसाल लगायतका कलाकारको अभिनय थियो।
माघ १२, २०८१ शनिबार १३:००:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।