‘लाज शरणम्’मा मोहम्मद आफताव आलमको अवतारमा देखिए सीताराम
काठमाडौं : फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टरमा अभिनेता सीताराम कट्टेल पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताव आलमको अवतारमा देखिएका छन्।
पोस्टरमा कमिज-सुरुवाल र ज्वारीकोटमा लगाएका उनले हात उठाएर अभिवादन गरिरहेका छन्। गेटअप र ड्रेसअप हेर्दा उनी ठ्याक्कै आलमकै भेषमा छन्।
बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेर मारेको अभियोगमा आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो।
यसका अलावा पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्य समेत देखिन्छ। यसले फिल्म राजनीतिक विषयवस्तुमा आधारित भएको बुझ्न सकिन्छ।
पोस्टरमा सीतारामको अलावा मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाल छन्।
फिल्ममा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायतको समेत अभिनय देख्न सकिन्छ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन्। फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन्।
‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने फिल्म हो।
माघ ११, २०८१ शुक्रबार ११:०७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।