रुपन्देही जिल्ला अदालतमा आज पनि रवि लामिछानेको थुनछेक बहस जारी रहने
काठमाडौं : बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने छ।
जिल्ला अदालत रुपन्देहीमा बिहीबार सरकारी वकिलहरूले ४ घण्टा बहस गरेका गरेका थिए। आज पनि सो क्रम जारी रहने र बाँकी रहेका वकिलहरूको बहसपछि रविको पक्षमा रहेका वकिलहरूले बहस गर्नेछन्।
न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा सहकारी पीडितको तर्फबाट आज शुक्रबार दुई जना कानुन व्यवसायीले बहस गर्नेछन्। शुक्रबार नै अभियुक्त रवि लामिछानेको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीले बहस गर्ने तयारी छ। दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुनेछ।
सरकारी बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए। उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन्।
आज सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन्।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन्।
त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन्।
माघ ११, २०८१ शुक्रबार ०८:१७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।