यसरी घटाउन सकिन्छ चिकित्सक र बिरामीबीचको द्वन्द्व

यसरी घटाउन सकिन्छ चिकित्सक र बिरामीबीचको द्वन्द्व

सञ्चारमाध्यममा चिकित्सक र बिरामी पक्षको द्वन्द्वको खबर प्राय देखिरहन्छन्। बिरामीको मृत्युपछि उनका आफन्तले चिकित्सक र स्वास्थ्य संस्थामाथि आक्रमण भएको खबरलाई आजकल सर्वसाधारणले सामान्य मान्न थालिसके। यस्ता समाचारमा प्राय चिकित्सकलाई दोषारोपण गर्ने गरिन्छ।

चिकित्सक र बिरामी पक्षको द्वन्द्व चर्किरहेका बेलामा आज यो द्वन्द्वलाई घटाएर सहज तरिकाले कसरी उपचार गर्न सकिन्छ भन्नेबारे बहस आवश्यक भइसकेको छ। बिरामीको स्वास्थ्य सुधार तथा उपचार प्रक्रियाको प्रभावकारिताका लागि साझेदारी निर्णय (सेयर्ड डिसिजन मेकिङ) र प्रमाणमा आधारित निर्णय (इभिडेन्स बेस्ड डिसिजन मेकिङ) महत्त्वपूर्ण विषय हुन्।

चिकित्सकले यी दुई विषय अवलम्बन गरी उपचार प्रक्रिया अपनाउँदा एकातर्फ बिरामीको रोगको समस्या ठिक गर्न सहजता हुन्छ भने अर्कोतर्फ यस्ता उपयुक्त प्रक्रियाले बिरामी र स्वास्थ्यकर्मीबीचको सम्बन्धमा सुमधुरता मिल्छ।

साझेदारी र प्रमाणमा आधारित निर्णय
चिकित्सक र बिरामीबीचको पारस्परिक छलफल र सहमतिमा आधारित निर्णय प्रक्रियालाई साझेदारी निर्णय भनिन्छ। चिकित्सकले बिरामी तथा बिरामी पक्षको कुरा राम्रोसँग सुनि निर्णय लिँदा बिरामीलाई सर्वोत्तम हित हुन्छ। साझेदारी निर्णय प्रक्रियामा बिरामी तथा बिरामी पक्षलाई नै प्राथमिकतामा राखेर निर्णय गरिन्छ।

साझेदारी निर्णय र प्रमाणमा आधारित निर्णय बिरामी तथा बिरामी पक्षकै हितका लागि हो। तर, यी दुई बीचमा केही भिन्नता छन्। साझेदारी निर्णय प्रक्रियामा बिरामीसँगको छलफलपछि रोग निदानका लागि कस्तो विधि अपनाउने भन्नेजस्ता विषयमा निष्कर्षमा पुगिन्छ।

अर्कातर्फ प्रमाणमा आधारित निर्णय प्रक्रियामा वैज्ञानिक प्रमाण र चिकित्सकको अनुभवलाई मुख्य आधार मानिन्छ। यी दुवै प्रक्रिया बिरामीकै हितका लागि हुन्। चिकित्सक तथा स्वास्थ्यकर्मीले यी दुवैलाई सन्तुलित बनाएर विवेकशील ढङ्गले निर्णय गरे बिरामी तथा बिरामी पक्षले दुःख पाउने अवस्था अन्त्य हुन्छ।

साझेदारी निर्णय र प्रमाण-आधारित निर्णय गर्ने तरिका
साझेदारी निर्णय तथा प्रमाण-आधारित निर्णय गर्ने केही तरिका छन्। सबैभन्दा पहिले त एक चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामी तथा बिरामी पक्षका प्राथमिकता बुझ्नुपर्छ। यो पहिलो चरण हो। बिरामीको दीर्घकालीन स्वास्थ्य सुधार वा तात्कालिक लक्षण व्यवस्थापनजस्ता प्राथमिकताहरू पहिचान गर्नुपर्ने हुन्छ।

त्यसपछि बिरामीको स्वास्थ्य अवस्थाको सम्पूर्ण मूल्याङ्कन गरिन्छ। जसलाई चिकित्सकीय भाषामा ‘जैविक, सेरोलोजिकल, र मनोवैज्ञानिक पक्षहरूको मूल्याङ्कन’ भनिन्छ।

बिरामीको रोगको अवस्था, शारीरिक परीक्षण र प्रयोगशाला परीक्षण गर्ने जस्ता जैविक पक्षलाई ध्यान दिइन्छ।

रगत र अन्य जैविक परीक्षणहरूमार्फत रोगको विश्लेषण (सेरोलोजिकल) गर्ने काम गरिन्छ। त्यसैगरी बिरामीको मानसिक स्वास्थ्य, तनावको अवस्था, र मनोवैज्ञानिक आवश्यकताहरूजस्ता विषयलाई उत्तिकै ध्यान दिनुपर्ने हुन्छ।

चिकित्सकले प्रमाणमा आधारित वैज्ञानिक प्रमाणको प्रयोगजस्तो विषयलाई त पल-पल ध्यान दिनुपर्छ नै! चिकित्सकले विश्वसनीय अनुसन्धान, मार्गदर्शन (गाइडलाइन) र उपचार विधिका प्रभावकारी प्रमाणहरूलाई प्रयोग गरी उपचारको योजना तयार पारिन्छ।

चिकित्सकीय अनुभव तथा विशेषज्ञताको उचित उपयोगले उपचारको क्रममा आइपर्न सक्ने सम्भावित जोखिम र लाभको मूल्याङ्कन गर्न मद्दत गर्छ। बिरामी तथा बिरामी पक्षलाई उपचार तथा उपचारको विकल्प, सम्भावित जोखिम तथा लाभबारे प्रस्ट जानकारी दिनुपर्छ।

बिरामी तथा बिरामी पक्षको प्राथमिकता र चिकित्सकीय सुझावलाई समेट्दै साझा छलफलको आधारमा अन्तिम निर्णय गर्नु उचित हुन्छ। जसले गर्दा बिरामी तथा बिरामी पक्षलाई लाभ मिल्छ।

साझेदारी निर्णय र प्रमाण-आधारित निर्णय यसकारण महत्त्वपूर्ण
बिरामीलाई निर्णय प्रक्रियामा सहभागी गराउँदा उनीहरूले आफ्ना स्वास्थ्य अवस्थाका बारेमा थाहा पाउँछन् र त्यही अनुसार रोगको विषयमा सचेत पनि हुन्छन्।

व्यक्तिगत उपचारको सम्भावना प्रत्येक बिरामीको स्वास्थ्य अवस्था फरक हुने भएकाले बिरामीसँगको छलफल र प्रमाणमा आधारित निर्णय अनुसार बिरामीको उपचार प्रक्रिया अपनाउँदा बिरामीको व्यक्तिगत स्वास्थ्यमा थप लाभ मिल्न सहयोग मिल्छ।

वैज्ञानिक प्रमाण र व्यक्तिगत प्राथमिकतालाई ख्याल गर्दै उपचार प्रक्रिया अपनाएको खण्डमा व्यक्तिले गुणस्तरीय उपचार पाउन थप मद्दत मिल्छ। त्यसैगरी जैविक, सेरोलोजिकल, मनोवैज्ञानिक र वैज्ञानिक प्रमाणका आधारमा निर्णय गर्दा गलत उपचार विधि अपनाउने सम्भावना घट्छ।

निष्कर्ष
साझेदारी निर्णय र प्रमाण-आधारित निर्णयले समग्रमा स्वास्थ्य सेवा प्रणालीलाई बिरामी केन्द्रित हुन सहयोग मिल्छ। विज्ञानमा आधारित उपचारात्मक सेवाले बिरामी तथा बिरामी पक्षका लागि विश्वासयोग्य बनाउन समेत मद्दत मिल्छ।  यस प्रक्रियाले बिरामीलाई उपचार प्रक्रियामा सक्रिय सहभागी बनाउँदै उनीहरूको स्वास्थ्य सुधारमा दीर्घकालीन सकारात्मक प्रभाव पार्छ।

यस्ता कुशल विधि अपनाएर बिरामीको उपचार गरेको खण्डमा बिरामी र चिकित्सकको सम्बन्ध त सुधार हुन्छ नै, बिरामी तथा बिरामी पक्षले चिकित्सकहरूलाई हेर्ने दृष्टिकोणमा पनि फरक पर्छ।

साझेदारी निर्णय र प्रमाण-आधारित निर्णय प्रक्रिया अपनाई उपचार गर्दा चिकित्सकप्रति बिरामीको विस्वास पनि बढ्छ। द्वन्द्व पनि कम हुन्छ। समग्र उपचार सेवा पनि राम्रो हुन्छ।

(डा. गुरागाईं विराट मेडिकल कलेजका सामुदायिक चिकित्सा विभागका प्रमुख हुन्।)

माघ ११, २०८१ शुक्रबार १२:२७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।