डा. विजयको उपचार अनुभव : पैसा नहुँदा आन्द्रा कुहिएर मृत्युको मुखमा पुगेका एक पुरुषलाई बचाउँदाको खुसी
डा. विजय उपाध्याय जनरल सर्जन हुन्। काठमाडौं उपत्यका बाहिर बसेर काम गरिरहेका उनले त्यहाँका बिरामीको समस्या तथा पीर मर्का नजिकबाट देखेका छन्। उनै डा. विजयले उकेरासँग चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव सुनाए :
OOO
विजय घरको जेठा छोरा। ‘जेठो छोरा डाक्टर नै बनोस्’ भन्ने विजयका बुबाको सपना थियो। तर, प्लसटु अघिसम्म उनलाई डाक्टर बन्ने इच्छा नै थिएन। बुवासँग विजय भन्थे, ‘म डाक्टर बन्दै बन्दिनँ।’
उनलाई त प्लसटुपछि अमेरिका जाने इच्छा थियो। बुवाले डाक्टर पढ्न धेरै अनुरोध गरे। बुवाको अनुरोधपछि उनी विदेशमा गएर डाक्टर पढ्न राजी भए। त्यही अनुसार उनले तयारी पनि गरे।
विजयका बुवा शिक्षक। त्यसैले उनलाई सानैबाट घरमा पढ्ने लेख्ने राम्रो वातावरण थियो। कपिलवस्तुको कृष्णनगरमा २०४० मा जन्मिएका उनले एसएलसीपछि काठमाडौंबाट प्लसटु गरे अनि सन् २००४ मा चीनमा गएर एमबीबीएस अध्ययन गरे।
त्यहाँबाट फर्केपछि हालको बुटवल प्रादेशिक अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पतालमा इन्टर्नसिप गरे। सन् २००९ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।
एमबीबीएस अध्ययनपछि डा. विजय नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा पुगेर मेडिकल अधिकृतका रूपमा काम गर्न थाले। त्यहाँ उनले करिब डेढ वर्ष काम गरे। त्यो बेलासम्म उनको विवाह भइसकेको थियो।
डा. विजयलाई थप अध्ययन गर्नु छँदै थियो। उनले चीनमा नै गएर थप अध्ययन गर्ने निर्णय गरे। उनलाई शल्य चिकित्सा विषय नै अध्ययन गर्न मन थियो। उनले चीनको ‘डाली युनिभर्सिटी’मा इच्छा अनुसारकै विषय अध्ययन गर्ने मौका पाए। त्यो पनि छात्रवृत्ति कोटामा।
त्यसैले डा. विजय चिकित्सा शास्त्रको स्नातकोत्तर तहको ‘जनरल सर्जरी’ विषयमा ‘एमएस’ अध्ययनका लागि सन् २०१२ मा चीन पुगे। एमएस अध्ययनका लागि श्रीमतीको सहयोग निक्कै महत्वपूर्ण भयो। किनभने उनकी श्रीमतीले घर परिवार धानेकाले नै एमएस गर्न सम्भव भएको उनले सुनाए।
सन् २०१५ मा चीनबाट तीन वर्षे एमएस अध्ययन सकेर उनी नेपाल फर्किए। नेपाल फर्किएपछि डा. विजयले करिब एक वर्ष भैरहवाको एक निजी अस्पतालमा काम गरे। त्यसपछि उनी हालको लुम्बिनी प्रदेश अन्तर्गतको बर्दिया अस्पताल पुगे। आठ वर्षयता उनी बर्दिया अस्पतालमा नै कार्यरत छन्।
त्यतिबेला डा. सुभाष भर्खर बर्दिया अस्पतालका प्रमुख भएका थिए। अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पूर्वाधार तथा स्रोत साधनको खासै व्यवस्थापन थिएन। राम्रो स्रोत साधन नभए शल्यक्रिया गर्न सम्भव पनि थिएन।
तर, बिस्तारै शल्यक्रियाका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन हुँदै गयो। अनि उनले त्यहाँ शल्यक्रिया सुरू गरे। सुरूमा हाइड्रोशिल लगायतका शल्यक्रिया गर्न थालियो। अहिले पनि हाइड्रोशिलको शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको ठूलै चाप बर्दिया अस्पतालमा हुने गरेको उनले सुनाए। आवश्यक स्रोत साधन जुट्दै गएपछि जटिल किसिमका शल्यक्रिया गर्न पनि थालियो।
पैसा नहुँदा आन्द्रा कुहिएर मृत्युको मुखमा पुगेका ती पुरूषलाई बचाएपछि...
बर्दिया अस्पतालमा शल्यक्रिया सुरू भएपछि बिरामीहरूलाई पनि ‘यहाँ शल्यक्रिया हुन्छ’ भनेर थाहा हुँदै गयो। बर्दिया अस्पतालमा शल्यक्रिया सुरू गर्दा एक जना बिरामीको शल्यक्रिया गरेको एउटा घटना कहिल्यै भुल्दैनन्, डा. विजय। घटना करिब सात वर्षअघिको हो। उनी त्यहाँ काम गर्न थालेको केही महिना मात्रै भएको थियो।
करिब ५६ वर्षका थारू समुदायका एक जना पुरूषलाई उपचारको लागि बर्दिया अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो। ती पुरूषको उपचारका लागि उनकी श्रीमती पनि अस्पताल पुगेकी थिइन्।
डा. विजयले अस्पतालमा पुर्याएका ती पुरूषको हर्नियाको समस्या भएका कारण आन्द्रा नै सडिसकेको थाहा पाए। उनको तुरुन्तै शल्यक्रिया गरी सडेको आन्द्रा काटेर फालेर आन्द्रा जोड्नुपर्ने अवस्था थियो।
तर, बर्दिया अस्पतालमा उनको शल्यक्रिया गर्नका लागि आवश्यक स्रोत साधनको राम्रो व्यवस्थापन थिएन। त्यसैले त्यहाँ शल्यक्रिया गरेर पनि बचाउन निक्कै जोखिम थियो। त्यसपछि उनले ती पुरूषलाई अन्यत्र रेफर गर्ने विचार गरे।
तर, ती पुरूषको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो। उनले राम्रोसँग शरीर ढाक्ने एकसरो लुगा पनि लगाएका थिएनन्। उनको एक्लो सन्तान छोराको पनि एक वर्षअघि मिर्गौलामा समस्या भएका कारण मृत्यु भएको रहेछ।
अलि-अलि भएको सम्पत्ति पनि छोराको उपचारमा सकिसकेको थियो। त्यसैले ती पुरूषलाई अन्यत्र रेफर गर्दा जान सक्ने अवस्था थिएन। अन्यत्र रेफर गरेको खण्डमा ती पुरूष अन्य अस्पतालमा नगइ मृत्यु कुर्न विवश हुने जोखिम उनले देखे। उनका छिमेकीले पनि ‘जे गर्नुपर्छ यहीँ गरि दिनुहोस्, अरू उपाय छैन’ भन्दै अनुरोध गर्न थाले।
त्यसपछि अस्पताल निर्देशकसँग बिरामीको अवस्था र शल्यक्रिया गर्दा हुने जोखिम लगायतका विषयमा डा. विजयले छलफल गरे। चिकित्सकको टिमबीचको छलफलपछि विजयले जोखिम मोलेरै भए पनि ती पुरूषको शल्यक्रिया गर्ने निर्णय गरे।
अनि उनले ती पुरूषको शल्यक्रियाका लागि सबै तयारी गरे। त्यसपछि उनले ती पुरूषलाई शल्यक्रिया कक्षमा लगे। बिरामीलाई बेहोस बनाइयो अनि डा. विजयले शल्यक्रिया थाले। पेट खोले। पेट खोल्दा त हर्निया भएर आन्द्रा नै कुहिएको देखियो। उनले आन्द्रा काटेर निकाले अनि राम्रो आन्द्रा जोडे।
चिकित्सकको टिमको केही घण्टाको अथक मेहनतपछि शल्यक्रिया सफल भयो। त्यसपछि बिरामीलाई होसमा फर्काइयो। अनि पोष्ट अपरेटिभ वार्डमा राखियो। ती बिरामीको ज्यान बाँच्यो। बिरामी सामान्य अवस्थामा फर्कँदै गए। करिब डेढ हप्ताको अस्पताल बसाइपछि उनको ज्यान बचाएर डिस्चार्जको तयारी गरियो। त्यसबेला ती पुरूष ज्यान बचाइदिन डाक्टरप्रति साह्रै खुसी भए।
पढलेख नगरेका देखिने ती पुरूष शब्दले ज्यान बचाइदिने चिकित्सकलाई धन्यवाद भन्न त जान्दैन थिए। तर, उनका अनुहारको हाउभाउले हेर्दा ज्यान बचाइदिने चिकित्सकप्रति कृतज्ञ भएको प्रष्टै देखिन्थ्यो। ती पुरुषकी श्रीमती पनि श्रीमानको ज्यान बचाइदिने चिकित्सकप्रति कम्ता खुसी भइनन्। श्रीमानको ज्यान बाँचेपछि श्रीमान्-श्रीमती दुवै अस्पतालबाट घर लागे।
ती पुरूष अहिले पनि डा. विजयलाई भेट्न अस्पताल पुग्छन्। अनि स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन्छन्। तर, ती पुरूष उनलाई भेट्न अस्पताल जाँदा प्रायः खाली हात पुग्दैनन्। केही न केही कोशेली लिएरै अस्पताल पुग्छन्। कहिले घ्यू घिउ, कहिले मह अनि मौसम अनुसारका फलफूल तथा तरकारी कोसेली बोकेर उनी डा. विजयलाई भेट्न जान्छन्। सप्रेम ल्याइदिएको कोसेली डा. विजय पनि स्वीकार्छन्। ती पुरूषको स्वास्थ्य अहिले सामान्य अवस्थामा रहेको उनले सुनाए।
टीबी भएकी १३ वर्षीया बालिकालाई बचाएको त्यो प्रसङ्ग
प्रसङ्ग केही महिनाअघिको हो। बेलुकीको समय थियो। डा. विजय ड्युटी सकेर घर फर्कने तयारीमा थिए।
अस्पतालमा करिब १३ वर्षकी एक जना बालिकालाई उपचारका लागि आकस्मिक कक्षमा पुर्याइएछ। घर निस्कन लागेका डा. विजयलाई ड्युटीका स्वास्थ्यकर्मीले फोन गरेपछि उनी फेरि आकस्मिक कक्षमा पुगे। आकस्मिक कक्षमा पुग्दा त सानी बिरामी छोरी बोकेर बुवाआमा रोइरहेका थिए। बालिका लल्याकलुलुक थिइन्। अवस्था नाजुक भइसकेको थियो।
बालिकाको स्वास्थ्य अवस्था यति जटिल थियो की, त्यहाँ स्रोत र साधन लगायतको कमीका कारण शल्यक्रिया गर्नै जोखिम थियो। अन्यत्र सुविधायुक्त अस्पतालमा रेफर गर्नुपर्ने अवस्था थियो। त्यसैले ती बिरामी बालिका बुवाआमालाई उनले ‘कति पैसा छ?’ भनेर सोधे।
जवाफमा उनले ‘पाँच सय’ मात्रै भएको बताए। त्यसपछि उनले अन्यत्र रेफर गरेको अवस्थामा पैसाकै अभावले बिरामीलाई अस्पतालमा उपचार गर्न नलगि घर फर्काउन सक्ने जोखिम देखियो।
त्यसैले डा. विजयले जोखिम मोलेरै भए पनि बर्दिया अस्पतालमा नै ती बालिकाको शल्यक्रिया गर्ने निर्णय गरे। शल्यक्रियाका लागि उनले तयारीपछि ती बालिकालाई शल्यक्रिया कक्षमा लगे अनि शल्यक्रिया थाले। बालिकाको एपेन्डिक्स फुटेको अवस्थामा थियो। उनले ती बालिकाको पेटबाट करिब डेढ लिटर पिप निकाले। उनले पेटबाट पिप बाहिर जाने पाइप राखिदिए। शल्यक्रिया सफल भयो।
तर, शल्यक्रियापछि ती बालिकाको स्वास्थ्यमा जटिलता देखा पर्यो। पेटमा राखिएको पाइपबाट पिप आइ नै रह्यो। त्यसैले उनले थप खोजबिन गरे अनि बायोप्सीमा टीबी (ट्युबरकोलोसिस)को परीक्षण गरियो। ती बालिकालाई टीबी नै भएको पुष्टि भयो। टीबीकै समस्याका कारण आन्द्रामा एपेन्डिसाइटीसको समस्या भएको पुष्टि भयो। जसले गर्दा आन्द्रामा टीबी फैलिएको रहेछ। अनि टीबीको औषधि सुरू भयो।
अस्पतालमा छोरीको उपचारका लागि बुवा बसे। बिरामीलाई त अस्पतालमा खाने व्यवस्था भयो। तर, कुरुवाको लागि त्यो व्यवस्था थिएन। बुवाले खानको लागि भने एक पैसा नै थिएन। त्यसैले ती बालिकाका बुवालाई अस्पतालमा नै करिब सात सय पाउने गरी अफिस साफ सफाइ गर्ने गरी ज्यालादारी काम दिएर पैसा दिइयो। अनि ती बालिकाका बुवाको पनि खाने व्यवस्था भयो।
करिब आठ दिन यसरी नै ती बालिकाका बुवालाई समेत ज्यालादारीमा काममा लगाएर पैसा दिएको उनले सुनाए। आठ दिनको अस्पताल बसाइपछि ती बालिकालाई ज्यान बचाएर डिस्चार्ज गरेको उनले सुनाए। बालिकाले टीबीको नौ महिनाको औषधि खाएर आउँदा त बालिका हृष्टपुष्ट देखिइन्। बालिकाको रोग निर्मूल भयो। यसरी रोगको पहिचान गरेर बालिकाको ज्यान बचाउन सफल भएको त्यो प्रसङ्ग सम्झँदा डा. विजयलाई आनन्द लाग्छ।
माघ १२, २०८१ शनिबार १८:४१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।