कोशी र मधेशको पूर्वी क्षेत्रमा शीतलहर, पूरै तराईमा हुस्सु र कुहिरो
काठमाडौं : हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।
शनिबार विहान मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भू-भागमा मन्द शीतलहर चलिरहेको छ। बाँकी तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ।
देशका पहाडी र हिमाली भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले २ दिनदेखि देशका तराई क्षेत्रमा दिनभर नै हुस्सु र कुहिरो लागिरहेको र यो क्रम माघ १३ गते (आइतबार) सम्म जारी रहने सम्भावना देखिएको जनाएको छ।
घाम नलागेर दिनभरिनै शीतलहर र हुस्सु/कुहिरोको कारण चिसो बढ्दा तराई मधेशको जनजीवन कष्टकर बनेको छ।
विभागले शुक्रबार शीतलहरसम्बन्धी विशेष बुलेटिन जारी गरी माघ ९ गतेदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा दिनभरि हुस्सु र कुहिरो लागिरहेको जानकारी दिएको छ।
महाशाखाले आज बिहान छ बजे जारी गरेको बुलेटिनमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ।
माघ १२, २०८१ शनिबार ०७:२४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।