पोखरा भ्रमण वर्षको तयारी

पोखरा भ्रमण वर्षको तयारी

पोखरा : गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो। यो घोषणाले निकै चर्चा पायो- सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट।

उचित रणनीति, पूर्वाधार विकास र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भयो। तथापि, घोषणासँगै यस क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा महत्वपूर्ण फाइदाहरू लिने पर्यटन व्यवसायीहरूको विश्वास छ।

घोषणापश्चात् पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै स्थानीय अर्थतन्त्रमा वृद्धि, रोजगारीका अवसर सिर्जना र पूर्वाधार विकासको गति तीव्रसँगै यसले पर्यटकहरूलाई आकर्षित गर्दै स्थानीय कला, संस्कृति र प्राकृतिक सौन्दर्यको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास सरोकारवाला सबैमा रहेको पाइन्छ।

यतिबेला पोखरा महानगरपालिकाले अहिले पोखरा भ्रमण वर्ष २०२५ लाई भव्य रुपमा मनाउने तयारी गरिरहेको छ।

महानगरको नीति तथा कार्यक्रममा समेटेको भ्रमण वर्षलाई यही जनवरी महिनाको अन्तिम या फेब्रुअरीमा औपचारिक कार्यक्रम गरेर अघि बढाउने तयारी गरिरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए। उनले पोखरा भ्रमण वर्षलाई सफल बनाउन विशेष तयारीमा साथ लागिपरेको बताए।

‘पोखरा भ्रमण वर्ष २०२५ हाम्रो महानगरको पर्यटन क्षेत्रको उन्नति र प्रवद्र्धनका लागि कोसेढुङ्गा साबित हुने विश्वाससहित हामीले गृहकार्य थालेका छौँ, सफल बनाउँछौँ’, प्रमुख आचार्यले भने।

पोखरालाई उत्कृष्ट गन्तव्य बनाउनका लागि विभिन्न पर्यटकीय गतिविधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको उनको दाबी छ।

‘पोखराको पर्यटनलाई साँचो अर्थमा नयाँ उचाइमा पुर्याउनका लागि सबै पक्षको समन्वय र दीर्घकालीन दृष्टिकोण अपनाउनु पर्छ’, आचार्यले भने।

चीनले आफ्ना नागरिकका लागि नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र यसले नेपालको पर्यटन प्रवर्द्धनमा ऐतिहासिक भूमिका खेल्ने उनको विश्वास छ।

उनले थपे, ‘यो कदमले नेपाल र चीनबीचको मित्रता अझ सुमधुर बनाउनाका साथै पोखरालगायत नेपालको पर्यटकीय गन्तव्यलाई विश्वव्यापी रूपमा चिनाउने अवसर प्रदान गरेको छ।’

माघ ११, २०८१ शुक्रबार १६:१६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।