क्यानडालाई अमेरिकाको ५१औ‍ं राज्य बनाउनेबारे फेरि बोले ट्रम्प

क्यानडालाई अमेरिकाको ५१औ‍ं राज्य बनाउनेबारे फेरि बोले ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने विषयमा फेरि बोलेका छन्।

क्यानडासँग अमेरिकाको ठूलो व्यापार घाटा रहेको भन्दै त्यसलाई सन्तुलनमा राख्नका लागि पनि कर थप्नुपर्ने भन्दै ट्रम्पले करबाट बच्नका लागि क्यानडा अमेरिकाको राज्य बन्नसक्ने बताएका हुन्।

‘हामीसँग क्यानडासँग ठूलो व्यापार घाटा छ। हामी यसलाई अब जारी राखिरहन सक्दैनौं,’ उनले भने, ‘मैले सधैँ भन्ने गरेको छु, क्यानडा हाम्रो राज्य बन्नसक्छ। त्यसो भएमा न त क्यानडाले करको मार खेप्नुपर्छ न त हामीले व्यापार घाटा।’

ट्रम्पले वर्षौंदेखि क्यानडासँग व्यवहार गर्न गाह्रो भएको बताए।

ट्रम्पले थपे, ‘२०० बिलियन डलर वा २५० बिलियन डलरको व्यापार घाटा सानो कुरा होइन। कार बनाउनका लागि हामीलाई उनीहरू (क्यानडा) चाहिँदैन। तेल र ग्यास पनि हामीसँग अरुको भन्दा बढी छ।’

ट्रम्पले राष्ट्रपति निर्वाचनपछि पटक-पटक क्यानडालाई अमेरिकाको ५१औं राज्य बनेमा ६० प्रतिशतभन्दा बढी कर कटौती हुने बताइरहेका छन्।

ट्रम्पले यसअघि नै जबसम्म अवैध आप्रवासीहरू र गैरकानूनी रूपमा निर्मित फेन्टानिलहरू अमेरिकी सीमाहरूबाट देशमा आउन बन्द गर्दैनन् तबसम्म क्यानडाबाट आउने सामानहरूमा २५ प्रतिशत कर लाग्ने बताएका थिए।

माघ ११, २०८१ शुक्रबार ०९:२६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।