जातका कुरा : जातीय विभेद गर्ने आफ्नै वडाध्यक्षलाई हिरासत पुर्‍याएकी हिम्मतिली मैँया

जातका कुरा : जातीय विभेद गर्ने आफ्नै वडाध्यक्षलाई हिरासत पुर्‍याएकी हिम्मतिली मैँया

पोखराको कास्कीकोटमा रहेको जुद्वकालिका मन्दिरमा २०६९ अघि दलितका लागि प्रवेश निषेध थियो। कास्कीकोटकै मैयाँ नेपाली आफ्ना साथीहरूसँग उक्त मन्दिर गइन्।

मैँयाले आफूहरूलाई टीका लगाइदिन आग्रह गर्दै निधार अघि लैजाँदा पूजारीले ‘तपाईंहरूलाई टीका फाल्दिने चलन छ, हामी छुदैनौँ’ भन्ने जवाफ दिए। त्यसपछि सार्वजनिक स्थानमा टीका नलगाइदिने कुरा ठीक भएन भनेर धेरै बेरसम्म छलफल गरिन् मैयाले।

तर, सबैले ‘उबेलादेखि चलिआएको चलन’ भनेपछि त्यहाँबाट निस्किइन् उनी। त्यसपछि मैँयालाई जुद्वकालिका मन्दिर जानै मन लाग्न छोड्यो। जुद्धकालिका छोडेर शिव मन्दिर जाँदा पनि उही नियति दोहोरियो।

सानैदेखि विभेद सहनुहुन्न भन्ने स्वभावकी मैयाँ अब तत्कालीन कास्कीकोट गाविस ८ नम्बर वडाको कार्यालय पुगिन्। वडा कार्यालयमा पुजारी सहित केही र मैँयासहित केही दलित अगुवा भेला भए। लामो छलफलपछि मन्दिर प्रवेशमा रोक नलगाउने सहमति भयो। पुजारीले माफी मागे। मैँयाले माफी दिइन्।

त्यसयता भने कास्कीकोटका मन्दिरहरूमा मैँया र उनको समुदायलाई रोकतोक छैन। तर, त्यो दिनलाई सम्झँदा मैँयालाई अझैसम्म पनि खल्लो लाग्छ। जातीय विभेद जस्तो क्रूर मानवीय अपराधको विषयमा सामान्य माफीको सजाय मात्र पर्याप्त छैन भन्ने उनलाई लागिरह्यो।

‘समाज रूपान्तरणका निम्ति मेलमिलाप मात्र पर्याप्त छ?, हामीलाई जातीय विभेद गर्नेहरूलाई माफी दिँदै जाने हो भने जातीय विभेद अन्त्य होला कि थप बढ्ला?’, उनलाई त्यो बेला यस्तै लाग्यो।

OOO

३८ वर्षअघि पोखराको हेम्जामा जन्मिएकी हुन् मैँया। विष्णुपादुका माविबाट २०६१ सालमा एसएलसी उतीर्ण गरेकी उनले पोखराको पृथ्वीनारायण क्याम्पसबाट २०६६ मा प्लस टु सकिन्। सोही क्याम्पसबाटै स्नातक पढ्न थालेकी उनको पढाइमा बीचमै अल्पविराम लाग्यो।

मैँयाको बाल्यकाल एक सामान्य दलित परिवारको भन्दा भिन्न रहेन। गाउँ, समाजमा भोग्नुपर्ने जातीय विभेदबाट अछुतो रहने कुरै भएन।

पैसा मात्रै भएर पनि हुँदैन, शिक्षा मात्र भएर पनि हुँदैन, समाज रूपान्तरणका लागि राजनीति नै गर्नुपर्छ भन्ने लागेपछि उनले २०७२ मा एमालेबाट औपचारिक राजनीति यात्रा सुरू गरिन्। औपचारिक यस मानेमा कि, उनी त्यसअघिदेखि नै राजनीतिक गतिविधिमा संलग्न भइरहेकै हुन्थिन्।

२०६२/६३ तिर, माओवादीले दलितका मुद्दा उठाएको देख्दा उनलाई लाग्थ्यो- माओवादी भनेका त हाम्रा भगवान् नै हुन्। २०५८ सालतिर त उनी माओवादीको सशस्त्र विद्रोहमा होमिनै खोजेकी थिइन्। तर, उनका बुवाले रोकेपछि जान पाइनन्। त्यही विन्दुबाट उनी राजनीति गर्नैपर्छ भन्ने निचोडमा पुगिन्।

उनकै शब्दमा भन्दा, ‘माओवादी जनयुद्धकै कारण राज्यको मूल प्रवाहमा आउन दलितहरूले राजनीति गर्नुपर्छ भन्ने चेत खुलाइदियो।’

२०७२ देखि एमालेको राजनीतिमा सक्रिय रहेकी उनी पार्टीभित्र पैसावाला हावी भएपछि छायाँमा परिन्। २०७४ को स्थानीय तह निर्वाचनमा चुनाव लड्न चाहेकी थिइन् उनले। तर, पार्टीले पत्याएन। कारण थियो- आर्थिक स्थिति।

२०७९ को निर्वाचन पनि उनलाई पछि पार्न खोजियो। तर, यसपटक उनको कठिन संघर्षले जित्यो र पोखरा उपमहानगरपालिका-२४ नम्बर वडाको सदस्यको टिकट पाइन् र जितिन्।

दलितहरूलाई जिम्मेवारी दिन नखोज्ने प्रवृत्ति सबै पार्टीमा भएकाले आफैंले खोसेर जिम्मेवारी लिनुपर्ने सुझाउँछिन् उनी। चुनाव जितेपछि पनि दलित जनप्रतिनिधि भएर अनेकन् विभेद भोग्नुपरेको तीतो अनुभव छ उनीसँग।

‘यिनीहरू दलितको कोटा पुर्याउन आएका हुन्, क्षमता केही हुन्न, पढेलेखेका हुँदैनन्, काम गर्न सक्दैनन्’ भन्ने चिन्तनले ग्रसित व्यक्तिहरूबाट विभेद भोग्नुपरेको बताउँछिन् उनी। त्यही चिन्तनका कारण दलितलाई महत्त्वपूर्ण जिम्मेवारी र स्थान नदिइएको लाग्छ उनलाई।

OOO

चुनाव जितेर आएको एक महिना पनि नपुग्दै विनियोजित बजेटबाट महिलाहरूको लागि एउटा कार्यक्रम गर्ने भनियो। तर, ठ्याक्कै यही गर्ने भन्नेबारे एकिन थिएन।

सचिवले भनेका थिए,‘वडा सदस्यहरूले आ-आफ्ना ठाउँका महिलाहरूलाई लिएर आउनुस् अनि उहाँहरूकै इच्छाअनुसार कार्यक्रम गरौँला।’

मैँयासहित सबै वडा सदस्यले महिलाहरू लगेर वडा कार्यालय गए। तर, वडाध्यक्ष भरतबहादुर अधिकारीले पहिल्यै कार्यक्रमको तय गरेर उद्घाटन गर्न लागिसकेका रहेछन्। त्यसपछि अन्य चार जना सदस्य र अध्यक्षबीच चर्चाचर्की नै पर्यो।

यत्तिकैमा मैँयाले भनिन्, ‘हामी झगडा नगरौँ, बैठक बसौँ अनि निर्णय गरौँ न!’

मैँयाको कुरा सुन्नेबित्तिकै अध्यक्ष अधिकारी रिसाए। गालीगलौचमा उत्रिएर जातसम्मै पुगे।

‘दलितको एउटा कोटा पूरा गर्न आको मान्छे, बढी जान्ने भएर किन बोल्ने? तपाईं नबोली बस्नुस्,’ अध्यक्ष अधिकारीको भनाई उद्धृत गर्दै मैँयाले उकेरासँग भनिन् , ‘दलित भनेको पहिला-पहिला हाम्रो घरमा जुठोपुरो खाएर हुर्केकाहरू हुन्। वडाको बजेट भनेको दलितहरूले भैँसीको सिनो भाग लगाएर खाएको जस्तो हो र?’

OOO

त्यसो त वडाध्यक्ष अधिकारी साइनोमा मैँयाका मित दाइ पर्छन्। तर, मैँयाले उनलाई दाइ सम्बोधन गरेको पटक्कै मन पर्दैन।

मैँयाले दाइ भन्नासाथ उनी ‘म कसरी तेरो दाइ हुनसक्छु, म बाहुन हुँ अनि तँ दलित होस्?’ भनेर जवाफ फर्काउने गरेको उनी बताउँछिन्।

मैँयाको दाबी अनुसार चुनाव अगाडि अधिकारी उनको घरमै गएर ‘हाम्रो पार्टी (कांग्रेस)बाट चुनाव लडिदिनुपर्यो बैनी’ भन्दै आग्रह गरेका थिए। तर, मैँयाले मानिनन्। त्यही दिनदेखि सम्बन्धमा  फाटो आएको उनको अनुभव रहेछ।

जनप्रतिनिधि भएपछिको पहिलो वर्षकै कुरा हो, राति पहिरोले बाटो अवरोध गर्यो। मैँयाको क्षेत्र पर्थ्यो त्यो। उनले वडाध्यक्षलाई फोन गरिन्, उनको फोन अफ थियो। 

त्यसपछि अर्की महिला सदस्यलाई सँगै लिएर उनीहरू दुवै जनाले डोजर बोलाए। अनि बाटो सफा गराए। भोलिपल्ट वडा कार्यालय गएर अध्यक्ष अधिकारीलाई अघिल्लो दिनको फेहरिस्त सुनाए।

तर अध्यक्षले झर्केर भने, ‘मलाई नसोधी किन काम गरेको?’

मैँयाले भनिन् , ‘हैन दाइ, तपाईंको फोन अफ भएर वडा सचिवलाई भनेर गरेका हौँ।’

अध्यक्ष अधिकारी फेरि झर्किए, ‘मलाई किन दाइ भनेको?’

मैँयाले नरम भएर भनिन्, ‘दाइ भनेकोमा सरी, अध्यक्षज्यू।’

आफूलाई दाइ भन्दा त्यत्रो आपत्ति जनाउनेले अरूलाई तथानाम जातीय गालीगलौच गर्दा किन नसोचेका होलान् भन्ने लागिरह्यो मैँयालाई।

त्यसपछि के भयो?

मैयाँ भन्छिन्, ‘वडा कार्यालयको घटनाबारे घरमा आएर श्रीमान्लाई सुनाएँ। भोलिपल्ट पार्टीको बैठक बस्यो। योभन्दा अगाडि पनि धेरै सहेँ अब सहन्न भनेँ। यदि सहनुपर्छ भन्नुहुन्छ भने म जनप्रतिनिधिबाट राजीनामा दिएर आफ्नो लडाइँ लड्छु भनेँ।’

त्यसपछि उनी मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवि गुरुङकहाँ गइन्। तर  दुबैले कुनै रेन्पोन्स गरेनन्। अनि बल्ल उनी जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी लिएर गइन्। तर दर्ता भएन। तीन पटकसम्म उनको उजुरी दर्ता भएन।

त्यसबीचमा पार्टीका नेताहरू, सामाजिक अगुवाहरू, प्रहरी-प्रशासन, अदालतका कानून व्यवसायी सबैले कानूनी झमेलामा नलाग्नु भनेर दबाब दिएकी उनले बताइन्। 

उनले भनिन्, ‘तपाईंको छोरीलाई खतरा हुनसक्छ, श्रीमान्लाई खतरा हुनसक्छ, यो मुद्दा जितिने मुद्दा पनि हैन, लड्न पनि धेरै पैसा लाग्छ भन्ने दबाब आउँथ्यो। पैसाको प्रलोभन आउँथ्यो- यति लिनुस्, मुद्दा छोडिदिनु भन्ने आउँथ्यो। मेलमिलाप गर्नुस् भनेर थुप्रै दबाब आएको थियो।’

अन्ततः चौथो दिनमा जाहेरी दर्ता भयो। त्यसपछि पनि फिर्ता लिन थुप्रै दबाब आएको र वडा सचिवले प्रमाणै मेटाइदिएको उनले बताइन्।

‘वडा कार्यालयको सभाहलमा भएको त्यो कार्यक्रमको सिसिटिभी फुटेछ डिलेट गरिदिनु भएछ। ७० जना बढी मान्छेहरूको अगाडि अध्यक्षले मलाई हातपात नै गर्न खोज्नुभएको प्रमाण थियो त्यो ’, उनले सम्झिइन्।

फेरि पनि मैँयाले हिम्मत हारिनन्। लडिरहिन्। अनि वडाध्यक्ष अधिकारी पक्राउ परे। एक वर्षपछि वडाध्यक्ष अधिकारीलाई कास्की जिल्ला अदालतले साढे ४ महिना कैद र ७५ हजार जरिवाना र १० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायो। जातीय विभेद विरुद्धको एउटा लडाइ स्थापित भयो।

तर, अध्यक्ष अधिकारी जेल चलान भएनन्। जिल्लाको फैसलाविरुद्ध उनले उच्चमा पुनरावेदन दिए। अहिलेसम्म पनि मुद्दा उच्चमा विचाराधीन छ। अधिकारी वडाध्यक्षकै रूपमा कार्यरत छन्। 

दलित मुक्ति आन्दोलनको एउटा हिस्सा बनेकी मैँयाले जातीय विभेद विरूद्व नेपालको न्याय प्रणाली फितलो भएको महसुस गरिन्। अहिलेसम्म पनि पार्टीकै मान्छेहरू लागेर यसलाई लम्ब्याउन खोजेको उनलाई आभास भइरहेको छ।

मुद्दा लडेपछि कस्तो परिवर्तन आए त मैयाको जीवनमा?

‘हिजो मलाई राम्रो भन्ने पार्टी पङ्क्तिबाट, साथीहरूबाट त्यो फैसलापछि ‘यसले यसो गर्छे’ भनेर अलि टाढिनुभएको छ। तर, त्यो कुराले म कत्ति पनि विचलित भएको छैन। अझै लडिरहन्छु’, उनको संकल्प छ।

जातका कुरा:-

माघ ११, २०८१ शुक्रबार १८:५२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।