बेस्ट एक्टरबारे अभिनेता सुशीलको आफ्नै व्याख्या ‘जो राम्रो झुट बोल्छ त्यो नै बेष्ट एक्टर’
काठमाडौँ : बेस्ट एक्टर भनेको के हो? धेरैले भन्न सक्छन् ‘जसले राम्रो अभिनय गर्छन् उही।’ हुनुपर्ने पनि यही हो।
तर नेपालको कला क्षेत्र अलि भिन्न छ। यहाँ जसले बढी हल्ला गर्न सक्छ उही बेस्ट भन्नेजस्तो देखिन्छ। झुर फिल्मलाई ब्लकबस्टर हुन्छ भन्नु सामान्य नै हो। अभिनय नै गर्न नजान्ने कलाकारलाई अब्बल भनिदिनेहरू पनि टन्नै छन् नेपाली कला क्षेत्रमा।
अभिनेता सुशील सिटौलाले एक कार्यक्रममा यही सत्य बोले। बिहीबार पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले जसले बढी झुट बोल्न सक्यो उहीँ बेष्ट कलाकार हुने बताए।
‘हामी कहीँ कतै झुट बोलिरहेकै हुन्छौँ,’उनले भने,‘त्यो झुट बोल्नेक्रममा जसले राम्रो झुट बोल्न जान्दछ त्यो नै बेष्ट एक्टर हो।’
कार्यक्रम थियो रिलिज अगाडि नै विवादले घेरिएको फिल्म एक्टर : टेकवानको। थिम पोस्टर ठ्याक्कै जवानबाट कपी गरेपछि प्रारम्भमै यो फिल्म विवादमा तानिएको थियो।
सुशीलले अभिनय गरेका अधिकांश फिल्म राम्रा छन्। दर्शकले उनको अभिनयको प्रशंसा पनि गर्छन्। तर त्यो अनुसार उनको अभिनय यात्राले रफ्तार लिएको देखिँदैन।
फिल्म ‘होस्टल रिटर्न्स’,‘सुन्तलीलाई भगाइलग्यो झिल्केले’‘गाजाबाजा’,‘ऐचोपैचो’ मा उनले गरेको अभिनय अर्ग्यानिक देखिन्छ। त्यो यात्रा ‘एक्टर : टेक वान’सम्म आइपुगेको छ।
उनी फिल्ममा त छन् तर प्रचारमा उनले कमै स्थान पाइरहेका छन्। प्रचारको केन्द्रमा छन् प्रदीप खड्का। उनले जुन अभिनय क्षमता देखाएका छन् त्यो रूपमा मिडियाले पनि उनलाई स्पेस दिएको देखिँदैन।
सायद त्यही भएर हो कि उनले बेस्ट एक्टर हुन राम्रो अभिनय भन्दा झुट बोल्नुपर्ने भन्दै व्यङ्ग्य हाने।
माघ ११, २०८१ शुक्रबार २२:०८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।