प्रधानमन्त्रीको भन्दा बढी चर्चा कलाकारको हुन्छ, सरकारले सुविधा नदिँदा राम्रा कलाकार विदेशिए : खुमन अधिकारी
खुमन अधिकारी लोक संगीतका क्षेत्रमा रूचाइएका श्रष्टा हुन्। १० हजार बढी गीतमा स्वर दिइसकेको उनी अत्यन्तै व्यस्त गायकका रुपमा पनि परिचित छन्। देश, विदेश, मेला महोत्सव, रोधी घर आदी स्टेजहरुमा खुमनको माग बढ्दो छ। ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रूमाल चिनो लैजाउ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाइ दिउला भोटो’, ‘स्याङ्जालीलाई नभन जाली’, लगायतका चर्चित गीत दिएका अधिकारीसँग नेपाल न्यूज बैंकले लोक संगीतको पछिल्लो अवस्थाबारे कुराकानी गरेको छ।
तपाईं सांगीतिक क्षेत्रमा कसरी आउनुभयो?
बच्चा अवस्थामा वा जान्ने हुँदादेखि नै लोक गीत गुनगुनाउँथें। स्कुल पढ्दा विभिन्न कार्यक्रमहरुमा भाग लिन्थें। लोक गीतको प्रतिस्पर्धामा जहिले प्रथम हुन्थें। आक्कलझुक्कल कहिलेकाहीं दोस्रो नि हुन्थें। मेरो घर र समाज सबै लोकगीतमय नै थियो। मेरो आमाले असाध्यै राम्रो लोक गीत गाउनुहुन्छ। त्यही गुणले पनि लोक संगीतमा आएको हुँ। पढाइको शिलशिलामा काठमाडौंमा आएपछि सपना पुरा गर्दैछु।
सांगीतिक क्षेत्रमा प्रवेश गर्न कत्तिको सहज या असहज भयो, यहाँसम्म आइपुग्दा कस्तो महसुस गर्दै हुनुहुन्छ?
मेरा सपनाहरु अझै पूरा भए जस्तो लाग्दैन। किनभने मान्छे अघि बढ्दै जाँदा कहाँसम्म पुगिन्छ थाहा नै हुँदैन। चुलीमा पुग्न त अझैं बाँकी नै छ। भर्खर चार खुट्टाले हिँड्दैछु। कुनै पनि काममा सफलता मिल्नको लागि सहजै सहजता हुँदैन। धेरै अप्ठ्यारा चुनौतिहयुको सामना गर्नैपर्छ। गीत संगीतमा पनि संघर्ष त गर्नैपर्छ। यसमा पनि प्रतिस्पर्धा धेरै नै छ। खुट्टा तान्ने प्रवृत्ति पनि छ।
पहिले तपाईं संगीत क्षेत्रमा आउँदै गर्दाको अवस्था र अहिले आउनेहरूका लागि के कस्तो फरक पाउनु भएको छ?
मैले औपचारिक रुपमा २०६३ सालदेखि नै गीत गाउन थालेको हुँ। पछिल्लो समय आएका गायक गायिकाहरूले झ्याप्प आउने र पैसा खर्च गराएर गीत रेकर्ड गराइ नै हाल्छन्। त्यसैले अहिले गीत गाउन सजिलो छ। तर, त्यसबेला अहिलेको जस्तो सजिलो थिएन। पहिला जुन गायक गायिकाको गीत हिट भयो त्यहीँ मात्र खोजेर गाउन लगाउने चलन थियो। नयाँलाई खासै मौका दिने प्रचलन थिएन। त्यतिबेलाको माहोलमा धेरै भिडेर गीत रेकर्ड गराउनु पर्थ्यो। पहिला पहिला चलेका गायक गायिकाहरूले मात्र गीत गाए भने मात्र चल्छ नत्र चल्दैन भन्ने थियो। अहिले त राम्रो गीत जसले गाए नि चल्छ। प्रतिभा राम्रो हुनुपर्यो, स्वर राम्रो हुनुपर्यो, त्यसको मेलोडी, एरेन्जमेन्ट, म्युजिक भिडियो राम्रो हुनुपर्यो।
अहिले गीत गाउन सहज छ जस्तो लाग्छ। जब मैले गीत गाउँदै गएँ र गीतहरू चल्दै गए अनि मलाई खोज्न थालियो। एकै दिनमा १४ वटा गीत रेकर्ड गराएको मलाई याद छ। जुन समय अडियो विक्री हुन्थ्यो, त्यो समय क्यासेछ‘ए’ र ‘बी’ साइट भन्ने हुन्थ्यो। त्यसैले समय आकाश पातलको फरक भइसकेको छ। अहिले टेक्नोलोजीले परिवर्तन ल्याएको छ। अहिले सबैको हात हातमा मोबाइल, आफ्नो युट्युब च्यानल बनाइसकेका छन्। आफ्ना सबै कुराहरू युट्यूबमा पोस्ट हुन्छन्। पछिल्लो समयमा सहज प्रविधि आएकाले सजिलो भएको छ।
बाल्यकाल रहँदा कतै स्टेज कार्यक्रम वा गाउँघरका बिहे-बटुलोतिर गीत प्रस्तुत गरेको अनुभूतिहरु स्मृतिमा छन्?
स्याङ्जाको इलोङ्गा भन्ने ठाउँमा लोक गीत प्रतियोगिता थियो, त्यहाँ गीत गाउन हाम्रो समूह गएको थियो। त्यहाँ गीत गाउँदा जहिल्यै प्रथम भइरहने मान्छे हाम्रो समूह तेस्रो भयो। म नजिकै बसेर रिजल्ट सुनिरहेको थिएँ। म त्यो बेला किन प्रथम भइन भनेर धेरै दुखी भएँ। किन भएन, के कुरामा कमजोरी भयो भनेर म रोएको छु। त्यो क्षण सम्झन्छु। अहिल्यै अग्रपङ्क्तिमा सफलता मिलिरहँदा एक्कासि पछाडि पर्दा भावुक भइँदोरहेछ। त्यो पल अहिले पनि सम्झन्छु। पैसा नभएर धेरै तनाव व्यहोरेको छु। गीत गाएर अलि तल पर्दा त झन छाँगाबाट झरेको जस्तो हुन्थ्यो।
लोक संगीतले आफ्नो मर्म बिर्सेर उस्श्रृंखल हुन थाले, दोहोरीका नाममा विकृति बढ्यो भन्ने गुनासो छ नि?
गीत संगीतमा विकृतिको कुनै पनि मापदण्ड छैन। अहिले यतिसम्म चाहिं ठिक हो, यो भन्दा बढी भयो भने विकृति हो भन्ने मापन भएको छैन। साथीहरूले विभिन्न किसिमका गीतहरू गाइरहनुभएको छ। हाम्रो एउटा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान छ। त्यसको उपाध्यक्ष पनि छु। विकृतिजन्य प्रस्तुतिहरू आउँदा तिनलाई रोक्नका लागि विभिन्न किसिमका उपायहरू पनि अपनायौं। त्यस्ता खालका गीतहरू रेकर्डिङ स्टुडियोमा रोकेर हुन्छ या लाइभ दोहोरी स्टुडियोमा कडाइ गरेर अथवा म्युजिक भिडियोमा कुनमा कस्तो खालको विकृति आएको छ, त्यसमा अध्ययन गर्ने गर्छौं। कुनै शब्दमा अपाच्य खालको, कुनै सिधै दोहोरो अर्थ लाग्न खालका हुनसक्छन्। कस्तो खालको गीत रेकर्ड भएको छ त्यसमा बुझेर हामीले समाजमा अपाच्य खालका गीतहरू रोक्ने प्रयास त गरेका छौं। सबै गीतहरूलाई रोक्यौ त भन्न नसकिएला तर केही गीतहरू चाहिं रोकेका छौं। धेरै कलाकारहरू सजग पनि हुनुभएको छ।
दोहोरी संगीतको शैलीमा के-के परिवर्तन आएको छ?
पहिला भन्दा अहिले अझै सहज छ। पैसा हुनेलाई त झन अझै सहज छ। पछिल्लो समयमा प्रतिभा भन्दा पनि संगीत बजार अलि बढि पैसामुखी भएको हो कि भन्ने पनि लाग्छ। जसले धेरै खर्च गर्यो, बुस्ट हान्यो, म्युजिक भिडियोमा अत्यधिक खर्च गर्यो त्यो चलेजस्तो देखिन्छ। हुन पनि पैसा हुनेले त्यो गर्नु राम्रो होला तर राम्रो प्रतिभाहरू मरिरहेको छन्। ती प्रतिभाहरू पनि अगाडि आउनुपर्छ। त्यसैले पहिला र अहिलेमा फरक भनेको पूरै टेक्नोलोजीमा परिवर्तन आएको हो। अर्को कुरा संगीत क्षेत्रमा प्रवेश गर्ने आधार नै फरक भइदियो। पहिला बुझेर, एकदमै अध्ययन गरेर, सबैसँग सल्लाह लिएर कसरी कुन बाटोमा अगाडि जाने हो भनेर सोचेर अगाडि बढ्ने गरिन्थ्यो, अहिले अन्धाधुन्ध प्रवेश गरिन्छ। जे पर्छ पर्छ ठोकौं भन्ने हिसाबले झ्याम्म हामफाल्ने प्रवृत्ति छ।
मेला महोत्सवमा भाइरल प्रस्तुति बढी रुचाउने गरिन्छ। यसले सबै कलाकारलाई राम्रो गरेको छ या विभेद?
एउटा गीत जसोतसो गायो अनि राम्रो चलिदियो भने भाइरल भइहाल्यो, अर्को गीत चल्ने नचल्ने ठेगान हुँदैन। तर त्यस्तो कलाकारलाई खोज्ने चलन छ। उसले गएर स्टेजमा ड्याङ ड्याङ आधा घण्टा एक घण्टा गाउनु पर्यो भने त्यही एउटा गीत मात्र गाएर त पुग्दैन नि। अरू गीत पनि गाउनुपर्छ। मेला महोत्सवमा जाने सुरू र अन्तिममा आफ्नो गाउन बाँकी सबै अरूको गीत गाएर फर्किने गरेको पनि पाएको छु। आयोजक टिमले पनि कलाकार र कलाकारितालाई नबुझेको हो कि भन्ने मलाई लाग्छ। किनकी धेरै राम्रो र सदाबहार हिट गीतहरू गाउने कलाकारहरू मेला महोत्सवमा व्यस्त नभएर एउटा दुई वटा मात्रै गीत गाउनेलाई मात्र खोज्ने प्रचलन अलि बढि छ।
तपाईंका कति गीत आए बजारमा? आफ्ना कति आए र अरूका कति गाउनु भयो?
वास्तवमा आफ्नो गीत भनेर धेरै गरिँन। जब आफ्नो युट्युब च्यानल खोले, त्यसपछि सबैले आफ्नो आफ्नो गर्ने रहेछ भन्ने लाग्यो। म पनि गर्नुपर्यो भनेर कस्सिएँ। आफ्नो लगानीका गीत, आफ्नै च्यानलमा राख्न थालें। पहिला लगभग आठ नौ हजार गीत त अरूको नै गाइयो। दिनकै १३/१४ वटा गीत रेकर्ड गरियो। ०६३ देखि ७० सम्म त त्यसरी नै गाइरहेको थिएँ। त्यसपछि टेक्नोलोजीले परिवर्तन ल्यायो, युट्युबको मार्केट आयो। अनि रेकर्डिङ गर्ने, भिडियो बनाउने सिधै युट्युबमा राख्ने समय आयो। सबैले आफ्नो लगानी गर्दा, आफैं गाउन पनि थाल्नुभयो। अहिले कम भएको मात्र हो तर अझै पनि बुझेको मान्छेले खोजी रहनु भएको छ। मैले पनि निरन्तरता दिएको छु।
तपाईंका गीतहरूले कस्तो सन्देश प्रवाह गर्छन्?
म पश्चिमको मान्छे, पश्चिमेली लोकलयमा आधारित गीतहरू गाएको छु। पूर्वतिर चल्ने भाकाहरू गाएको छु। १०/१२ वटा काँठ क्षेत्रमा चल्ने भाका गएको छु। काठमाडौं उपत्यकामा चल्ने अलि फरक भाकामा आठ/नौ वटा गीत गाएको छु । त्यसपछि सांस्कृतिक गीतहरू गाएको छु, सालैजु, कौडा, भजन, रोइला, पञ्चेबाजा जस्ता सांस्कृतिक गीतहरू र सेलो पनि गाएको छु। पछिल्लो समय लोक गीतलाई पनि केन्द्रित गरेर फिल्मका गीतहरू बनाउन थालिएको छ। फिल्मका बढी चलेका हरेक गीतहरू लोकमा नै आधारित छन्। नयाँ दुई वटा फिल्ममा लोकमा नै आधारित गीतहरू गाएको छु।
हजारौं गीत गाउनुभयो, आफूलाई चाहिं सबैभन्दा बढि मन परेको कुनै गीत छ?
मलाई खुमन अधिकारी भनेर चिनाउने री भनेर चिनाउने ‘मनमा देउतैले नरोउ भन्ने हजारौं भेटियो, रुवायो एउटैले’ भन्ने गीत हो। यो २०६३ सालमा बजारमा आएको थियो। त्यसपछि ‘त्यो मन रुन्न होला र मलाई जस्तो तिमलाई नि भा थ्यो रे भेटै हुनन् होलार’ यो मलाई धेरै नै मन परेको भाका हो।
दोहोरी गीतले नेपाली समाजमा सांस्कृतिक पहिचान र संस्कारको संरक्षणमा कत्तिको भूमिका खेलिरहेको छ?
यसको संरक्षण गर्ने नै लोक गीतले हो। अन्य गीतहरूले पनि गर्यो होला गरेको छैन भन्दिनँ। तर, लोक गीत भनेको लोकको भाका हो नि त। लोक गीतले हाम्रो जनजनको कथा बोकेको हुन्छ। माटो बोकेको हुन्छ। विरहका भाकाहरू बोकेको हुन्छ र यथार्थ चित्रण गरेको हुन्छ। हाम्रो देशको कला, संस्कृति, संरक्षण गर्ने भनेकै लोक गीतले जस्तो लाग्छ।
दोहोरी गीतहरूले देशको पहिचान र संस्कृतिको संरक्षण गर्छ भन्नुभयो। सरकारी पक्षबाट चाहिं यसको संरक्षणमा कत्तिको ध्यान पुगेको छ जस्तो लाग्छ?
सरकारी पक्षबाट त हामी एकदमै पिछडिएका छौं। विकसित देशमा हेर्ने हो भने एउटा गायक गायिकाले गाएको गीत चल्यो भने उसको जीवन बन्छ। उसलाई जीवनभर घर-गाडी, गार्डसहितको सुविधा दिने व्यवस्था हुन्छ। छिमेकी देश भारतमा नै संगीतको कस्तो बजार छ, सरकारले त्यसलाई प्राथमिकतामा पनि राखेको छ। नेपालमा त्यही व्यवस्था नभएर त कतिपय कलाकारहरू विदेशिएका छन्। कति अग्रज र सबैको मनमा बसेका कलाकारहरू अमेरिका गएर बस्नु भएको छ।
सरकारी पक्षबाट उहाँहरूलाई सुविधा दिने र त्यही अनुसारको नीति नियम बनाई दिएको भए कलाकारहरू देश बाहिर जान पर्दैन थियो। कलाकारहरू गीत चलेसम्म ठिक नचलेपछि के गर्ने भनेर विकल्प खोज्न हिँड्नुहुन्छ। यसका पछाडि सरकारी तहबाट हामीलाई केही सुविधा छैन। कुनै राजनीतिक क्षेत्रलाई आधार बनाएर गरिएको कार्यक्रममा कुनै चर्चित कलाकारलाई बोलाइएको छ भने प्रधानमन्त्रीभन्दा पनि कलाकारको महत्व धेरै हुन्छ। त्यस्तो कुरा सरकारले नबुझ्दा धेरै पछाडि परेका छौं। नेपालमा कलाकार भन्दा पनि बढि आम जनताले पीडा भोग्नु परेको छ। यो पनि नेताहरूको राजनीतिकै कारणले हो।
राजनीतिक क्षेत्रमा यति धेरै समस्या छ। राम्रो गर्नेलाई अघि बढ्न दिइँदैन। नेपालको राजनीतिले गर्दा गर्दा जनता जहिले पछाडि नै परिरहेका छन्। हामी यस्तो देशमा छौं कि चाहेर केही पनि हुन सक्दैन। आफ्नो ठाउँबाट र आफ्नो लागि त गर्ने हो, गरिरहेका छौं। तर, अरूको लागि केही गरौं, बोलौं भन्ने हो भने माथिल्लो तहमा भएको मान्छेले जे पनि गर्न सक्छन्। हामी त्यही भएर चुप लागेर बस्नुपर्छ। कलाकार पनि यही अवस्थामा छौं। कलाकारिता क्षेत्र यस्तो फस्टाइरहेको छ, सबैको मनमा छ तर चर्चा पाएको कलाकारको यहाँ कुनै महत्व हुँदैन। उसले गाउन सक्दासम्म र क्षमता हुँदासम्म गाउँछ त्यसपछि अब के गर्ने होला भनेर बाटो खोज्नुपर्ने हुन्छ।
लोकसंगीतका लागि साधना, अध्ययन र अनुसन्धान कतिको जरुरत पर्ने रहेछ?
मान्छेहरू के चाहिं भ्रममा हुनुहुन्छ भने लोक गीत गाउनेहरूले सिक्नुपर्दैन, पढ्नु पर्दैन यिनीहरूले सिकेका हुँदैनन्, पढेका हुँदैनन् भन्ने कतिपयले भनिरहनु भएको हुन्छ। क्षमता हो भन्ने बुझ्न पर्छ। मैले सानैदेखि गाउँथे भने मलाई कसैले सिकाउनु पर्यो त? तर आधुनिक गाउनेले त सुनेर साधना नगरी त गाउन सक्दैन। लोक गीत गाउनेहरूले पनि सबैले अध्ययन गर्नुभएको छ। सबैले सिक्नुभएको छ, सबै पढेलेखेका हुनुहुन्छ। त्यसैले लोक गीतको बजार फस्टाइरहेको छ। सबैजना नाचिरहनुभएको छ। मेला महोत्सवहरू पनि लोक गीतमय बनेका छन्।
माघ १०, २०८१ बिहीबार १९:५२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।