यु१९ महिला विश्वकपमा नेपालले मलेसियालाई हरायो, कप्तान पूजाको अलराउन्ड प्रदर्शन
काठमाडौं : कप्तान पुजा महतोको अलराउन्ड प्रदर्शनमा आईसीसी यु१९ महिला टी२० क्रिकेट विश्वकपको चौथो स्थानको प्लेअफ खेलमा मलेसियाविरुद्ध नेपाल सात विकेटले विजयी भएको छ।
४६ रनको लक्ष्य पछ्याएको नेपाल ११ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।
नेपालका लागि कप्तान पूजा महतोले ३२ बलमा चार चौकाको मद्दतमा २३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मलेसियाकी मार्स्या क्वन्टिना विन्टी अब्दुल्लाहले तीन विकेट लिइन्। मलेसियाका बलरले नौ रन अतिरिक्त दिए।
त्यसअघि मलेसियाको जोहर क्रिकेट एकेडेमीमा टस हारेर पहिला ब्याटिङमा तानिएको मलेसियाले १६.५ ओभरमा ४५ अलआउट हुँदै रन बनाउन सक्यो।
उसका लागि नुरिमान हिदायले १५ रन बनाउँदा बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि कप्तान महतोले चार विकेट लिँदा रचना चौधरीले तीन तथा सिमाना केसी र रिया शर्माले समान एक-एक विकेट हात पारिन्।
योसँगै जारी विश्वकपमा कप्तान महतो सबैभन्दा बढी विकेट लिने खेलाडी बनेकी छन्। उनले नौ विकेट लिएकी छन्।
बलिङमार्फत नेपाली खेलाडीले १० अतिरिक्त रन खर्चिए।
विश्वकपको समूह ‘डी’मा रहेको नेपाल बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग पराजित हुँदा सुपर सिक्स पुग्न सकेको थिएन।
उता समूह ‘ए’मा रहेको मलेसिया भने भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो।
माघ ११, २०८१ शुक्रबार १४:३०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।