नेपाल र अफगानिस्तानबीच एकदिवसीय क्रिकेट सिरिज हुने

नेपाल र अफगानिस्तानबीच एकदिवसीय क्रिकेट सिरिज हुने

काठमाडौं : नेपाल र अफगानिस्तानबीच एकदिवसीय सिरिज हुने भएको छ। अफगानिस्तान क्रिकेट बोर्डको आधिकारिक युट्युबले यसबारे आफ्नो भिडियोमा यसबारे जानकारी दिएको छ।

अफगानिस्तानको यु१९ टोलीले नेपाली टोलीसँग एकदिवसीय सिरिज खेल्न लागेको र त्यसपछि नेपालमै हुने यु१९ विश्वकपको क्वालिफायर्स खेल्ने उसको राखेको भिडियोको विवरणमा उल्लेख छ।

जसका लागि अफगानिस्तानको टोली पछिल्लो दुई सातादेखि अभ्यास गरिरहेको छ। सोही अभ्यासको भिडियो राख्दै त्यहाँको टोलीले यसबारे जानकारी दिएको हो।

क्लोज क्याम्पको युट्युब भिडियोको डिस्क्रिप्सनमा भनिएको छ, ‘यस क्याम्पको उद्देश्य नेपालविरुद्धको द्विपक्षीय युवा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र यस वर्षको अप्रिलमा नेपालमा आयोजना हुने आईसीसी यु१९ पुरुष क्रिकेट विश्वकप छनोट चरणको लागि टोलीलाई तयार गर्नु हो।’

नेपाल क्रिकेट संघ (क्यान)ले भने यसबारे अहिलेसम्म आधिकारिक घोषणा गरेको छैन। क्यानका प्रवक्ता छुम्बी लामाले खेल हुन लागेको पुष्टि गर्दै केही दिनमा यसको औपचारिक घोषणा हुनाे बताए।

‘विश्वकप छनोटअघि सिरिज हुन लागेको हो,’ उनले भने, ‘हामीले केही दिनमा यसको औपचारिक घोषणा गर्छौँ। कहाँ गर्ने भन्नेबारे टुङ्गो लागेको छैन। तर, नेपालमै गराउने तयारीमा हामी छौँ।’

यस वर्षको अप्रिल १२ देखि २१ सम्म नेपालमा आईसीसी यु१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोछ हुँदैछ। छनोटमा नेपाल र अफगानिस्तानसहित ओमान, युएई र हङकङ हुनेछन्। यसमध्ये एउटा टोलीले मात्रै विश्वकपमा स्थान बनाउनेछ।

यु१९ विश्वकप छनोटको तयारीका लागि भन्दै क्यानले ‘क्यान युथ कप’को घोषणा गरेको छ। जसका लागि ३६ खेलाडी छनोट गर्दै उनीहरूलाई रातो, नीलो र हरियो गरी तीन टोलीमा विभाजन गरेको छ।

यो टोलीबीच २८ जनवरीदेखि ४ फेब्रुअरीसम्म रुपन्देहीको तिलोत्तमामा रहेको एक्ट्राटेक ओभल क्रिकेट मैदानमा खेल हुनेछ।

माघ ११, २०८१ शुक्रबार ११:००:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।