चुनावी र्यालीमा आफूलाई गोली लाग्नबाट बचाउने व्यक्तिलाई ट्रम्पले बनाए सेक्रेट सर्भिसका प्रमुख

चुनावी र्यालीमा आफूलाई गोली लाग्नबाट बचाउने व्यक्तिलाई ट्रम्पले बनाए सेक्रेट सर्भिसका प्रमुख

एजेन्सी : अमेरिकाको पेनिसल्भेनिया राज्यमा चुनावी र्यालीका क्रममा जुलाई महिनामा आफूमाथि गोली प्रहार गर्दा खटिएका सेक्रेट सर्भिसको टोलीको प्रमुखलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराष्ट्रपति लगायत अरू विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सो संस्थाको प्रमुख बनाएका छन्।

उक्त घटना लगत्तै ट्रम्पलाई घेरेर सुरक्षित रूपमा बाहिर निकाल्ने कमान्डोमध्ये सिन कुर्रान पनि एक थिए। उनै कुर्रानलाई राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्पले संस्थाको प्रमुख बनाए। 

आक्रमणकारीले हानेको गोलीबाट आफूलाई बचाउन आफ्नै ज्यान जोखिममा राखेर कुर्रानले आफ्नो निर्भक साहसलाई प्रमाणित गरेको ट्रम्पले एउटा विज्ञप्तिमा भनेका छन्। कुर्रानले अमेरिकाको सेक्रेट सर्भिसलाई पहिलाको भन्दा बलियो बनाउँछन् भन्नेमा आफ्नो पूरा पूरा विश्वास रहेको पनि ट्रम्पले भनेका छन्।

'कुर्रान महान देशभक्त हुन्। उनले मेरो परिवारलाई विगत केही वर्षदेखि सुरक्षा दिएका छन्। त्यसैले अमेरिकाको सेक्रेट सर्भिसका बहादुर महिला र पुरूषको नेतृत्व गर्नका लागि म उनलाई विश्वास गर्छु,' ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, 'आफ्नै ज्यान खतरामा पारेर आक्रमणकारीको गोलीबाट मेरो ज्यान जोगाउँदा उनले आफ्नो निडर साहस प्रमाणित गरिसकेका छन्।'  

त्यसबेला ट्रम्पमाथि गोली प्रहार हुँदा उनी ट्रम्पलाई छेक्न दौडेर गएका थिए।

पेन्सिलभेनिया राज्यका २० वर्षीय थोमस म्याथ्यु क्रुकले ट्रम्पमाथि गोली चलाएका थिए। ट्रम्पले चुनावी सभालाई सम्बोधन गरिरहेको स्थलबाट ४ सय फिट उत्तरतर्फ रहेको सानो भवनको छतबाट उनले गोली चलाएका थिए।

ट्रम्पको दायाँ कानलाई छोएर एक गोली लागेको थियो। क्रुकले आठ गोली प्रहार गरे पनि कुर्रान लगायतका सेक्रेट सर्भिस एजेन्टले त्यसपछि उनलाई छेकेर जोगाएका थिए। 

माघ १०, २०८१ बिहीबार २०:२९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।