मधेस प्रदेशको स्वास्थ्य उपकरण खरिदमा संघीय सचिवको एक्सन, स्वास्थ्य सेवा विभागमा भएको मिलेमतोमा मौन
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा राजीवकुमार झाको काज फिर्ता गरायो। मधेस प्रदेशको स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा झाको निर्णय विवादमा परेपछि केन्द्रको स्वास्थ्य सचिवको निर्णयमा केन्द्रमा रहेका झालाई कोशी अस्पतालमा पठाइयो।
उनी काजमा कोशीबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा गएका थिए। केन्द्रले अगाडि बढाएको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेपछि प्रदेश स्वास्थ्य मन्त्रालयले खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दियो। माघ ७ मा निर्देशन गएको देखिन्छ। त्यसको चार दिनपछि संघीय स्वास्थ्य मन्त्रालयले केन्द्रका निर्देशक डा. झाको काज फिर्ता गरेर कोशी अस्पताल पठाएको हो।
यस अगाडि नै मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सेमि अटोमेटेड फ्लोरोमिटर’को टेन्डर स्थगित गर्न मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको देखिन्छ।
माघ सात गते मधेस प्रदेश, स्वास्थ्य तथा जनसंख्यामन्त्री स्तरीय निर्णयबाट टेन्डर स्थगित गर्ने निर्णय भएको देखिन्छ। उकेराले प्राप्त गरेको पत्रमा सो टेन्डरसँग सम्बन्धित सबै कागजात मन्त्रालयमा पठाउन निर्देशन समेत दिइएको छ।
प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले सन् २०२४ डिसेम्बर २९ मा खरिद सम्बन्धी प्रकाशन गरेको ठेक्का (आइएफबी) नम्बर ‘एमपी-पीएचएलएमसी-एनसीबी-गुड्स-१२-२०८१-०८२’ को प्रक्रिया एवं टेक्निकल स्पेशिफिकेशन सम्बन्धी उजुरी परेको भन्दै मन्त्रीस्तरीय निर्णय गरेर टेन्डर प्रक्रिया स्थगित गर्न निर्देशन दिइएको पत्रमा उल्लेख छ।
स्थगित भएको टेन्डरको नाम ‘दी प्रकुप्मेन्ट एन्ड डेलिभरी अफ सेमी–अटोमेटेड फ्लोरोमिटर (प्रिनेटल एन्ड न्यूबर्न बेबी स्कृनिङ)’ उल्लेख छ।
मधेस प्रदेश स्वास्थ्य मन्त्रालयले ‘सेमि अटोमेटेड फ्लोरोमिटर’को टेन्डर स्थगित गर्न निर्देशन दिएको चार दिनमा माघ ११ गते प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. झालाई काज फिर्ता गरिएको देखिन्छ।
सङ्घ अन्तर्गतका कर्मचारी डा. झालाई (संघीय) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विराटनगरको कोशी अस्पतालमा काज फिर्ता गरिएको उकेराले प्राप्त गरेको पत्रमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालयले डा. झालाई काज फिर्ता गरेको पत्रमा,‘सचिवस्तरको २०८१ माघ ११ को निर्णयअनुसार तपाईँलाई पदाधिकार रहेको कार्यालय कोशी अस्पताल, विराटनगरमा काज फिर्ता गरिएको’ उल्लेख छ।
प्रदेशको बदमासी देख्ने मन्त्रालय विभागको बदमासीमा मौन
प्रदेशमा पुगेका कर्मचारीलाई काज फिर्ता गर्न सक्ने स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले आव्हान गरेको १८ करोडको तीन टेन्डरमा मिलेमतोमा भएको सेटिङका प्रमाण सार्वजनिक हुँदा समेत मौन देखिन्छ।
यसबारे उकेराले सप्रमाण समाचार सम्प्रेषण गरिरहेको छ। विभागले तीन वटा मेसिन तथा स्वास्थ्य उपकरण खरिद गर्न सार्वजनिक गरेको टेन्डरका प्रावधान र मापदण्डहरू निश्चित कम्पनीको उत्पादक मेसिनसँग मिल्ने गरी मिलेमतोमा बनाएर टेन्डर प्रक्रिया अगाडी बढाएका छन्।
यसमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको भूमिका शङ्कास्पद देखिन्छ। टेन्डरमा भएको मिलेमतोबारे उनी 'जानकार' छन्। तर छानबिनमा उनले चासो दिएका छैनन्। उनी मन्त्री भएपछिको सार्वजनिक अभिव्यक्तिहरूमा मन्त्रालयका अन्य समस्याबारे बोल्ने गरे पनि खरिद प्रणालीको बेतिथिबारे भने मौन देखिन्छन्।
खरिद मिलेमतोमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजंग रायमाझी, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति व्यवस्थापन शाखा (खरिद शाखा प्रमुख) दयाकृष्ण पन्तको प्रत्यक्ष भूमिका देखिन्छ।
टेन्डर कागजात बनाउने जिम्मेवारीमा रहेका दीपक अधिकारी अनि बायोमेडिकल इन्जिनियर आशिष चौहानको संलग्नता नभई स्पेशिफिकेशन लक्ड गर्न सम्भव हुन्न।
माघ ११, २०८१ शुक्रबार २१:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।