जन्मको आधारमा स्वत: नागरिकता नदिने ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

जन्मको आधारमा स्वत: नागरिकता नदिने ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

एजेन्सी : अमेरिकी अदालतले जन्मका आधारमा गैरअमेरिकी अभिभावकका सन्तानलाई स्वत: नागरिकता दिइने प्रावधान खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

अमेरिकाको सिएटलस्थित संघीय अदालतका न्यायाधीशले संविधान विपरीतको निर्णय भएको भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।

अदालतमा चारवटा अमेरिकी राज्यले जन्मका आधारमा स्वतः अमेरिकी नागरिकता दिने व्यवस्था खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउन माग गरेका थिए।

अमेरिकी कानून विभागका एक वकिलले ट्रम्पको आदेशको पक्षमा तर्क गर्दा न्यायाधीशले ‘के यो संवैधानिक हो?’ भनेर सोधेका थिए। यस मुद्दाको अर्को सुनुवाई ५ फेब्रुअरीमा हुनेछ।

ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा यी अवस्थामा अमेरिकी नागरिकता नदिने उल्लेख गरिएको छ।

-यदि अमेरिकामा जन्मेका बच्चाकी आमा अवैध रूपमा बस्दै आएको भए।

-यदि बुवा अमेरिकी नागरिक वा बच्चाको जन्मको समयमा वैध स्थायी बासिन्दा नभए।

-बच्चाको जन्मको समयमा आमा संयुक्त राज्य अमेरिकाको कानुनी तर अस्थायी निवासी भए।

-बच्चाको जन्मको समयमा बुवा अमेरिकी नागरिक वा कानूनी स्थायी बासिन्दा नभए।

ट्रम्पको यो कार्यकारी आदेश फेब्रुअरी १९ देखि लागू हुने निर्णयमा भनिएको थियो।

माघ ११, २०८१ शुक्रबार ०७:४३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।