भारतको रेल दुर्घटनामा मारिने नेपालीको सङ्ख्या ७ पुग्यो, सरकारी राहत विज्ञप्तिमै सीमित
काठमाडौँ : भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा मारिने नेपाली नागरिकको सङ्ख्या सात पुगेको छ। माघ ९ मा भएको दुर्घटनामा सात नेपाली नागरिकसहित १२ जनाको मृत्यु भएको पुष्टि भएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार रेल दुर्घटनामा कमला, नवीन भण्डारी, छलिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र राधेश्याम राध नेपालीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका चार नेपालीहरूमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते एक जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको मन्त्रालयले शुक्रवार जानकारी दिएको हो।
दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको मन्त्रालयको दाबी छ।
माघ ११, २०८१ शुक्रबार २०:१९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।