प्रदेश सांसदहरूको गुनासो 'महिला भएकै कारण विभेद हुन्छ'

प्रदेश सांसदहरूको गुनासो 'महिला भएकै कारण विभेद हुन्छ'

धनुषा : मधेश प्रदेश सभाका महिला प्रदेशसभा सदस्यहरूले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन्।

लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङ्गसम्बन्धी तीन दिवसीय कार्यशालाको समापन कार्यक्रममा बोल्दै आज महिला प्रदेशसभा सदस्यहरूले सदन बाहिर तथा सदनभित्र दुवै स्थानमा आफूहरूमाथि विभेद हुने गरेको दुखेसो गरे।

मधेश प्रदेश सभाका उपसभामुख बबिता राउत इसरले भनिन्, 'महिलाले राजनीतिमा अवसर पाउन सजिलो छैन। म लामो सङ्घर्षपश्चात् नै राजनीतिमा अवसर पाएको हुँ।'

उनले महिलाहरूको राजनीतिमा सङ्ख्यात्मक उपस्थिति बढे पनि त्यसलाई गुणात्मक उपस्थितिमा बदल्न सञ्चार जगतको साथ र सहयोग आवश्यक रहेको बताइन्।

कार्यक्रममा प्रदेशसभा सदस्य किरण साहले प्रदेशसभा सदस्य शाहिदा खातुनमाथी भएको आक्रमणको विषयमा मिलेर आवाज उठाउनुपर्ने बताइन्।

प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक जिवछी यादवले महिला प्रदेशसभा सदस्यलाई बजेट विनियोजन तथा निर्णय प्रकृयामा सहभागी गराउनुपर्ने र महिला राजनीतिकर्मीले उठाएका समस्यालाई गम्भिरतापूर्वक लिन आग्रह गरिन्। 

त्यसैगरी अर्का प्रदेशसभा सदस्य अनिताकुमारी साहले महिला प्रदेशसभा सदस्यको आवाज सरकारले नसुन्ने गरेको गुनासो गरिन्। 

कार्यक्रममा प्रदेशसभा सदस्य शाहिदा खातुनले आफूमाथि भएको आक्रमणको विषयमा जानकारी गराउँदै सरकारले न्यायकालागि कुनै पहल नगरेको बताइन्। 

माघ १०, २०८१ बिहीबार २१:२४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।