यता न उताको भए वामदेव : एकीकृत समाजवादीलाई झुक्याए, एमालेबाट आफैं झुक्काइए

यता न उताको भए वामदेव : एकीकृत समाजवादीलाई झुक्याए, एमालेबाट आफैं झुक्काइए

काठमाडौं : राष्ट्रिय एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सांसद वामदेव गौतम एमालेमा जान हतारोमा थिए। लामो समय कम्युनिस्ट पार्टीको राजनीति गरेर कुनै न कुनै रूपमा शक्तिमै रहेका गौतम तत्कालीन नेकपा फुटेपछि शक्तिहीन थिए। त्यसपछिको चार वर्ष उनी यस्सै भौतारिए।

तर, शक्ति र सत्ताको खोजीमा भने कुनै असर बाँकी रहेनन्। 

एमाले र माओवादी केन्द्र अलग-अलग भएपछि एमाले उपाध्यक्षबाट राजीनामा दिएर गौतमले २०७८ भदौमा एकता राष्ट्रिय अभियानको घोषणा गरे। त्यसपछिको समय फुटेको नेकपालाई एकीकृत गर्ने भन्दै अभियानमै चलाए। 

अन्तत: उनी थाके। तर, नेकपा एकता सम्भव भएन। आफ्नो एकता अभियान सफल नभएपछि उनी अरू कुनै पार्टी प्रवेश गर्ने मुडमा देखिए। अनि वार्ता सुरू भयो, एकीकृत समाजवादीसँग। गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पटक-पटक छलफल गरे। वार्ता सकारात्मक भएको पनि भनेका थिए। 

माधव नेपालसँगको पछिल्लो भेटपछि गौतमले भनेका थिए, ‘टुंगिएको नभनौं, तर धेरै सकारात्मक कुरा भएको छ। समझदारी विकास गर्ने सहमति भएको छ। अब छिट्टै पार्टी एकता हुनेछ। धेरै समय कुर्नु पर्दैन अब।’ 

एकीकृत समाजवादीले पनि उनलाई तेस्रो वरियता दिन तयार थियो। एकीकृत समाजवादीसँग पार्टी एकता हुनुपर्ने र आफूसँग रहेका नेताहरूको व्यवस्थापन हुनुपर्ने अडान राखेका गौतमले एकाएक एमालेमा जाने इच्छा राखे। जबकि एकीकृत समाजवादीमा छलफल भइरहेकै थियो।  

तर, त्यही बीचमा उनले बोली फेरेर भने 'एकीकृत समाजवादी जाने फाइनल भएको छैन, एमालेसँग पनि वार्ता भइरहेको छ, जसले पहिला बोलायो उतै जान्छु।' यो अभिव्यक्ति राजनीतिक वृत्तमा निकै चर्चित बन्यो। 

नभन्दै, एमालेमा जाने गौतमको इच्छा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुग्यो। अनि शुक्रबार बालुवाटारमा ओली र गौतमबीच भेटवार्ता भयो। गत आइतबार पनि उनीहरूबीच टेलिफोनमा कुराकानी भएको थियो। दुवै संवादमा ओलीले पार्टीमा फर्कन आग्रह गरेपछि गौतम सकारात्मक देखिएका थिए।

तर, अड्चन बन्यो एमालेमा गौतमको हैसियत के बन्ने भन्नेबारे। गौतमको प्रधानमन्त्री ओलीसँग पनि पदीय हैसियतबारे मूर्त कुराकानी भएन। 

त्यसपछि एमालेको सचिवालय बैठक बस्यो। तर, सचिवालय बैठकले वामदेवलाई पार्टीमा भित्र्याएर दिने पद नै नभएको निष्कर्षसहित उनी नेतृत्वको अभियानसँग सहकार्य मात्रै गर्ने निर्णय गर्यो। 

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वामदेव गौतम एमालेमा आउने कुराकै विरोध गरे। वामदेवलाई ‘उपादेयताविहीन’ नेताको संज्ञा दिँदै आएका पोखरेलले उनलाई पार्टीमा भित्र्याउन नहुने बताएका थिए। किनभने गौतम एमालेमा फर्किंदा दोस्रो वरीयता चाहन्छन्। आफ्नो वरीयता ईश्वर पोखरेलले सहजै हस्तान्तरण गर्न चाहँदैन। अनि यो कुरा ओली स्वयं पनि चाहँदैनन्।

अन्तत: एमालेमा फर्किने गौतमको महत्वाकांक्षा अहिले अलमलमा परेको छ। 

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि अहिले सहकार्य गर्दै जाने मात्रै निर्णय भएको बताए।

सचिवालयको निर्णय प्रष्ट्याउँदै गौतमले भने, ‘हामीले सहकार्य गर्ने निर्णय गरेका छौं। भोलि नै भित्र्याउने भन्ने निर्णय गरेका छैनौं। सहकार्य गर्ने भनेको उहाँको संगठन कत्रो बनाउनुभएको छ, कति मान्छे छन्, त्यसको प्रभाव के छ त्यसको आधारमा एकता हुन्छ।’

उनले वामदेवलाई दिने जिम्मेवारीको विषयमा अहिले नै टुंगिने अवस्था नरहेको बताए।

‘अब विधान बदल्न मिल्दैन। विधान महाधिवेशन भदौमा गर्ने निर्णय भइसकेको छ। उता महाधिवेशन घोषणा गर्ने यता बदलेर पद सिर्जना गर्न मिल्दैन,’ उनले भने।  

माघ १०, २०८१ बिहीबार २१:५५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।