यु१९ महिला टी२० विश्वकपमा मलेसियाविरुद्ध नेपालले टस जित्यो

यु१९ महिला टी२० विश्वकपमा मलेसियाविरुद्ध नेपालले टस जित्यो

काठमाडौं : मलेसियामा जारी आईसीसी यु१९ महिला टी२० विश्वकपमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेको छ।

मलेसियाको जोहार क्रिकेट एकेडेमी मैदानमा नेपालकी कप्तान पूजा महतोले टस जितेर फिल्डिङ रोजेकी हुन्। नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए।

पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्।

विश्व कपको समूह ‘डी’ मा रहेको नेपालले स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो। उता, मलेसिया भने भारत, श्रीलंका र वेस्ट इण्डिजसँग पराजित भएको थियो।

मलेसिया र नेपाल यु १९ सन् २०२३ विश्व कपको एसिया छनोटमा एक पटक आमने सामने भएका छन्। त्यो भेटमा नेपाल २५ रनले विजयी भएको थियो।

बुधवार अस्ट्रेलियाविरुद्ध खेलेको नेपाली टोलीमा २ खेलाडी परिवर्तन गरिएको छ। तिर्सना विक र अनु कडायतको स्थानमा कुशुम गोदार र स्नेहा महराले मौका पाएका छन्।

माघ ११, २०८१ शुक्रबार १२:३५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।