नक्कली श्रेस्ता बनाई बैंकमा धितो राखेर ठगी, तीन जना पक्राउ

बाँके : नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गरेको आरोपमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१ घर भएका २२ वर्षीय गौरव कार्की, ३५ वर्षीया ईश्वरी माया रोका र बारा घर भएका ३५ वर्षीय दिलिप कुमार सिंह रहेका छन्।
डुडुवा गाउँपालिका-५ स्थित जुम्ला चन्दननाथ नगरपालिका-८ बस्ने पीडितको ३३ कठ्ठा जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाई मुक्तिनाथ विकास बैंक लिमिटेड लगनटोल काठमाडौंबाट १ करोड २० लाख रकम कर्जा लिई ठगी गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले काठमाडौंको बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
माघ ११, २०८१ शुक्रबार १३:४४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।