अख्तियारलाई धरानका मेयरको ठट्यौली जवाफ- ‘उठ्ने बित्तिकै टोइलेट जानुपर्छ, पानी नभए के हुन्छ?’
काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफूविरुद्ध परेको उजुरीमा अख्तियारले सोधेको प्रश्नको ठठ्यौली शैलीमा जवाफ फर्काएका छन्।
नगरपालिकाको लेटरहेडमा लेखिएको जवाफमा राईले बोलीचालीको भाषामा ठट्यौली शैलीमा अख्तियारलाई जवाफ पठाएका हुन्।
माघ २ गतेको पत्रको जवाफ भन्दै साम्पाङले अख्तियारलाई पठाएको पत्रमा धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको जनाउँदै उनले नगरबासीलाई पानीको आपूर्ति गर्न सबैखाले विधि अपनाउने बताए।
‘बिहान उठ्ने बित्तिकै टोइलेट जानुपर्छ पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला,’ उनले अख्तियारलाई पठाएको पत्रमा लेखिएको छ, ‘केही छिनपछि भात पकाउनु परो। भात पकाउन पानी चाहिन्छ। भात खाएपछि हातमुख चुठ्नुपरो त्यसको लागि नि पानी चाहिन्छ। जुठोभाँडा लडाइराख्न मिलेन धुनै परो त्यसका लागि नि पानी नै चाहिन्छ।’
श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू निर्माण र सुम्निमा पारुहाङको मुर्ति निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै हर्कविरुद्ध परेको उजुरी अख्तियारले केही महिनायता केलाइरहेको छ।
कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट ल्याएकाे भन्दै आश्वासन र काजगको खोस्ट नचाहिएको उल्लेख गरेका छन्।
‘कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाँडा, झोर जङ्गल, खोला खोल्सी, उकाली ओराली, भंज्याङ चौतारी छिचोल्दै घुमाउँदै घुमाउँदै… घुमाउँदै घुमाउँदै … घुमाउँदै घुमाउँदै ….. घुमाउँदै घुमाउँदै लड्दै र पड्दै… तान्यो … तान्यो… एक्छिन है … बिस्तारै सुल्काउँ है … भन्दै… ओहोइ भनुं त… भन्दै घरी घरी नाच्दै र गाउँदै पनि… बिजोग रमाइलो गरी ल्याउँदैछौ है ल्याउँदैछौं। केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर बर्षो बिन्ति बिसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगेँ। जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ। आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के! त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौँ… खोइ कुरा बुझ्या!’, मेयर साम्पाङले लेखेका छन्।
तिर्खाएका मानिसहरूको श्राप लाग्ला भन्दै उनले थपेका छन्- ‘राज्यको ढुकुटी खर्चेर बनाएको मेलाम्ची, दमक टावर, ncell, widebody जस्ता कुरा नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरुको श्राप लाग्ला! पानी भनेको विकास होइन जीवनको आधार, मानिसको आधारभूत आवश्यकता हो। पानीमा राजनीति गर्नु हुँदैन। पानी माग्न जनता त्यता आउलान है फेरि!’
सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभएपछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरूको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलाइरहेको समेत बताएका छन्।
‘एक दिन आउनु है मुहानबाट धरानसम्म हिँड्दै-हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न! कम्ता रमाइलो छैन। त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो? कति दिन श्रमदान गयो? को हो त्यो? बुझेर लेखिपठाउनु होला। धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा?’
माघ ११, २०८१ शुक्रबार १६:४५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।