फिल्म निर्माणमा प्रवेश गर्‍यो गोल्छा समूह, प्रिज्मासँग मिलेर 'परान' बनाउँदै

फिल्म निर्माणमा प्रवेश गर्‍यो गोल्छा समूह, प्रिज्मासँग मिलेर 'परान' बनाउँदै

काठमाडौं : बलिउड वा हलिउडतिर हेर्ने हो भने फिल्म क्षेत्रमा कर्पोरेट समूहहरू समेत उत्तिकै सक्रिय देखिन्छन्। तर नेपालमा दुर्लभ। चौधरी समूहले फिल्म बनाएको थियो। तर निरन्तरता दिएन। एउटै फिल्म बनाएर चुपचाप बस्यो।

अब गोल्छा समूह फिल्म निर्माणमा प्रवेश गरेको छ। नेपाली औद्योगिक धरानाहरुमा बलियो मानिने गोल्छा समूहले प्रिज्मा समूहसँग मिलेर बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा 'परान' नामक नयाँ फिल्म बनाउने घोषणा गरेको छ। यसको लगानी कति हुने हो त्यो भने खुलाइएको छैन।

'सक्किगोनी' टेलिशृंखलामा 'काकु' पात्रबाट परिचित दीपक आचार्यले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन्। फिल्ममा नीर शाह मुख्य भूमिकामा देखिने छन् भने मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी लगायतका कलाकारहरूले अभिनय गर्नेछन्।

गोल्छा समूहका प्रमुख तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष शेखर गोल्छाले सिनेमा निर्माणको मुख्य उद्देश्य नेपाली मौलिकता र संस्कृतिलाई संरक्षण गर्नु रहेको बताए। उनले व्यावसायिक क्षेत्रमा पारदर्शिता ल्याउने प्रयास गरेको पनि स्पष्ट पारेका छन्।

रञ्जित आचार्यले सन् २०१७ देखि यो परियोजनामा काम गर्दै आएको र नेपालीपन बोकेको फिल्म बनाउने योजना रहेको जानकारी दिएका छन्।

सिनेमाको छायाङ्कन काठमाडौं र धनकुटामा हुनेछ। शिवराम श्रेष्ठले छायाङ्कन गर्नेछन् भने सुप्रिम पराजुलीको रङ्ग संयोजन रहनेछ। फाल्गुनको पहिलो साताबाट सिनेमा फ्लोरमा जाने योजना रहेको छ।

माघ १०, २०८१ बिहीबार १८:२२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।